इलाम—२ को उपचुनावअन्तर्गत् मत गणना जारी रहेको छ। सोमबार बिहान सवा पाँच बजेसम्मको परिणामअनुसार नेकपा (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङले अग्रता कायमै राखेका छन्।
उनले दुई हजार २ सय ८२ मतले अग्रता लिएका छन्।
फाकफोकथुम र चुलाचुलीको वडा नम्बर १, २, ३ र ४ को मत गनिसक्दा एमाले उम्मेदवार सुहाङले ७ हजार ६७७ मत प्राप्त गरेका छन्।
नेपाली कांग्रेसका उम्मेदवार डम्बर खड्काले ५ हजार ३९५ मत प्राप्त गरेका छन्।
तेस्रो स्थानमा मुढा चुनाव चिह्न भएका डकेन्द्रसिंह थेगिम छन्। उनले चार हजार ५८ मत पाउँदा चौथो स्थानमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन योङहाङ लिम्बूले एक हजार १ सय ६२ मत प्राप्त गरेका छन्।
चुलाचुलीमा डकेन्द्रसिंह थेगिमको मत बढेको छ। वडा नम्बर १ मा उनले एक हजार ३१ मत प्राप्त गरेका छन्। स्थानीय तह निर्वाचनमा त्यो वडा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले चुनाव जितेको थियो। त्यतिबेलासंघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट पूर्ण लावतीले ७५३ मत ल्याएर वडाध्यक्ष जितेका थिए।
वडा नम्बर २ मा थेगिमले ३०१ मत पाएका छन्। वडा नम्बर ३ मा ८९३ मत पाएका छन्। त्यस्तै वडा नम्बर ४ मा थेगिमले ५४५ मत प्राप्त गरेका छन्।
२०७९ को स्थानीय तह निर्वाचनमा छवटा वडा रहेको चुलाचुलीका पाँचवटा वडा नेपाली कांग्रेसले जितेको थियो।अहिलेसम्म गणना भएका सबै वडामा कांग्रेस पछि परेको छ।
इलाम २ मा शनिबार उपनिर्वाचन भएको थियो। यहाँ एक लाख १५ हजार आठ सय ८९ मतदाता रहेकामा ६९ हजार दुई सय ८७ जनाले शनिबार मतदान गरेका थिए।
२०७९ मा भएको प्रतिनिधि सभा चुनावमा इलाम २ मा एमाले उम्मेदवार सुवास नेम्वाङले ३० हजार २० मत ल्याएर निर्वाचित भएका थिए भने कांग्रेसका उम्मेदवार डम्बर खड्काले २९ हजार ९ सय ६ मत ल्याएका थिए। त्यस बेला खड्का तत्कालीन सत्ता गठबन्धनबाट साझा उम्मेदवार थिए।