राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले विगतका सरकारले जहाँ-जहाँ प्रश्न उठायो, त्यससँग जोडिएका मानिसलाई मन्त्री बनाएर पुरस्कृत गरिएको आरोप लगाएका छन्।
प्रतिनिधि सभामा प्रधानमन्त्री केपी शर्मा ओलीले राखेको विश्वासको मतसम्बन्धि प्रश्न प्रस्तावमाथि बोल्दै यस्तो बताएका हुन्।
‘सुशासनका सवालमा निर्मतापूर्वक अगाडि बढ्नुहुन्छ भन्ने विश्वास त थियो। तर मेरो विश्वास डगमगायो। जुन ढंगले सरकार बन्यो, जसरी विषय अगाडि बढ्यो। विश्वासको मत दिन पनि सकिन्थ्यो होला। तर संकेत जुन सुरूआतमा देखियो, त्यसले हामीलाई झस्काएको छ। सरकार सुरू हुनेबित्तिकै हामीले अनुसन्धान गरिरहेको विषय, कोही हाजिरी जमानीमा छुट्नुभएको मान्छे बालकोटमा गीत गाउँदै हुनुहुन्थ्यो। बाँसबारी छालाजुत्ता कारखानाको जग्गाको अनुसन्धान चलिरहँदारहँदै गीतको आवाज आयो बालकोटबाट,’ उनले भने।
उनले नक्कली भुटानी शरणार्थी, स्काउटको जग्गा भाडा प्रकरणसँग जोडिएका मानिसले पनि मन्त्री पुरस्कार पाएको बताए।
‘जहाँ–जहाँ हामीले विषय उठायौं, त्यहाँत्यहाँ पुरस्कार देखियो। नक्कली भुटानी शरणार्थीको विषयमा पुनः अनुसन्धान सुरू भयो, मन्त्रिपरिषद्मा को गयो देशलाई राम्रोसँग थाहा छ। हामीले बालमन्दिरको कुरा उठायो त्यहाँ पनि पुरस्कार। बालमन्दिरको जग्गाको कुरा उठिरहँदा मन्त्रिपरिषद्मा कस्ता मानिस जानुभयो, त्यसले पनि हामीलाई झस्काउने वातावरण सिर्जना गर्यो। स्काउटको विषय उठायौं, त्यहाँ पनि,’ उनले भने।
उनले नयाँ दलले ‘स्टन्ट’ गरे भनेको सुन्ने गरेको बताउँदै स्टन्टको पर्याय आँट, साहस, विधि, न्याय भएको बताए।
‘जति सक्नुहुन्छ स्टन्ट त्यति गरेर देखाउनुहोला,’ उनले भने।