राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा (एमाले) बहुदलीय व्यवस्था समाप्त गरी दुई दलीय व्यवस्था स्थापना गर्न लागेको बताएका छन्।
पार्टीले काठमाडौंमा बिहीबार गरेको जिल्ला अध्यक्षहरूको भेलालाई सम्बोधन गर्दै उनले २००७ साल, २०४६ साल र २०६२/०६३ सालको आन्दोलनको नेतृत्व गरेको दाबी गर्ने दलहरू नै बहुदलीय व्यवस्था समाप्त पार्ने कुरा गर्दै हिँडेको बताए।
‘२००७ सालको आन्दोलनमा पनि हाम्रो भूमिका थियो। २०४६ साल पनि हामीले नै ल्याएको हो, २०६२/०६३ पनि हामीले नै गरेको हो भनेर डङ्का पिट्ने र हामीबिना आन्दोलन सफल हुने थिएन भन्ने कांग्रेस र कम्युनिष्ट पार्टीहरूले प्रजातन्त्र, बहुदलीय व्यवस्था र समावेशी समानुपातिक व्यवस्थामाथि उनीहरूले खुलेआम चुनौती दिन थालेका छन्,’ लिङ्देनले भने।
कांग्रेस र एमालेले बहुदलीय व्यवस्था अन्त्य गरेर दुई दलीय व्यवस्था स्थापनाका कुरा गर्ने गरेको पनि बताए। ‘अरू दल, नागरिक समाज सबैले खबदारी गर्दा त कांग्रेस र एमालेको यो प्रकरणको विकृति छ, यी दुई पार्टीमात्रै भएको देश कस्तो हुन्छ त?’ उनले प्रश्न गरे।
उनले अधिनायकवादी र सर्वसत्तावादी सोचविरूद्ध राप्रपा उभिने बताए। उनले राप्रपाको शक्ति बलियो बनाउनुपर्नेमा पनि जोड दिए।
यो पनि: राष्ट्रिय दल बन्ने थ्रेसहोल्ड दश प्रतिशत बनाउँछौं: शंकर पोखरेल