मधेस प्रदेश सरकारले ल्याएको बजेट माथि छलफल सुरू भएको छ।
बजेट आएको झण्डै तीन सातापछि प्रदेश सभामा छलफल सुरू हुन लागेको हो।
प्रदेश सभा सचिवालयले एक सूचना जारी गर्दै पूर्व निर्धारित कार्यसूची बमोजिम शुक्रबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट वक्तव्यमा छलफल हुने जनाएको छ।
शनिबार बिहान ११ बजे बस्ने प्रदेश सभाको बैठकमा मुख्यमन्त्री सतिशकुमार सिंहले नेपालको संविधानको धारा १६८ को उपधारा ९४० बमोजिम विश्वासको मत लिने प्रदेश सभा सचिवालयले जनाएको छ।
मधेस प्रदेशका तत्कालीन मुख्यमन्त्री सरोजकुमार यादवले प्रदेश सभाबाट बहुमत प्राप्त गर्न नसकेपछि जनमत पार्टीका सांसद सिंह ५५ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए। उनलाई प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले गत जेठ २५ गते मुख्यमन्त्रीमा नियुक्त गरेकी थिइन्।
सिंहलाई नेकपा एमाले, माओवादी केन्द्र, जनमत पार्टी, नेकपा एकीकृत समाजवादी, नागरिक उन्मुक्ति र नेपाल संघीय समाजवादी पार्टीका गरी ५५ जना प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। तर, अहिले उनले विश्वासको मत लिनु अघिनै गठबन्धन दल फेरिएकाले विश्वासको मत पाउनेमा शंका उत्पन्न भएको छ।
हालसम्म नयाँ गठबन्धनमा नेपाली कांग्रेस र नेकपा एमाले मात्र रहेका छन्। अन्य प्रदेशमा यी दुई दलसँग स्पष्ट बहुमत रहेपनि मधेस प्रदेशमा सरकार बनाउन आवश्यक सांसद छैनन्।