उपप्रधानमन्त्रीसमेत रहेका सहरी विकास मन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकामा आर्थिक वर्ष २०८१/०८२ देखि सडक बत्तीको महशुल ६०/४० ले भुक्तानी गर्ने गरी व्यवस्था मिलाउन मन्त्रालय सकारात्मक रहेको बताएका छन्।
मन्त्रालयमा बिहीबार उपत्यका मेयर्स फोरमहरुसँगको भेटमा उनले सडक बत्तीका लागि उपत्यकाका स्थानीय तहले ६० प्रतिशत र सरकारले ४० प्रतिशत तिर्ने गरी व्यवस्था गर्न मन्त्रायले आवश्यक सहयोग गर्ने प्रतिवद्धता जनाए।
‘सडक बत्तीको जुन कुरा गर्नुभयो। बिलिङको सिस्टम अन्क्लियर भयो भन्नुभयो। यो उर्जा मन्त्रालयसँग हामी छलफल गरेर तपाईंहरुको जुन माग छ, २०८१/०८२ देखि ६०/४० को शेयर गरेर गर्ने भन्ने कुरामा हामी यो मन्त्रालयबाट सकारात्मक भूमिका खेल्नेछौँ,’ सिंहले भने।
काठमाडौं उपत्यका मेयर फोरमले आफ्ना समस्याहरू खुलेर राखेको भन्दै व्यवधान र अवरोध भए खुलाउनका लागि मन्त्रालय तयार रहेको पनि उनले बताए।
सहरी विकास मन्त्रालयले नगरपालिकालाई मात्रै हेर्ने भन्ने नभएको भन्दै गाउँहरूमा सडकदेखि व्यवस्थापन गर्ने काम पनि मन्त्रालयको रहेको उनले बताए।
सडकको फोहोर व्यवस्थापनमा विशेष ध्यान दिने पनि उनले बताएका छन्।
(न्युज एजेन्सी नेपाल)