मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमा सिंहले जनमत र नेकपा एमाले बाहेक सबै दलका मन्त्रीलाई बर्खास्त गरेका छन्।
नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीका ६ जना मन्त्रीलाई मुख्यमन्त्री सिंहले बर्खास्त गरेका हुन्।
संघीय सरकारमा गठबन्धन फेरिएपछि नेपाली कांग्रेस र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) लाई सरकारमा सहभागी गराउन उनले ती मन्त्रीहरुलाई बर्खास्त गरेका हुन्।
बर्खास्त गरिएका मन्त्रीहरुलाई आज बिहानै मुख्यमन्त्री सिंहले राजीनामा दिएर मार्गप्रस्त गर्न आग्रह गरेका थिए। तर उनीहरुले राजीनामा दिन नमानेपछि बर्खास्त गरिएको मुख्यमन्त्रीको सचिवायले जनाएको छ।
नेकपा माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह अर्थ, युवराज भट्टराई उद्योग वाणिज्य तथा पर्यटन मन्त्री थिए।
एकीकृत समाजवादी बाट संसदीय दलका नेता गोविन्द बहादुर न्यौपाने भूमि व्यवस्था कृषि तथा सहकारी र बेची लुंगेली उर्जा सिंचाई तथा खानेपानी मन्त्री थिए।
एक/एक जना मात्रै सांसद रहेको नागरिक उन्मुक्ती पार्टीकी उर्मिला चौधरी श्रम तथा यातायात र संघीय समाजवादीकी विमला अन्सारी गृह, सञ्चार तथा कानुनमन्त्री थिइन्।
आफूहरुले मिहिनेत गरेर यो गठबन्धनको सरकार बनाएको र गठबन्धनबाट नबाहिरिएकाले राजीनामा दिएको मुख्यमन्त्रीलाई जवाफ दिएको उद्योग वाणिज्यमन्त्री भट्टराईले बताए।
‘मुख्यमन्त्रीलाई हामीले यो सरकार बनाएको हो। हामीलाई सरकारप्रति अपनत्व छ। हामी राजीनामा दिन्नौं, बरु हामीलाई हटाएर तपाईं अर्को गठबन्धन गर्नुहुन्छ भन्ने गर्नुस् भनेका छौं,’ उनले भने।
कांग्रेस र लोसपालाई आजै प्रदेश सरकारमा सहभागी गराउने तयारी छ। विश्वासको मतलिनुअघि नै दुबै दललाई सरकारमा सहभागी गराउने तयारी भएपनि आज समयले भ्याउने सम्भवाना कम रहेको जनमत संसदीय दलका नेता महेश प्रसाद यादवले बताए।
मुख्यमन्त्री सिंहले प्रदेशसभामा आज मत लिने कार्यसूची छ।
‘प्रदेशसभा बैठक पनि सुरु हुने बेला भइसक्यो। कांग्रेस र लोसपालाई सरकारमा ल्याउन आज भ्याउँछ कि भ्याउँदैन भन्न सकिन्नं,’ उनले भने।
सरकारमा सहभागी हुने र कसलाई मन्त्रीमण्डलमा पठाउने विषयमा अहिले कांग्रेस संसदीय दलको बैठक बसिरहेको छ।