कोशीका पूर्वमुख्यमन्त्री केदार कार्कीको सचिवालयले प्रदेश सचिव लक्ष्मीप्रसाद भट्टराईले सेवाग्राहीबाट कमिसन लिएको संगीन आरोप लगाएको छ।
सामाजिक विकास मन्त्रालयका सचिव भट्टराईले पूर्वमुख्यमन्त्री कार्कीले आफूलाई कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिएका थिए।
लगत्तै उक्त विषयको प्रतिवाद गर्दै कार्कीको सचिवालयले सचिव भट्टराईले कमिसन मागेको र कार्की समेतको बद्नाम गरेको आरोप लगाउँदै पूर्वमुख्यमन्त्रीले सचिवलाई सचेत मात्र गराएको दाबी गरेको हो।
पूर्वमुख्यमन्त्री कार्कीको सचिवालयले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै सचिव भट्टराईले कार्कीविरूद्ध अनर्गल प्रचार गरेको र त्यही विषयमा सचेत गराएको दाबी गरेको छ।
कार्कीका स्वकीय सचिव दिवस राजवंशीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पूर्वमुख्यमन्त्री कार्कीज्यूको कार्यकालमा विराटनगरमा सम्पन्न विराट गोल्डकप र कोशी प्रदेशस्तरीय क्रिकेट प्रतियोगिता लगायतका खेलकुद गतिविधिको भुक्तानीका लागि बजेट रकमान्तर गराई मन्त्रिपरिषदको निर्णय गरी भुक्तानी दिने तयारी सचिव ज्यूले स्वयं गर्नुभएको अवगत गराउन चाहन्छु।’
उनले अगाडि भनेका छन्, ‘सचिवज्यूले रकम भुक्तानीको मन्त्रिपरिषद निर्णयका लागि टिप्पणी उठाएर अर्थ मन्त्रालयको सहमतिसमेत लिनुभयो। त्यसपछि सचिव भट्टराईले खेलकुद क्षेत्रका लागि रकमान्तर भएर आएको एक करोड ६६ लाख रकमबाट मुख्यमन्त्रीको नाममा समेत सेवाग्राहीबाट कमिसन मागेका थिए। तर कमिसन रकम हात नपरेपछि सचिव भट्टराईले मन्त्रिपरिषदमा प्रस्ताव लग्न छाडेर काठमाडौं जानुभएको र लामो समय विदामा बसेको अहिले खेलकुद गतिविधिमा संलग्नहरूले गुनासो गरिरहनुभएको अवगत गराउन चाहन्छु।’
स्वकीय सचिव राजवंशीले थपेका छन्, ‘सोही समयमा पूर्वमुख्यमन्त्री कार्की सरकारबाट हट्नुभयो। तर विराट गोल्ड कप, क्रिकेट आयोजक समिति लगायतलाई सचिव भट्टराईले पूर्वमुख्यमन्त्रीज्यूले माग्नुभएको कमिसन रकम नदिनुभएकोले बजेट निकास नभएको भन्दै बदनाम गराउने मन्सायले अनर्गल कुप्रचार गराइरहेको सूचना प्राप्त भएपछि पूर्वमुख्यमन्त्री कार्की ज्यूले २०८१ साउन ७ गते सोमबार सचिव भट्टराईलाई फोन गरेर सचेत गराएको स्पष्ट पार्न चाहन्छु।’
राजवंशीले इमानदारितापूर्वक कर्तव्यनिष्ठ भएर काम गर्ने सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूलाई हतोत्साहित हुने गरी सञ्चार माध्यममा आएको समाचारमा कुनै सत्यता नभएको दाबी गर्दै भनेका छन्, ‘राष्ट्रसेवक कर्मचारीको हकहितको लागि र निर्भयपूर्वक काम गर्ने वातावरण बनाइराख्न प्रतिबद्ध रहेको सबैमा जानकारीका लागि अनुरोध छ।’