नेपाली कांग्रेसले नेकपा (एमाले) सँग भएको सहमतिलाई पार्टीको केन्द्रीय कार्यसम्पादन समिति बैठकबाट अनुमोदन गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको सहमतिलाई बुधबार बिहान बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समिति बैठकले अनुमोदन गरेको हो।
यो पनि: प्रधानमन्त्री प्रचण्डलाई मार्गप्रशस्त गर्न कांग्रेसको आग्रह
तत्काल केन्द्रीय कार्यसमिति बैठक बस्न नसकेका बेला विधानअनुसार कार्यसम्पादन समितिबाट कांग्रेसले निर्णय गर्ने गर्छ।
सुशासन, स्थायित्व, आर्थिक समृद्धिका लागि एमालेसँग सहकार्य गर्ने समझदारी बनेको र त्यसैलाई अनुमोदन गरिएको प्रवक्ता प्रकाशशरण महतले बताए। महतका अनुसार यो मुद्दामा सहमत भएका अन्य दलहरूलाई पनि संवादमा ल्याइनेछ।
‘सरकारको नेतृत्व सुरूमा एमाले अध्यक्ष ओली र चुनाव गराउने गरी सभापति देउवा प्रधानमन्त्री बन्ने समझदारी बनेको छ,’ उनले भने, ‘राष्ट्रिय सहमति नै बनाउने कोसिस भइरहेको छ।’
सभापति देउवा र एमाले अध्यक्ष ओलीबीच सरकार गठन र संविधान संशोधन गर्नेजस्ता सात बुँदे सहमति पत्रमा हस्ताक्षर भएको भनिए पनि ती बुँदाहरू सार्वजनिक भइसकेका छैनन्।