पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एसइईको पूरक परीक्षा दिने विद्यार्थीहरूलाई नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्ने बताएका छन्।
शिक्षकहरू गुणस्तरका नहुँदा धेरै विद्यार्थीहरू एसइई परीक्षामा फेल भएको उल्लेख गर्दै ओलीले विज्ञ शिक्षकहरूबाट मुख्य मुख्य विषयहरूको नि:शुल्क अनलाइन कक्षा सञ्चालन गरिने बताए।
नेकपा एमालेको भ्रातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन रूपन्देहीले आयोजना गरेको विद्यार्थी सम्मान कार्यक्रममा बोल्दै ओलीले अबको केही दिनभित्रै विषय विज्ञ शिक्षकहरूबाट मुख्य विषयहरूको अनलाइन कक्षा सञ्चालन गर्ने बताए।
‘मुख्यगरी अंग्रेजी, गणित, विज्ञान र सामाजिक विषयमा धेरै विद्यार्थीहरू एसइई परीक्षामा अनुत्तीर्ण हुनुभएको छ, अहिले अनुत्तीर्ण भए पनि पूरक परीक्षामा पास बनाउने गरी हामीले नि:शुल्क अनलाइन कक्षा सञ्चालन गर्दैछौं, त्यसमा जोडिन सबै विद्यार्थीहरूलाई मेरो आग्रह छ,’ ओलीले भने।
उनले फेल भएका विद्यार्थीहरूलाई मौका परीक्षामा राम्रो तयारी गरेर सहभागी हुन आग्रह गरे।
‘अझै पनि केही बिग्रिएको छैन। मौका परीक्षा आउन एक महिना समय बाँकी छ, यो समयमा राम्रो तयारी गरेर पास हुने गरी परीक्षा दिनुभयो भने अहिले पास भएका विद्यार्थीसँगै पढ्न पाउनुहुनेछ, त्यसको लागि तयारी राम्रो गर्नुपर्यो,’ उनले भने।
२०८० चैत १५ गतेदेखि संचालन भएको एसइई परीक्षामा ननग्रेडमा परेका र अनुपस्थित भएका सबै परीक्षार्थीहरूका लागि राष्ट्रिय परीक्षा बोर्डले साउन २३ गतेदेखि २९ गतेसम्म पूरक परीक्षा तोकेको छ। सोही परीक्षालाई लक्षित गरेर फेसबुक पेज र अनलाइनमार्फत् नि:शुल्क कक्षा संचालन गर्न लागिएको ओलीले बताए।
उनले शिक्षकहरूमा आफूभित्र भएको ज्ञान समेत प्रदान गर्ने सीप नहुँदा धेरै विद्यार्थीहरू फेल भएको बताए।
‘अब शिक्षकहरूमा भएको ज्ञानलाई विद्यार्थीले बुझ्ने गरी प्रदान गर्ने सीप बढाउनुपर्छ,’ ओलीले भने।
सम्बोधनको क्रममा कुनै पनि राजनीतिक अभिव्यक्ति नदिएका ओलीले नेपाल सधैं स्वतन्त्र र स्वाभिमानी रहेकोले कुनै पनि मुलुकका सामु कहिल्यै झुक्न नपरेको बताए।
अनेरास्ववियूले एसइई परीक्षामा जिपिए ४ ल्याएर उत्तीर्ण भएका रूपन्देहीको सैनामैना नगरपालिका वडा नं. ६ स्थित रामपुर माध्यमिक विद्यालयका विद्यार्थी कृत्रिम भट्टराई र बुटवलको न्यू होराइजन बोर्डिङ स्कुलका प्रवेश खनालसँगै रूपन्देहीका सामुदायिक विद्यालयबाट ए प्लस ल्याएर उत्तीर्ण भएका एक हजार २२८ जना विद्यार्थीलाई सम्मान गरेको हो।