राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा तीन कुरा उठेका छन्।
बुधबार पार्टी कार्यालय चःमतिमा बसेको केन्द्रीय समिति बैठकमा केन्द्रीय समितिहरूले तीन वटा कुरा उठाएको रास्वपाका सहप्रवक्ता मनिषा झाले जानकारी दिए।
उनका अनुसार एक जना केन्द्रीय सदस्य बाहेक सबैले महामन्त्रीको प्रतिवेदन ठिकै रहेको बताएका छन्।
'केन्द्रीय सदस्यहरूले महामन्त्रीको प्रतिवेदन ठिकै भए पनि व्यवहार गलत र गैरजिम्मेदार रहेको हुँदा कारबाही गर्नुपर्छ भन्ने मत राखेका छन्,' उनले भने, 'पार्टी सभापतिले यसरी कारबाही गर्न नहुने र गर्नै परे यसको लागि निश्चित विधि र प्रक्रिया भएको हुँदा सोअनुसार हुनुपर्ने भन्ने तर्क राख्नुभएको छ।'
बैठकमा समीक्षा प्रतिवेदन र महामन्त्रीको व्यवहारबारे उपसभापति र सभापतिले मत राख्न बाँकी रहेको उनले बताए।
यस्तै, पार्टी सभापति समेत रहेका गृहमन्त्री एवं उपप्रधानमन्त्री रवि लामिछानेले महामन्त्री मुकुल ढकालको मागअनुसार लाइभ गर्ने कि नगर्ने भन्नेबारे १५/१६ जनाको धारणा लिएको सचिवालयले जनाएको छ।
'धारणा दिनु हुने प्रायःसबैले पार्टीको बैठक सञ्चालन कार्यविधि विपरीत आन्तरिक छलफलको विषय पार्टी रणनीति र कूटनीतिक पनि हुने भएकोले सार्वजनिक गर्न नहुने भन्दै लाइभ गर्न नहुनेमा जोड दिनुभयो,' सचिवालयले भन्यो, 'त्यसपछि सभापति लामिछानेले लाइभ गर्ने महामन्त्रीको प्रस्ताव पेस गर्दा सबैले लाइभ गर्न नहुनेमा मत दिनुभयो।'
त्यसपछि बैठक लाइभ नहुने निर्णय सभापति लामिछानेले सुनाएको सचिवालयले जनाएको छ।