कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले आफूलाई शौचालयमा थुन्ने र कुटपिट गर्ने धम्की दिएको भन्दै प्रदेश सरकारका सचिवले प्रशासन गुहारेका छन्।
सामाजिक विकास मन्त्रालयका सचिव लक्ष्मीप्रसाद भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङमा मंगलबार उजुरी दिँदै सुरक्षा मागेका छन्।
उनले कानुनी कारवाहीको मागसमेत गरेका छन्। सचिव भट्टराईका अनुसार पूर्वमुख्यमन्त्री कार्कीले सोमबार साँझ ४ बजेर ५३ मिनेटमा आफूलाई फोन गरेर कुटपिट गर्ने र शौचालयमा थुन्ने धम्की दिएका हुन्।
कुटपिट गर्ने धम्की आएपछि सचिव भट्टराईले जिल्ला प्रशासन कार्यालय मोरङ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएको उनले बताएका छन्।
विराट गोल्डकपका लागि मुख्यमन्त्री हुँदा घोषणा गरेको २५ लाख रकम सचिवले रोकेको भन्दै कार्की आफूमाथि खनिएको भट्टराईको भनाइ छ।
‘कुट्ने पिट्ने र शौचालयमा लगेर थुन्ने धम्की आयो, त्यसपछि मैले सुरक्षा माग गरेको हो, मलाई बेलुका ४ः५३ मा फोन आएको थियो, जिल्ला प्रशासन र मुख्यमन्त्री कार्यालयमा निवेदन दिएको छु,’ सचिव भट्टराईले भने, ‘पुरानो फाइललाई भुक्तानी दिन अर्थले सहमति दिएन, नदिएपछि त्यो रिस मलाई पोख्नु भएको होला उहाँले, अर्थ मन्त्रालयमा रोकिने कुरा त हामीलाई भन्नु भएन नि, कुरो बुझेर गर्नुपर्यो नि।’
पूर्वमुख्यमन्त्री कार्कीले भौतिक आक्रमण गर्ने धम्की दिएको भन्दै उजुरी प्राप्त भएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।
फुटबल प्रतियोगिता सम्पन्न भए पनि मन्त्रालयले रकम निकासा नदिएको भन्दै विराट गोल्ड कप ट्रष्टका पदाधिकारीहरूले पूर्व मुख्यमन्त्री कार्कीलाई सोमबार गुनासो गरेका थिए।