मास्टर-सेफ सन्तोष साहले ललितपुरको झम्सिखेलमा 'मिथिला थाली' सञ्चालनमा ल्याएका छन्।
काठमाडौं उपत्यकाबासीलाई मिथिला परिकारको स्वाद चखाउन सन्तोषले यो रेस्टुरेन्ट खोलेका हुन्। यसको औपचारिक उद्घाटन आउँदो आइतबार हुँदैछ।
एक वर्षअघि सन्तोषले जनकपुरमा मिथिला थाली खोलेका थिए।
'स्वदेशी र विदेशी दुबै ग्राहकले मिथिला परिकार रूचाए,' सन्तोषले भने, 'त्यसैले अब काठमाडौं उपत्यका बस्नेहरूलाई मिथिला थाली चखाउन आएका छौं।'
यो रेस्टुरेन्टको सजावटमा मिथिला संस्कृति भरपुर छ। भित्ताहरू मिथिला चित्रकलाले भरिएका छन्। परिकार पस्किएर दिने ट्रेमा पनि मिथिला कला देख्न सकिन्छ।
यहाँ जानेबित्तिकै जनकपुरे मसला राखिएको मोही र दहीपुरी खान पाइन्छ। यसपछि मेनुमा भएको परिकार अर्डर गर्न सकिन्छ।
यहाँको मुख्य आकर्षण मिथिला थाली हो जुन भेज, चिकेन, फिस र मटनमा पाइन्छ। यो थालीमा आलु चोखा, कडिबडी, तिलौरी, बिरिया, भात, रोटी, मौसमी तरकारी, दाल, मिठाइ, मासु, माछा लगायत गरी १७ थरी परिकार हुन्छ। मुख्य परिकार सालको पातमा राखेर दिइन्छ। यसबाहेक आँप, मूला, खुर्सानी र लसुनको अचार पनि छ।
'मेनुमा सेफ सन्तोष डेली-डाइट पनि छ। यो धेरैको रोजाइमा परेको छ,' ३८ वर्षीय सन्तोषले हाँस्दै भने, 'डेली-डाइट थालीमा तीन प्रकारको मांसाहारी तरकारी र अरू परिकार हुन्छन्।'
मिठाइ र स्न्याक्समा घ्यु जुलबी, लालमोहन, रसमलाइ, लस्सी, जनकपुरे तरूवा, तिलौरी, मिथिला तावा माछा पाइन्छ। परिकार थप्दै जाने उनको योजना छ।
'यी सबै हाम्रा रैथाने परिकार हुन्, पाहुना आउँदा खुवाउने खानेकुरा हुन्,' सन्तोषले भने, 'पहिले घरमा मात्र खुवाइन्थ्यो, अहिले रेस्टुरेन्टमार्फत पस्किरहेका छौं।'
मिथिला थाली रेस्टुरेन्टमा बिरिया, तिलौरी, अचार लगायत परिकार किन्न पनि पाइन्छ।
सन्तोष सिरहाको कर्जन्हा नगरपालिका–९ सूर्यानी टोलमा जन्मेका हुन्। एसएलसीमा अनुत्तीर्ण भएपछि पैसा कमाउन भारत गएका थिए। होटलमा भाँडा माझ्ने, तरकारी काट्ने लगायत काम गरेर सिक्दै उनी बेलायत पुगे। समय बित्दै जाँदा उनी लन्डनमा सेफका रूपमा काम गर्न थाले।
बिबिसीको मास्टरसेफ प्रतियोगितामा सन्तोष मिथिला थालीबाटै उपविजेता बने।
यसपछि उनी नेपाल आए। मिथिला परिकार प्रचार गर्ने उनको उद्देश्य थियो। उनले जनकपुरधामलाई यसको थलो बनाउने निधो गरे।
सन्तोषको यो यात्रामा उनका दाजु सेफ दिलिप कुमार साह पनि सँगै छन्। यो क्षेत्रमा दिलिपको साढे दुई दशक लामो अनुभव छ।
'मिर्चैयामा दिलिप दाइको सानो रेस्टुरेन्ट थियो। त्यहाँको खाना मिठो थियो,' सेफ साहले भने, 'त्यसमै परिकार थपेर जनकपुरधाममा चलाउनेबारे दाजुभाइले सल्लाह गर्यौं।'
सुरूमा त दिलिप अचम्म परे — मास्टर-सेफको रूपमा संसारका चिनिँदै गएका भाइ जनकपुरमा खाना बनाउने कुरा गर्छन्!
सन्तोषले आफ्नै नाममा ब्रान्ड बनाएर मैथिली खाना बनाउने भने। अनि दिलिपलाई पनि कुरा चित्त बुझ्यो। यसपछि दाजुभाइले खोलेका हुन् मिथिला थाली।
'यही माटोमा जन्मिएँ, हुर्किएँ र ख्याति पनि कमाएँ,' सन्तोषले भने, 'यसै क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच हो।'
दाजुभाइ मिलेर मिथिला थाली फैलाउने उद्देश्य छ। झम्सिखेल पहिलो शाखा हो। चाँडै गौशालामा खोल्ने तयारी छ। खासगरी पशुपतिनाथ दर्शन गर्न आउनेलाई लक्षित गरेर यो रेस्टुरेन्ट खोलिने दिलिपले बताए।
'शाकाहारी हुने भएकाले त्यहाँ परिकार केही सस्तो पनि हुन्छ,' ४६ वर्षीय दिलिपले भने।
यसबाहेक वीरगञ्ज, विराटनगर, भारतको अयोध्या, दिल्ली, कतारको दोहा लगायत विभिन्न ठाउँमा मिथिला थाली पुर्याउने उनीहरूको योजना छ। सस्तो र धेरै परिकारका स्वाद विस्तार हुँदै गएपछि मिथिला थाली ग्राहकको रोजाइमा पर्ने सन्तोष बताउँछन्।
सन्तोषले कामको सिलसिलामा संसारका विभिन्न परिकार बनाए। मिथिला परिकार पकाउन सिकेको भने ६ वर्ष मात्र भयो। नयाँ पुस्ताले मिथिला परिकारको स्वाद लिन नपाउने, अस्तित्व नै हराउने डरले पनि मिथिला थाली खोल्न आकर्षित भएको बताउँछन्।
'यो व्यापार मात्रै होइन, अभियान पनि हो,' सन्तोषले भने।
मिथिला थालीको सफलतासँगै रोजगारी सिर्जना र किसान समेत लाभान्वित हुने उनको भनाइ छ।
स्थानीय खानालाई गाउँदेखि सहरसम्म प्रवर्द्धन गरिरहेका उनी भन्छन्, 'केही वर्षअघिसम्म म अरूकोमा काम गर्थेँ, तर अहिले रोजगारी सिर्जना गरेको छु। यसमा पनि ठूलो खुसी मिलेको छ। सेफहरूलाई स्वदेशमा पनि सम्भावना छ है भन्ने उदाहरण पनि हो।'
सबै तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी