प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले सत्तारूढ दलका शीर्ष नेताहरूसँग शुक्रबार छलफल गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा शुक्रबार अपराह्न प्रधानमन्त्री दाहालले सत्ताघटक दलका शीर्ष नेताहरूसँग सामूहिक छलफल गरेका हुन्।
नेकपा (एमाले) र जनता समाजवादी पार्टीले दाहाल नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिँदै मन्त्रीहरूले पनि राजीनामा दिइसकेका छन्।
प्रधानमन्त्री दाहाल अल्पमतमा परेका छन्। तर प्रधानमन्त्री दाहालले यही असार २८ गते संसदमा विश्वास मतको प्रस्ताव राख्ने जानकारी संघीय संसद सचिवालयका महासचिवलाई दिइसकेका छन्।
बदलिँदो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्री दाहालले शुक्रबार सत्ताघटक दलका शीर्ष नेताहरूसँग छलफल गरेका हुन्।
छलफलमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल र सम्मानित नेता झलनाथ खनाल, जनमत पार्टीका अध्यक्ष सिके राउतलगायत सहभागी थिए।
छलफलपछि गृहमन्त्री लामिछानेले प्रधानमन्त्रीलाई विश्वास मतबारे पार्टीभित्र छलफल गरिने प्रतिक्रिया दिएका छन्। प्रधानमन्त्रीलाई विश्वास मत दिने वा नदिनेबारे पत्रकारले सोधेको प्रश्नमा जबाफ दिएका लामिछानेले यसबारे पार्टीका नेताहरूसँग छलफल गरेपछि निष्कर्षमा पुगिने बताए।
रास्वपाका मन्त्रीहरू राजीनामा दिन भन्दै बिहीबार बालुवाटार पुगेर त्यसै फर्केका थिए। प्रधानमन्त्री दाहालले आफूले संसद फेस गर्ने र त्यो बेलासम्म साथ दिन आग्रह गरेपछि रास्वपाका मन्त्रीहरू राजीनामा नदिई फर्केका थिए।
प्रधानमन्त्री दाहालसँग छलफल गरेपछि एकीकृत समाजवादीका अध्यक्ष नेपालले प्रधानमन्त्रीलाई विश्वास मत दिने बताए।
‘बैठकमा कसरी अघि बढ्ने भन्नेबारे छलफल भयो, हामी माओवादीसँग सहकार्य गरेर जान्छौं। नयाँ समीकरणमा जाँदैनौं, किनभने त्यो षड्यन्त्रमुलक ढंगले आएको छ,’ अध्यक्ष नेपालले भने, ‘हामी यो सरकारले विश्वास मत लिँदा त्यसलाई साथ दिन्छौं।’
यसबीचमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग पनि आफ्नो कुराकानी भएको अध्यक्ष नेपालको भनाइ छ। सभापति देउवाले एमालेसँग मिलेर सरकार बनाउने सहमति भएको बताएको अध्यक्ष नेपाल बताउँछन्।
एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भने आफ्नो कुराकानी नभएको अध्यक्ष नेपालले बताए।
गत असार १७ गते कांग्रेस र एमालेबीच नयाँ समीकरणबाट सरकार बनाउने र संविधान संशोधनलगायत अघि बढाउनेलगायत सहमति भएको थियो।
उक्त सहमति खुसुक्क गरिएको टिप्पणी अध्यक्ष नेपालको छ।