बागमती प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दल नेता बहादुरसिं लामा (तामाङ) ले मंगलबार दाबी पेस गर्ने भएका छन्।
प्रदेश प्रमुख यादवचन्द्र शर्मासमक्ष मंगलबार दिउँसो दाबी पेस गर्ने तयारीमा लामा छन्।
नेकपा (एमाले) को समर्थनमा लामाले मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन्।
मुख्यमन्त्री शालिकराम जम्कट्टेलले राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले साउन ६ गते दुई दिनको समय दिएर नयाँ सरकार गठनका लागि आह्वान गरेका थिए।
मंगलबार अपराह्न ५ बजेभित्र नयाँ मुख्यमन्त्रीमा दाबी पेस गर्न प्रदेश प्रमुखले समय दिएकोमा उक्त समयभित्रै दाबी पेस गर्ने तयारीमा कांग्रेस र एमाले जुटेका छन्।
कांग्रेस संसदीय दल नेता लामाले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेको सेतोपाटीलाई जानकारी दिए।
कांग्रेस र एमाले बराबर हैसियतमा बागमती सरकारमा सामेल हुन लागेका छन्। कांग्रेसले मुख्यमन्त्रीसहित ६ वटा मन्त्रालय र एमालेले बाँकी ६ मन्त्रालय लिने सहमति छ।
कांग्रेस सांसद रामकृष्ण चित्रकारले कुन मन्त्रालय कुन दलले लिने भन्नेबारे लगभग सहमति भइसकेको जानकारी दिए।
कांग्रेसले आर्थिक मामिला मन्त्रालय पनि आफैसँग राख्न खोजेको छ।
नेकपा (एमाले) का सांसद जयराम थापाले अर्थ र भौतिक मन्त्रालयमा दुवै दलको दाबी रहेको र अन्य मन्त्रालयमा कुरा मिलिसकेको जानकारी दिए।
‘संघीय सरकारमा पनि प्रधानमन्त्रीले अर्थ मन्त्रालय आफ्नै दललाई राख्नु भएको छ, यहाँ पनि आर्थिक मामिला मन्त्रालय कांग्रेसले नै राख्न खोजेको छ तर हाम्रो पनि दाबी छ,’ उनले भने, ‘भौतिकमा पनि हाम्रो दाबी छ, दुवै दलबीच छलफल गरेर अघि बढ्छौं।’
बागमतीमा कांग्रेसका ३७ र एमालेका २७ जना सांसद छन्। ११० सदस्यीय प्रदेश सभामा बहुमतका लागि ५६ सांसदको साथ चाहिन्छ। कांग्रेस र एमाले गरी यहाँ ६४ जना सांसद पुग्छन्।
बागमतीमा पहिलो पटक कांग्रेस नेतृत्वमा सरकार बन्न लागेको हो।