गृहमन्त्री रमेश लेखकले प्रतिनिधि सभाको बैठकमा मनसुनमा भएका घटनाबारे संसदलाई जानकारी गराएका छन्।
मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको उनले जवाफ दिएका हुन्।
उनका अनुसार नेपालमा मनसुन सुरू भएको दिन जेठ २८ देखि हालसम्म १ हजार ५९२ घटना विपदका घटना भएका छन्। त्यसक्रममा १३० जनाको मृत्यु भएको र १४४ जना घाइते भएका छन्। ४८ जना बेपत्ता भएको र ५९४ पशुचौपाया मरेका छन्।
यसवर्षको बाढी पहिरोबाट २३१ घर र ८४ गोठमा क्षति पुगेको भन्दै ४३ वटा पुल र २ सरकारी भवन भत्किएको उनले जानकारी दिए।
४ हजार ४ परिवार विस्थापित हुने अवस्था आएको र जसमध्ये १ हजार ५९ परिवालाई सुरक्षित स्थानमा सारिएको छ।
प्राकृतिक विपदबाट देशका ७७ वटै जिल्ला प्रभावित भएको र विपद पछिको खोज तथा उद्धारका लागि नेपाल प्रहरीबाट ७ हजार १६९ र सशस्त्र प्रहरीका ३ हजार ९५६ जना खटिएका छन्। ती सुरक्षाकर्मीले ९८९ जनालाई उद्धार गरेको तथा उद्धारमा कतिपय स्थानमा नेपाली सेना समेत खटिएका छन्।
प्रभावितहरुलाई आश्यक राहत सामग्रीको प्रबन्ध गरेको तथा मृत्यु भएकामध्ये ४७ परिवारलाई राहत दिइसकेको र बाँकी प्रक्रियामा रहेको उनले जानकारी दिए।
उनले ४८ जना बेपत्ता भएकाहरूको पत्ता नलागेका परिवारलाई मृतक सरह नै राहत उपलब्ध गराउने निर्णय भएको जानकारी दिए। घटना भएको १० दिनसम्म पनि पत्ता नलागेकाहरूलाई मृतकसरह नै राहत उपलब्ध गराउने निर्णय भएको उनले बताए।
घाइते १४४ जना मध्ये ५ उपचाररत छन् भने बाँकी सबै उपचारपछि अस्पतालबाट डिस्चार्ज भएर घर गइसकेका छन्। ९ जना घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ।
असार २८ मा चितवनको सिमलतालमा बस दुर्घटनामा परी बेपत्ता भएका ६२ जना मध्ये हालसम्म २४ जनाको शव फेला परेको पनि गृहमन्त्री लेखकले जानकारी गराए।
‘१९ जनाको पहिचान भई आफन्तले शव बुझिलगेका छन् भने पाँच जनाको पहिचान हुनु सकेको छैन। बाँकी ४३ जनाको खोजी कार्यका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालले खोजी कार्य गरिरहेको छ। खोजी कार्यका लागि ३६८ सुरक्षाकर्मी अहोरात्र खटिएको अवस्था छ,’ उनले संसदमा भने।