मधेस प्रदेश सरकारले ल्याएको बजेटमाथि छलफल सुरू नहुँदै प्रदेश सभा बैठक स्थगित भएको छ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) र जनता समाजवादी पार्टी (जसपा) को मागअनुसार सभामुख रामचन्द्र मण्डलले १० मिनेटका लागि बैठक स्थगित गरेका हुन्।
शुक्रबारको प्रदेश सभा बैठकमा अगामी आर्थिक वर्षको बजेटमाथि छलफल गर्ने कार्यसूची तोकिएको छ।
बिहान ११ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो सुरू भएको थियो। तर बैठक सुरू हुनसाथ लोसपा सचेतक रानी शर्मा तिवारीले गत असार १६ गते मुख्यमन्त्री सतिश सिंहलाई चार दलले बुझाएको ध्यानाकर्षण पत्रको माग सम्बोधन नगरी बैठक बस्न नहुने बताइन्।
‘सरकारले हामीलाई रेडबुक संसोधन गरेर ल्याउँछौ भनेको थियो तर अझै पनि भएको छैन। त्यसो हुनुअघि बैठक संचालन उपयुक्त हुँदैन। संसोधनका लागि पहिले बसौँ, निष्कर्ष निकालौँ। त्यसपछि बैठक बसौँ,’ उनले भनिन्।
लोसपा, जसपा, नेपाली कांग्रेस र राप्रपाले चार दिनअघि मुख्यमन्त्री सिंहलाई बजेटमा भएको त्रुटि सच्चयाउने विषयमा ज्ञापनपत्र बुझाएका थिए।
बजेट ह्याक भएकोबारे सत्यतथ्य पत्ता लगाउन संसदीय छानबिन समिति गठन हुनुपर्ने, बजेट पुर्वलेखन गरेर प्रदेश सभामा छलफल हुनुपर्ने, सबै संसदीय क्षेत्रमा सन्तुलित बजेट कायम हुनुपर्ने सहितका तीन माग राखेर चार दलले ज्ञापनपत्र बुझाएका थिए।
‘आर्थिक वर्ष ०८१-०८२ को प्रदेश सभामा पेश भएको बजेट सन्दर्भमा मिति २०८१ साल असार १३ गते मुख्यमन्त्रीज्यूको कार्यकक्षमा बसेको सर्वदलीय बैठकमा मुख्यमन्त्री र अर्थ मन्त्रीबाट प्राप्त भएको जानकारीअनुसार पिएलएमबिआइएस ह्याकरबाट ह्याक गरी कार्यक्रम तथा बजेट रकम प्रविष्ट गरिएको एवं बजेट त्रुटिपूर्ण भएको स्वंयम मुख्यमन्त्री र मन्त्रीहरूबाट स्वीकार गरिएको सन्दर्भमा यी मागहरू छन,’ ज्ञापन पत्रमा उल्लेख छ।