कर्णाली प्रदेशको आ.व. २०८१-८२ को बजेट पारित भएको छ।
शुक्रबारको प्रदेश सभा बैठकबाट कर्णाली प्रदेश विनियोजन विधेयक २०८१ र कर्णाली प्रदेश आर्थिक विधेयक २०८१ बहुमतले पारित भएको हो।
कर्णाली सरकारले ३१ अर्ब ४१ करोड ४१ हजार रुपैयाँ बजेट प्रस्तुत गरेको थियो। जसमध्ये चालुतर्फ ७ अर्ब ५७ करोड ५५ लाख ९२ हजार अर्थात २४.१२ प्रतिशत रहेको छ।
पुँजीगततर्फ १८ अर्ब ७५ करोड ८ लाख ६८ हजार अर्थात ५९.७ प्रतिशत रहेको छ।
यस्तै वित्तीय व्यवस्थापनतर्फ ०.८ प्रतिशत अर्थात २५ करोड रुपैयाँ विनियोजन गरिएको छ। ४ अर्ब ८३ करोड ३५ लाख ५१ हजार स्थानीय तहमा वित्तीय हस्तान्तरण गरिएको छ।
कर्णाली प्रदेश सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष ०८१/८२ को कुल बजेटमध्ये आन्तरिक राजस्वतर्फको ८३ करोड ४४ लाख ६५ हजार रुपैयाँ छ। चालु आर्थिक वर्षमा खर्च नभएको ५ अर्ब १३ करोड ८१ लाख २६ हजार रुपैयाँ पनि समावेश गरिएको छ।
कर्णाली सरकारको कुल बजेटमध्ये संघीय सरकारबाट राजस्व बाँडफाँट बापतको रकम ९ अर्ब ३८ करोड ५३ लाख प्राप्त भएको छ।
वित्तीय समानीकरण अनुदानतर्फ १० अर्ब ३६ करोड ६३ लाख प्राप्त भएको छ भने सशर्त अनुदानतर्फ ३ अर्ब ७१ करोड ५० लाख रुपैयाँ प्राप्त भएको छ। यस्तै संघीय सरकारबाट समपुरक अनुदानतर्फ १ अर्ब २८ करोड ५० लाख र विशेष अनुदानतर्फ ६७ करोड ६५ लाख रुपैयाँ प्राप्त भएको छ।