नेपाली कांग्रेसका सचेतक सुशिला थिङले नवगठित मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला सहभागी नभएको भन्दै प्रश्न गरेकी छन्।
मंगलबार प्रतिनिधि सभाको बैठकमा उनले जुनसुकै मन्त्रिमण्डल बनेपनि ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाएको बताइन्।
यसरी महिलाको सहभागीलाई सरकारले न्यून बनाएको भन्दै प्रश्न गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहित प्रतिपक्षी दलका नेताहरूले टेबल ठोकेर समर्थन जनाएका थिए।
‘जुनसुकै मन्त्रिमण्डलमा ३३ प्रतिशत महिला मन्त्री बनेको कहिल्यै देख्न नपाउने भो। सायद पुरूषहरू नै प्रमुख पदमा भएर होला महिलाहरू मन्त्रीमा सिफारिसमा भएनन्,’ उनले भनिन्।
त्यस्तै उनले जति पढेको मानिस भएपनि मन्त्री बन्नलाई महिला योग्य नभएको भन्दै आफ्नै उदाहरण दिइन्।
‘मेरो उदाहरण प्रतिनिधि पात्रमात्रै हो। म कानुनमा स्नातक गरेकी छु, सामाजिक शास्त्र (सोसियोलोजी)मा स्नातकोत्तर गरेको छु। तर म कहिल्यै योग्य भइनँ,’ उनले भनिन्, ‘तर मैले समानुपातिक कोटाबाट त यो उपाधि पाएको थिएन। त्यसकारण हामी महिलाहरू कहिलेसम्म समानुपातिकको कोटामा दर्ज हुने हो। हामीलाई कहिलेसम्म समान बनाउने हो?’