नेकपा (एमाले) का सांसद योगेश भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई लक्षित गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले प्वाल पारिसकेको डुंगामा बसेर कता जाँदै हो भन्ने प्रश्न गरेका छन्।
प्रतिनिधि सभाको आइतबारको बैठकमा बोल्दै भट्टराईले अल्पमतमा परिसकेको प्रधानमन्त्रीले केका लागि असार २८ गते विश्वास मत लिने भन्ने प्रश्न पनि गरे।
‘म राष्ट्रिय स्वतन्त्र पार्टीलाई भन्न चाहन्छु, उहाँहरू उतै (सत्तापक्ष) मा बस्नुभएको छ। यो उहाँहरूको इच्छा हो, हामीलाई केही भन्नु छैन,’ भट्टराईले भने, ‘तर प्रधानमन्त्रीजीले प्वाल पारिसकेको डुंगामा बसिरहनु भएको छ भने तपाईंहरू कता जाँदै हुनुहुन्छ, सोच्नुहोला।’
प्रधानमन्त्री दाहाललाई प्रतिनिधि सभामा विश्वास मत घट्दो क्रममा रहेको पनि भट्टराईले बताए। भट्टराईले प्रधानमन्त्री दाहाललाई राजीनामा दिन पनि आग्रह गरेका छन्।
एमाले र जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएर प्रतिपक्षमा बसेका छन्।
गत असार १७ गते नेपाली कांग्रेस र एमालेबीच राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे सहमति भएको थियो।