प्रदेश प्रमुखको बैठक पढेर सुदूरपश्चिम प्रदेश सभाको विशेष अधिवेशनको पहिलो बैठक सम्पन्न भएको छ।
बुधबार दिउँसो २ बजेर २५ मिनेटमा बसेको बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नाजिर मियाँले विशेष अधिवेशनका लागि आह्वान गरेको पत्र पढेर बैठक समापन गरेका हुन्।
पत्रमा प्रदेश प्रमुख मियाँले प्रदेश सभाका एक चौथाइभन्दा बढी सांसदले विशेष अधिवेशन माग गरेपछि बोलाउन पत्राचार गरेका थिए।
केन्द्रमा राजनीतिक समीकरण फेरिएपछि सुदूरपश्चिम सरकारबाट असार २० गते एमाले बाहिरिएको थियो।
एमाले बाहिरिएसँगै अल्पमतमा परेका मुख्यमन्त्री दीर्घ सोडारीले चालु आर्थिक वर्ष २०८१/८२ का लागि ल्याएको बजेट प्रदेश सभाबाट पारित गराउन नसकेपछि बजेट शून्यतामा गएको छ।
बजेट शून्यताको अवस्था आएपछि प्रदेश प्रमुख मियाँले बुधबार संसद्को विशेष अधिवेशन आह्वान गरेको जनाइएको छ।
अर्काे बैठक अर्काे सूचना जारी नभएसम्मका लागि स्थगित गरिएको छ।