राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनिष झाले बंगलादेशमा सरकारी आरक्षण कोटाको विरोधमा भएको आन्दोलनमा नेपाली विद्यार्थीको अवस्थाबारे तत्काल संसदलाई जानकारी गराउन सरकारसँग माग गरेका छन्।
मंगलबार प्रतिनिधि सभा बैठकमा आकस्मिक समय लिएर बोल्दै उनले त्यहाँ हिंसात्मक आन्दोलन भएको र नेपालीहरू सुरक्षित अवस्थामा रहेपनि त्यसबारे सरकारले संसदलाई विस्तृत जानकारी गराउनुपर्ने बताए।
‘नेपालबाट त्यहाँ (बंगलादेश) अध्ययनका लागि गएका धेरै नेपाली विद्यार्थीहरू आपतकालिन अवस्थामा त्यहाँबाट फर्किए। धन्न अहिलेसम्म कुनै पनि नेपालीले ज्यान गुमाउनु परेन,’ उनले भने, ‘तर पनि त्यस्तो जटिल अवस्था, परिस्थिति कस्तो छ, त्यो सबै परिस्थितिको बारेमा आधिकारिक रुपमा परराष्ट्र मन्त्रालयले सदनमा आएर जानकारी गराउनुपर्ने हो। त्यो जानकारी अहिलेसम्म भएको छैन। तसर्थ त्यो जानकारी उपलब्ध गराईदिनका लागि सम्बन्धित मन्त्रालयलाई सभामुखमार्फत अनुरोध गर्न चाहन्छु।’
बंगलादेशमा भएको सो हिंसात्मक घटनापछि १२ सय भन्दा बढि नेपाली स्वादेश फर्किएको परराष्ट्र मन्त्रालयको दाबी छ।
-न्युज एजेन्सी नेपाल