बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता बहादुरसिंह तामाङले दाबी पेश गरेका छन्।
उनले नेकपा (एमाले), नेपाली कांग्रेससहितको समर्थनमा मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेले गत साउन ६ गते पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख यादवचन्द्र शर्माले संविधानको धारा १६८ (२) अनुसार नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
प्रदेश प्रमुख शर्माले सरकार गठनका लागि दिएको समयसीमा मंगलबार साँझ पाँच बजे सकिँदै थियो।
कांग्रेस–एमालेबीच मन्त्रालय बाँडफाँटमा सहमति जुटेसँगै उनीहरूले मुख्यमन्त्रीमा दाबी पेश गरेका हुन्।
नयाँ सरकारमा कांग्रेसले मुख्यमन्त्रीसहित ६ र एमालेले ६ वटा मन्त्रालय पाउने सहमति भएको छ।
बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको साथ चाहिन्छ। कांग्रेस र एमाले गरी यहाँ ६४ जना सांसद पुग्छन्।
बागमतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार बन्न लागेको हो।