(यो सेतोपाटीका सदस्यहरूले मात्र पढ्न मिल्ने 'प्रिमियम' स्टोरी हो। केही दिनका लागि सबै पाठकले निःशुल्क पढ्न मिल्ने गरी खुला गरेका छौं।)
पोखरा सहरको कथा: अध्याय ३
फेवातालमा साइली डुंगा सलल
सम्झनामा तिम्रो तस्बिर झलल
— शिव परियार (स्वर), रामचन्द्र काफ्ले (संगीत), किरण घिमिरे (शब्द)
पोखराको बाराही होटलका सञ्चालक विप्लव पौडेल र डुंगा चालक रामकुमार आचार्यको जीवनमा एउटा कुरा समान छ — यी दुवैको व्यवसाय फेवातालले धानेको छ।
पौडेलले लेकसाइडबाट सुरू गरेको बाराही होटललाई पोखराकै सराङकोट हुँदै चितवनको मेघौली र काठमाडौंसम्म विस्तार गरिसकेका छन्। डुंगा चालक आचार्य भने रोजगारीको नयाँ अवसर खोज्दै खाडी मुलुक पुगेर फेरि फेवातालमै बहना खियाइरहेका छन्।
तर यी दुवैको व्यवसाय फेवाताल हेर्न आउने पर्यटकमा निर्भर छ। पर्यटक आएनन् भने आचार्यको त रोजीरोटी गुम्छ नै, तीन ठाउँमा फैलिएको पौडेलको होटल व्यवसायमा पनि कम धक्का पुग्दैन।
हामी यो स्टोरीमा पौडेल र आचार्यको व्यवसायबारे कुरा गर्दै छैनौं। बरू उनीहरू दुवैको व्यवसाय धानेको र पोखरा सहरलाई पर्यटकीय केन्द्र बनाउन मुख्य भूमिका खेलेको फेवातालको उत्पत्ति कथा उधिन्ने प्रयास गर्दैछौं।
फेवाताल उत्पत्तिको वैज्ञानिक आधार आफ्नो ठाउँमा छँदैछ, त्यसबाहेक फेवातालसँग जोडिएका परम्परागत किम्बदन्ती पनि प्रशस्तै छन्। ती किम्बदन्तीले कुनै न कुनै रूपमा फेवाताल उत्पत्तिको ऐतिहासिक तथा भौगोलिक अभिलेखलाई श्रुति परम्परामा सुरक्षित राखेका छन्।
यो स्टोरीमा हामी वैज्ञानिक आधार र किम्बदन्ती दुवै केलाउने छौं।
सुरू गरौं, किम्बदन्तीबाट।
आजभन्दा धेरै धेरै, धेरै नै वर्षअघि अहिले जहाँ फेवाताल छ, त्यो ठाउँमा एउटा सुन्दर गाउँ थियो।
एक दिन साँझपख एक वृद्ध जोगी बास माग्दै त्यो गाउँमा आएछन्। अरू कसैले बास नदिएपछि ती जोगी गाउँकै एक वृद्धाको झुपडीमा बास माग्न पुगेछन्।
वृद्धाले जोगीलाई भनिन्, 'बास त दिन सक्छु, तर मसँग खानलाई ढुटोको रोटी मात्र छ। के गरूँ?'
जोगी खुसी भए।
बास पनि पाइने र ढुटोको रोटी नै भए पनि खान पाइने भएपछि उनले सहर्ष स्वीकार गरे।
वृद्ध जोगी रोटी खाएर झुपडीको पिँढीमा सुते।
भोलिपल्ट बिहान हिँड्ने बेला ती जोगीले वृद्धालाई गाँस र बासको निम्ति धन्यवाद दिँदै भने, 'यो गाउँ जलमग्न हुनेछ। तिमी चाँडै नै अग्लो ठाउँमा गएर बस्नू।'
वृद्धाले किन-कसरी सोध्न नभ्याउँदै वृद्ध जोगी आफ्नो बाटो लागे।
त्यसलगत्तै वृद्धाले सारा गाउँलेलाई भेला पारेर जोगीको भनाइ सुनाइन् र अग्लो ठाउँमा जान आह्वान गरिन्।
जोगी हिँडेको केही बेरमै हर्पन खोलामा पानीको सतह र चाप बढ्न थाल्यो। त्यही पानीले छिनभरमै पूरै गाउँ जलमग्न भएर डुब्यो।
जोगीलाई बास दिएकी वृद्धा समय रहँदै अग्लो ठाउँतिर उकालो लागिसकेकी थिइन्। उनको कुरा पत्याएर केही गाउँले पनि पछि लागेका थिए। उनीहरू सबैको ज्यान जोगियो।
जसले वृद्धाको आह्वान सुनेनन्, ती भने कोही बाँचेनन्।
यसरी सिंगो गाउँ नै डुबाएर बनेको ताललाई कालान्तरमा फेवाताल भन्न थालियो।
वृद्धाको मृत्युपछि स्थानीयले खरको झुप्रोमा उनको मूर्ति बनाए र पूजा गर्न थाले।
निकै वर्षपछि एकदिन फेरि हर्पन खोलामा भीषण बाढी आयो। वृद्धाको मूर्ति रहेको थुम्को बग्दै बग्दै अहिले बाराही मन्दिर भएको ठाउँमा टक्क अडियो।
त्यही रात कास्कीका राजा कुलमण्डन शाहले फेवाताल बीचको थुम्कोमा रहेको मूर्तिलाई मन्दिर बनाएर सेवा गर्नू भन्ने सपना देखेछन्। लगत्तै उनले सपनामा देखेअनुसार नै खरको झुप्रोको मन्दिर बनाए र त्यही मन्दिरमा मूर्ति स्थापना गरेर पूजा गर्न थाले।
यति मात्र होइन, मन्दिरमा नित्य पूजा सञ्चालन गर्न उनले विक्रम सम्बत् १८६८ मा लालमोहर जारी गरेर बैदामका पहारी परिवारलाई सय मुरी उत्पादन हुने खेतसहित गुठीको व्यवस्था गरिदिए। अहिले पनि त्यो 'तालबाराही गुठी' का नामले क्रियाशील छ।
त्यही गुठीले प्रकाशन गरेको 'तालबाराही मन्दिरको इतिवृत्त' किताबमा फेवाताल र बाराही मन्दिर उत्पत्तिबारे यो किम्बदन्ती उल्लेख छ।
किताबमा उल्लिखित अर्को किम्बदन्तीअनुसार फेवातालको सिरानमा चारैतिर पानीले घेरिएको 'माझथुम' नामको थुम्का थियो। समथर जमिनको बीचमा उठेको उक्त थुम्काको सबभन्दा माथि भगवान सिद्धबराह विराजमान थिइन्।
एक रात राजा कुलमण्डन शाहलाई सपनामा सिद्धबराहले दर्शन दिइछन् र भनिछन्, 'मेरो दाहिने शंख बुझाउनू, नत्र अनर्थ हुनेछ!'
यस्तो सपना देखेलगत्तै उनी माझथुम थुम्का गए। तर दाहिने शंख बुझाउन सकेनन्।
राजाले शंख बुझाउन नसकेपछि सिद्धबराह माझथुमबाट फेवाताल बसाइ सरिन् र अहिले तालबाराही भएको थुम्कामा बस्न थालिन्। पछि राजा कुलमण्डन शाहले त्यहाँ मन्दिर बनाएर नित्यपूजाको बन्दोबस्त मिलाइदिए।
फेवाताल र तालबाराहीसँग जोडिएका यस्ता थुप्रै किम्बदन्ती स्थानीयमाझ प्रचलित छन्। तिनै किम्बदन्ती सुन्न हामीले फेवातालको सिरानमा अवस्थित चैनपुरका ८१ वर्षीय गंगाधर तिमिल्सिनालाई भेटेका थियौं। भारतको वनारसबाट धर्मशास्त्रमा आचार्य गरेका तिमिल्सिनाले त्रिभुवन विश्वविद्यालयबाट नेपालीमा स्नातकोत्तर गरेका छन्। उनी पोखराको विन्ध्यावासिनी संस्कृत विद्यापीठका संस्थापक प्राचार्य हुन् भने बाराही माविमा पनि प्राचार्य थिए।
उनी फेवातालको उत्पत्ति कथालाई भागवतसँग जोडेर हेर्छन्। भन्छन्, 'बराह भनेको भगवान विष्णुका सुर अवतार हुन्। विष्णुका दसवटा मुख्य नाममध्ये बराह एक हो। बराहकी श्रीमती अर्थात् देवी लक्ष्मीका अवतार हुन् बाराही।'
विष्णुले बराह र लक्ष्मीले बाराहीको अवतार लिनुपर्ने व्याख्या भागवतमा गरिएको उनको भनाइ छ।
'जति बेला पृथ्वी पानीले भरिएको थियो, त्यही बेला ब्रह्माजीले सानो धर्ती सृष्टि गर्नुभयो। धर्तीमा अनेक खालका प्राणी र वनस्पति रचना गरिए। त्यही बेला हिरण्यकश्यप नामक दानवले ब्रह्माजीले रचना गरेको धर्तीलाई समुद्रमुनि लुकाइदिए,' तिमिल्सिनाले भने।
'आफूले सृष्टि गरेको धर्ती समुद्रमा डुबेपछि ब्रह्माजी चिन्तामा पर्नुभयो। उहाँले घोर तपस्या गर्नुभयो र त्यही तपस्याको बलमा भगवान विष्णुले बराह अवतार लिनुभयो। बराह भनेको बलवान सुँगुर हो, जसले समुद्रमुनि गएर हिरण्यकश्यपले लुकाएको धर्तीलाई आफ्ना बलशाली दाह्रामा अड्याए। त्यसपछि यो धर्ती पानीमाथि तैरियो र ब्रह्माजीले सृष्टिलाई निरन्तरता दिन पाए।'
'फेवातालमा विराजमान बराह र बाराहीका यी कथा भागवतको अष्टमद कन्दमा उल्लेख छ,' उनले भने, 'फेवाताल उत्पत्तिबारे अरू पनि कथा छन्।'
उनले हामीलाई एउटा कथा सुनाए —
आजभन्दा धेरै धेरै, धेरै नै वर्षअघि फेवातालको स्रोत हर्पन खोला र हाँडी खोलाको दोभान घाँटीछिनामा एउटा परिवार बस्थ्यो। एकदिन हर्पन खोलामा ठूलो बाढी आयो। बाढीले त्यो परिवारको सर्वस्व बगाइदियो। एक बूढीआमैबाहेक परिवारका सबैको ज्यान गयो।
बाढीमा बाँचेकी बूढीआमैले हर्पन खोलालाई सराप दिइन्, 'ए हर्पन खोला! तेरो बहाव कहिल्यै स्थिर नहोस्! पहिरोले तँलाई सताइरहोस्! तेरो गति र बाटो कहिल्यै एउटै नहोस्!'
परिवारको शोकमा डुबेकी बूढीआमैको सरापले हर्पन खोलालाई छोयो।
आज पनि हर्पन खोला एउटै बाटोमा स्थिर छैन। कहिले वल्लो कुनाबाट बग्छ, कहिले पल्लो कुनाबाट। सर्पाकार मार्ग पनि परिवर्तन गरिरहन्छ।
'पहिले फेवाताल चनौटे, माझथुम र घाँटीछिनाभन्दा माथिसम्म थियो। पञ्चासे उठेको पहाडसम्म फेवातालको पानी जम्मा हुन्थ्यो,' तिमिल्सिनाले भने, 'नब्बे सालको भुइँचालोले फेवातालको मुख्य स्रोत हर्पन खोलाको मुहान पञ्चासेबाट ठूलो पहिरो झर्यो। पहिरोले एउटा सिंगो गाउँ नै बगाएर फेवातालमा ल्यायो। त्यो पहिरोले फेवाताल चार हात पुरिएको थियो भनेर गाउँका बूढापाका सुनाउँथे।'
तिनै बूढापाकामध्ये एक चैनपुरका मुखिया प्रजापति पराजुलीलाई उद्धृत गर्दै तिमिल्सिनाले भने, 'त्यो पहिरो आउनुअघि फेवातालमा माछा मार्न किनारभरि माझीहरू बस्थे। उनीहरू माछा मारेरै गुजारा चलाउँथे। उहिले माझी बस्ती भएको ठाउँलाई अहिले पनि माझीस्वाँरा भनिन्छ। तर त्यहाँ न माझी छन्, न फेवाताल छ। त्यति बेलाको विशाल फेवाताल सुकेर अहिलेको आकारमा सीमित भएपछि ती माझीहरू बसाइ सरेछन्।'
यही क्रममा विभिन्न समयमा आएको पहिरोले माझथुम हुँदै पामेभन्दा तलसम्म फेवाताल पुरिएको उनको भनाइ छ।
'फेवातालसँग जोडिएका किम्बदन्तीमा देवता, राजा, योगी र जोगीहरू प्रमुख पात्रका रूपमा आएका छन्। ती सबैले बाढी, पहिरो, डुबान र उद्धारका कथा भन्छन्। यसले पनि फेवातालको उत्पत्ति बाढी, पहिरो लगायत प्राकृतिक प्रकोपसँग जोडिएको संकेत गर्छ,' तिमिल्सिनाले भने।
किम्बदन्तीपछि अब हामी फेवाताल उत्पत्तिको वैज्ञानिक आधारबारे चर्चा गरौं।
भूगर्भविदहरूले फेवाताल पहिले कहाँसम्म थियो भनेर पत्ता लगाउन माझथुमका फाँट र घाँटीछिनासम्मै 'ड्रिलिङ' गरेर ती क्षेत्रको माटो परीक्षण गरेका छन्। त्यसै आधारमा फेवाताल उत्पत्तिको वैज्ञानिक कथा यसै विषयमा विद्यावारिधि गरेका प्राध्यापक डा. देवेन्द्रबहादुर लामिछानेले हामीलाई सुनाए।
उनका अनुसार फेवातालको स्रोत हर्पन खोला हो। ताल बन्नुअघि हर्पन खोला जंगलै जंगलको बीचमा आफ्नै प्रवाहमा बग्थ्यो र कलकलाउँदै सेती नदीमा मिसिन्थ्यो। कालान्तरमा त्यही हर्पन खोला थुनिएर फेवाताल बनेको हो।
अब प्रश्न उठ्छ — फेवाताल बन्ने क्रम कहिलेबाट सुरू भयो त?
आजभन्दा १२ हजारदेखि १५ हजार वर्षअघि अन्नपूर्ण हिमालबाट झरेको हिमपहिरोले हर्पन खोला थुनिएको थियो। तर हर्पनको वेगसामु हिमपहिरो धेरै समय टिक्न सकेन। हर्पनले बिस्तारै हिमपहिरो नै बगाइदियो।
त्यसपछि करिब ७ हजारदेखि १२ हजार वर्षअघि अन्नपूर्ण चौथो हिमालबाट अर्को ठूलो हिमपहिरो खस्यो। त्यो हिमपहिरोले हर्पन खोला पहिलेभन्दा धेरै थुनियो। तर यसपालि पनि हिमपहिरो धेरै टिक्न सकेन। थुनिएको हर्पनले आफ्नो बाटो पहिल्याएरै छाड्यो।
यी दुवै हिमपहिराले पोखराको वर्तमान स्वरूप निर्माण गर्न ठूलो भूमिका खेलेका थिए, जसबारे हामीले शृंखलाको पहिलो अध्यायमा चर्चा गरेका छौं।
यसरी दुई-दुईपटक झरेको हिमपहिरोले पनि हर्पन खोला थुन्न सकेन। आखिरमा अन्नपूर्णको हिमपहिरो र हर्पनको रस्साकस्सीले आजभन्दा ८३४ वर्षअघि सन् ११९० मा आएर नयाँ रूप लियो। त्यति बेला अन्नपूर्ण चौथो हिमालबाट पाँच सय मिटर उचाइको चुचुरो नै भाँचिएर हिमपहिरो आएको थियो।
यसबारे फ्रान्सेली र नेपाली गरी १२ जना भूगर्भ वैज्ञानिकले सन् २०२३ मे ५ मा विश्वप्रसिद्ध विज्ञान जर्नल 'द नेचर' मा लेख प्रकाशित गरेका छन्। त्यो हिमपहिरो यति ठूलो थियो, त्यसले हर्पन खोलालाई बहने कुनै बाटो दिएन। हिमपहिरोको रासका अगाडि हर्पन खोलालाई थुनिन करै लाग्यो।
पोखराको पृथ्वीनारायण क्याम्पसका पूर्वप्रमुखसमेत रहेका प्राध्यापक लामिछानेका अनुसार त्यो हिमपहिरोले अहिले फिस्टेल लज रहेको ठाउँमा हर्पन खोला थुनेको थियो। हिमपहिरोले ल्याएको गेग्रान कोमागाने पार्क हुँदै रानीवनसम्म फैलियो। हर्पनले न रानीवन काट्न सक्यो, न हिमपहिरो छिचोल्न सक्यो।
यसरी हर्पन खोला थुनिएपछि पानीले जंगल भरिन थाल्यो। जंगलका रूख-वनस्पति जम्मै डुबे। वन्यजन्तुको भागाभाग भयो। कयौं जनावर पानीमा डुबेर मरे। टम्म पानी भरिएर फुस्रे खोलातिर झर्नुपर्ने भयो, उनले भने, 'कम्तिमा २० वर्गकिलोमिटर क्षेत्र पानीले भरिएको हुनुपर्छ। त्यो घटनापछि अहिलेसम्म फेवाताल अनवरत छ। फेवातालले डुबाएका रूख-वनस्पतिका ठुटा अहिले पनि पानीमुनि छन्।'
'हामीले किम्बदन्तीमा सुनेजस्तो अहिले फेवाताल भएको ठाउँमा कुनै बस्ती थिएन,' उनले अगाडि भने, 'मान्छेहरू त्यति बेला फाँटमा बस्थेनन्। डाँडाकाँडामा बस्थे। फेवाताल भएको ठाउँमा त जंगल नै जंगल थियो, जहाँ मानव बस्ती हुने कुरै आएन।'
उनले यो पनि भने, 'काठमाडौं उपत्यकामा तालको पानी बगेर गएपछि बसोबास सुरू भयो। पोखरामा भने तालहरू बनेको धेरै समयपछि बसोबास सुरू भएको देखिन्छ।'
किम्बदन्तीमा भनिएझैं माझथुम, ठूलाखेत र घाँटीछिनासम्मै फेवाताल फैलिएको भने सत्य भएको लामिछाने बताउँछन्। अध्ययनले पनि यो पुष्टि गरेको छ।
सन् १९९३ मा त्रिभुवन विश्वविद्यालयको भूगर्भ विभागले फेवाताल कति माथिसम्म फैलिएको थियो भनेर अध्ययन गर्न उत्खनन गरेको थियो। लामिछानेसमेत संलग्न उक्त अध्ययनले जमिनभित्रको माटो परीक्षण गर्दै जाँदा माझथुम हुँदै घाँटीछिना र पञ्चासेको फेदसम्मै फेवाताल फैलिएको निष्कर्ष निकाल्यो। ती क्षेत्रको जमिनमुनि फेवातालका अवशेष फेला परेका थिए।
पहिले फिस्टेल लजभन्दा माथि मात्र फेवाताल थियो, तल थिएन। २०१८ सालमा पहिलोपटक ड्यामसाइडमा बाँध बनाएपछि मात्र फिस्टेलभन्दा तल पनि ताल देखिएको लामिछाने बताउँछन्। भारतीय सहयोग मिसनको १८ लाख रूपैयाँ सहयोगमा ४६ फिट अग्लो उक्त बाँध बनाइएको हो।
ड्यामसाइडमा बनाइएको पहिलो बाँध २०३१ सालमा फुट्यो। त्यसपछि फिस्टेलभन्दा तल जम्मा भएको पानी बगेर गयो। ताल खोलाजस्तो देखियो। यसले पानीको मात्रा केही घटे पनि प्राकृतिक फेवाताल उस्तै थियो।
बाँध फुटेका बेला तालबाराही मन्दिरसम्म हिँडेरै जान सकिन्थ्यो। मन्दिर भएको ठाउँ जमिनबाट उठेको ढिस्को हो, जसलाई फेवातालले डुबाउन सकेन। लामिछानेका अनुसार त्यो ढिस्को चट्टानै चट्टान हुँदै रानीवनसँग जोडिएको छ। माझथुममा सिद्धबराह बसेको थुम्कालाई पनि चट्टानले पहाडसँग जोडेको छ।
फेवातालको बाँध भत्कँदा प्राध्यापक लामिछानेले भर्खरै एसएलसी दिएका थिए। उनी फेवातालमा पौडी खेल्न जान्थे। तालकै पानी पिउँथे। बाँध फुटेका बेला पहिले फेवातालले डुबाएका रूखका ठुटाहरू पनि आफूले देखेको उनी सम्झन्छन्।
'पानीभित्र काठ कुहिँदैन,' उनले भने, 'अहिले पनि रूखका ठुटाहरू फेवातालमुनि नै छन्। त्यसको नमूना निकालेर अध्ययन गर्न पाए कति वर्ष पुरानो रूख रहेछ भन्ने पत्ता लगाउन सकिन्थ्यो।'
२०३१ सालमा पहिलो बाँध फुटेपछि २०३४ मा अर्को बाँध बनाइयो। संयुक्त राष्ट्रसंघको सहयोगमा बनेको यो बाँध अहिलेसम्म टिकेको छ।
लामिछानेले आफ्नो अध्ययनमा फेवाताल कति ठूलो थियो र कहाँसम्म फैलिएको थियो भनेर मात्र प्रमाणित गरेका छैनन्, यसको गहिराइ पनि नापेका छन्। उनले आफ्नो विद्यावारिधि क्रममा फेवातालका दुई सय ठाउँमा गहिराइ नापेका थिए। त्यति बेला सबभन्दा गहिरो ठाउँ बाराही मन्दिर र रानीवन बीचमा पाइएको उनी बताउँछन्। त्यो ठाउँ ३०.३ मिटर गहिरो थियो। तालको औसत गहिराइ भने ११.६ मिटर थियो।
'फेवाताल बन्नुअघि जुन ठाउँमा खोला बगेको थियो, त्यो भाग गहिरो छ,' लामिछानेले भने, 'अहिले कति पुरियो होला! यसबारे थप अध्ययनको खाँचो छ।'
प्राकृतिक रूपमा बनेको विशाल फेवाताल प्राकृतिक रूपमै पुरिन थालेको उनको भनाइ छ।
'पहिले फेवाताल आसपास मानव बसोबास थिएन। ताल बन्नुअघि पनि थिएन, पछि पनि लामो समय रहेन। रोगब्याधि लगायत कारणले मानिस फाँटमा बस्न रूचाउँथेनन्,' उनले भने, 'समय क्रममा पञ्चासेबाट आउने हर्पन खोलाले पटक पटक बाढी ल्यायो। बाढी र पहिरोले फेवाताल माथिबाट पुर्न थाल्यो। भदौरेबाट आउने अँधेरी खोलाले पनि त्यसै गर्यो। खहरेको त के कुरा गर्नु!'
फेवाताल भएको ठाउँमा भेटिएका भाँडाकुँडा, ढिकी, जाँतो लगायत वस्तु यसरी नै बाढीमा बगेर आएका हुन सक्ने उनको अनुमान छ।
उहिले प्राकृतिक रूपमा फेवाताल पुरिए पनि पछिल्लो समय मानवीय कारणले खतरा बढेकोमा लामिछानेको चिन्ता छ। फेवातालको जलाधार क्षेत्रमा विकासका नाममा चलिरहेका डोजरले पहिरो ल्याएर फेवाताल पुरिँदै गएको उनी बताउँछन्।
उहिले फेवाताल रहेको घाँटीछिनादेखि पामेसम्म बगर बनेको छ। केही ठाउँमा स-साना बजार छन्। पामेभन्दा तल सिमसार छ। सिमसारलाई पनि पोखरा महानगरले जग्गा वर्गीकरण गर्दा गैरकृषि क्षेत्रमा राखेको छ। यसको मतलब महानगरले सिमसारमा घर-भवन बनाउन, उद्योगधन्दा खोल्न र पुर्न अधिकार दिन्छ। लुकिछिपी पुरिएका घटना त कति छन् कति, कहिलेकाहीँ महानगर आफैले पनि सिमसार पुर्ने अनुमति दिएको पाइन्छ।
फेवातालबारे अनुसन्धान गरेका लामिछाने सिमसारमा कृषिबाहेक अरू काम गर्न नहुने बताउँछन्।
उनका अनुसार सिमसारमा बनाएको घर लगायत संरचना भुइँचालो जाँदा डुब्ने खतरा हुन्छ। बाढीमा पर्न सक्छ। प्राकृतिक रूपमा पनि सिमसार संवेदनशील छ। यहाँ लोपोन्मुख प्रजातिका थुप्रै वनस्पति उम्रन सक्छन्। पशुपन्छीको निम्ति उत्तम बासस्थान सिमसार नै हो। बाढी-पहिरो नियन्त्रण र पानी छानेर शुद्ध बनाउन पनि सिमसारले भूमिका खेल्छ।
'हाम्रो शरीरको मिर्गौलाजस्तै सिमसारले पानी छानेर शुद्ध पार्छ,' उनले भने, 'त्यसैले सिमसार भनेको पृथ्वीको मिर्गौला हो।'
यति महत्त्वको ताल खुम्चिँदै गएपछि सरकारले चारकिल्ला निर्धारण गरेर पहिलोपटक २०७७ फागुन १७ गते राजपत्रमा प्रकाशित गरेको थियो। राजपत्रको खण्ड ७० भाग ५ मा फेवातालको क्षेत्रफल ११ हजार २५५ रोपनी ११ आना १ पैसा तोकिएको छ। फेवातालको चार किल्ला पूर्वमा ड्यामसाइड, पश्चिममा मोरेबगर, उत्तरमा खपौदी, शंखपुर, दम्किलो र दक्षिणमा चिसापानी रानीवन कायम गरिएको छ।
सरकारले पोखराका पुण्य पौडेलको संयोजकत्वमा गठन गरेको फेवाताल सीमांकन, नक्सांकन तथा चार किल्ला निर्धारण समितिको सिफारिसमा उक्त निर्णय गरेको हो। तर फेवातालका नाममा सीमांकन गरिएका धेरै जमिन अतिक्रमणमा परेका छन्। कतिपय जमिन पुरिएका छन्।
प्राध्यापक लामिछानेले २०५५ सालमा गरेको अध्ययनअनुसार फेवातालमा बर्सेनि १ लाख ५९ हजार ५५३ टन ढुंगा, गिटी, बालुवा र माटो बगेर आउँछ। हर्पन खोलासहित अन्य सहायक खोला र खहरेहरूले यस्ता वस्तु बगाएर ल्याउँछन्।
विश्व वन्यजन्तु कोषले सन् २०१३ मा गरेको अनुसन्धानले पनि वार्षिक १ लाख ८० हजार घनमिटर ढुंगा, गिटी, बालुवा, माटो र लेदो फेवातालमा आउने उल्लेख गरेको छ। यसरी पुरिँदै जाने हो भने फेवाताल आगामी दुई सय वर्ष पनि नबाँच्ने कोषको चेतावनी छ।
फेवातालले आफूभित्र धेरै रहस्य बोकेको छ। तिनैमध्ये एउटा रहस्य हामीले प्राध्यापक लामिछानेलाई सोधेका थियौं — मुसलधारे पानी पर्दा पोखरा एकैछिनमा जलमग्न हुन्छ। पानी रोकिनासाथ जमिनमा भरिएको पानी एकैछिनमा सुकेर जान्छ। फेवातालको पानी चाहिँ किन सुक्दैन?
यसको जबाफ लामिछानेले यसरी दिए —
'अन्नपूर्ण चौथोबाट आएको गेग्रानले पुरिएर पोखराको भूसतह निर्माण भएको हो। त्यसैले यहाँको जमिनमा पानी सजिलै सुकेर जान्छ। त्यो पानी जमिनभित्र छिरेर भित्रभित्रै बग्छ। फेवातालको पिँध भने हिमपहिरोले पुरिन पाएन। अन्नपूर्ण चौथोबाट झरेको गेग्रान पुरिनुभन्दा अगाडि पोखराको भूसतह भनेको फेवातालको पिँध हो। त्यसैले फेवातालको पिँधमा पानी सोस्ने गुण छैन।'
पोखरालाई बसोबासयोग्य बनाउनमा फेवातालको मुख्य हात रहेको पनि लामिछाने बताउँछन्।
'मान्छे त्यही ठाउँमा बसोबास गर्न चाहन्छ, जहाँ पानीको राम्रो स्रोत छ। पोखरामा बसोबास गर्न चाहनेहरूलाई अत्यावश्यक पानीको जोहो फेवातालले गरिदियो। फेवातालमा लहर बनाउँदै बहने हावाले पानी चिसो बनाइदियो। पोखरेलीहरूले शितल हावामा सास फेर्न पाए,' उनले भने, 'समुद्री सतहबाट जम्मा ८ सय मिटर उचाइमा रहेको पोखरा यही उचाइका अन्य ठाउँभन्दा शितल हुनुमा उत्तरतिर उभिएका हिमाल मात्र होइन, फेवाताल र अन्य तालतलैया पनि मुख्य कारण हुन्।'
नेपालमा रारा ताल सबभन्दा ठूलो तालका रूपमा विख्यात छ। रारापछि देशकै दोस्रो ठूलो फेवाताल हो। पोखरामा आन्तरिक मौसमी प्रणाली विकास गर्न पनि फेवातालको योगदान उत्तिकै महत्त्वपूर्ण मानिन्छ।
'फेवाताल भएन भने पोखरा भूत सहर बन्छ। गर्मी ह्वात्तै बढ्छ,' उनले भने, 'फेवातालबिना पोखरामा पर्यटकहरू अडिन सक्दैनन्।'
त्यो अवस्थामा न विप्लव पौडेलको होटल व्यवसाय टिक्छ, न रामकुमार आचार्यको डुंगा व्यवसाय। किनभने, पौडेलको लाख-करोडको व्यवसाय होस् वा आचार्यको हजार-दस हजारको, दुवै धानेको छ फेवातालले नै।
हालसम्म भएका अध्ययन प्रतिवेदनमा उल्लिखित फेवातालको क्षेत्रफल:
१) ब्रिटिस सर्भे अफ इन्डिया (सन् १९२५-१९२६) — ३.४६ वर्गकिलोमिटर
२) सर्भे अफ इन्डिया (सन् १९५७-१९५८) — ४.३९ वर्गकिलोमिटर
३) नेपाल-भारत सहयोग मिसनको प्रतिवेदन (विक्रम सम्बत् २०१८) — १०.३५ वर्गकिलोमिटर
४) पहिलो किल्ला नापी कित्ता नम्बर २९७० (विसं २०३२) — ४.४३ वर्गकिलोमिटर
५) नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको अध्ययन प्रतिवेदन (विसं २०३८) — ५.८० वर्गकिलोमिटर
६) अन्तर्राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्ययन प्रतिवेदन (विसं २०५२) — ४.४९ वर्गकिलोमिटर
७) जिल्ला विकास समिति कास्की (विसं २०५८) — ४.२५ वर्गकिलोमिटर
८) पोखरा उपत्यका नगर विकास समिति (विसं २०६४) — ५.०६ वर्गकिलोमिटर
९) विश्वप्रकाश लामिछानेको प्रतिवेदन (विसं २०६९) — ६.५ वर्गकिलोमिटर
१०) भूमिसुधार मन्त्रालय (विसं २०७२) — ५.०७ वर्गकिलोमिटर
११) पोखरा महानगरपालिका (विसं २०७७) — ५.०८ वर्गकिलोमिटर
१२) फेवातालको सीमांकन प्रतिवदेन तयार पार्न गठित समिति (विसं २०७७) — ५.७२६ वर्गकिलोमिटर
***
यी पनि पढ्नुहोस्-