सर्लाहीमा पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको घटनाको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को टोली खटिएको छ।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उठेका प्रश्नको जवाफ दिनेक्रममा गृहमन्त्री लेखकले यस घटनाबारे जानकारी गराएका छन्।
अनुसन्धानका लागि सिआइबीबाट प्राविधिक टोली खटाएको उनले बताए।
‘घटनाको थप अनुसन्धानका लागि मधेस प्रदेश प्रहरी कार्यालयबाट समेत प्रहरी टोली खटिएको छ। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) बाट सिनियर अफिसरको नेतृत्वमा प्राविधिक जनशक्तिसहितको टोली काठमाडौंबाट घटनास्थलतर्फ परिचालन भइसकेको छ,’ उनले भने।
सिआइबीबाट प्रहरी निरीक्षकको कमाण्डमा दुई जनाको प्राविधिक टोली अनुसन्धानमा सघाउनका लागि खटाइएको हो।
आइतबार राति चन्द्रनगर गाउँपालिका-१ स्थित रतनपुरमा रहेको फर्म हाउसमा उनको हत्या भएको हो। उनीमाथि उखु काट्ने धारिलो हतियार प्रयोग भएको प्रहरीले जनाएको छ। उक्त हतियार घटनास्थलबाट ५० मिटरको दुरीमा रहेको झाडीमा फेला परेको हो।
प्रहरीले हाल उनकै घरमा रहेका सहयोगीलाई नियन्त्रणमा लिएको छ। सहयोगी कविलासी नगरपालिका-३ स्थित मदनपुरका २१ वर्षीय रामउजैन राय यादव छन्।
उनले आइतबार राति तीन जना व्यक्तिहरू घरमा जग्गा विवाद मिलाइदिनुपर्यो भन्दै घरमा आएको देखेका थिए। उनीहरू आएपछि पूर्वमन्त्री रायले उनलाई सुत्न जानू भन्दै पठाएका थिए।
तर पछि उनी पिसाब फर्न निस्किँदा रायलाई मृत फेला पारेपछि घटनाबारे बाहिरिएको हो।