जनता समाजवादी पार्टी (जसपा) नेपाल नेतृत्वको मधेस प्रदेश सरकारबाट बाहिरिएर नयाँ सरकार गठन गर्ने तयारीमा रहेको नेकपा एमाले सहितका दलहरूले नेतृत्वमा आफै दावी गर्दा अन्योल सिर्जना भएको छ।
जसपा संसदीय दलका नेता सरोज कुमार यादव नेतृत्वको सरकार ढालेर नयाँ सरकार गठन गर्न आइतबार एमाले र नेकपा माओवादीले सरकार छोडेको थियो। चार दल मिलेर नयाँ सरकार बनाउने तय समेत भइसकेको एमाले र माओवादीका नेताहरूले दाबी गरेका थिए।
माओवादी संसदीय दलका नेता भरतप्रसाद साहले आलोपालो चारवटै दलले सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा आफ्नो नेतृत्वमा सरकार बनाउन चार दलबीच करिब सहमत भइसकेको सेतोपाटीसँग दाबी गरेका थिए। तर राजनीतिक घटनाक्रमले परिस्थिति बदलिँदै गएको देखिएको छ।
एमालेले सत्तारूढ दलहरूसँग केन्द्रमा सहमति गरी जनमतलाई नेतृत्व दिने निष्कर्षमा पुगिसकेको एक नेताले बताए।
‘परिस्थिति र अंकगणित हेरेर हाम्रो पार्टी (एमाले) मुख्यमन्त्रीबाट पछि हटेको छ। जनमतलाई मुख्यमन्त्री दिएर सरकार बन्ने सम्भावना धेरै छ,’ एमालेका ती सांसदले भने।
कांग्रेसले लोसपा र जनमतलाई फकाएर जसपा सहितका दलहरूको सरकार बनाउने प्रयास गरेकाले सत्ता हातबाट गुम्ने सम्भावना देखेर एमाले नेतृत्व लिनबाट पछि हटेको उनले बताए।
माओवादीका एक नेताका अनुसार प्रदेश सरकारको नेतृत्व, भागबण्डा लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा नेताहरूबीच सोमबार रातिसम्ममा छलफल हुनेछ।
‘यहाँबाट गरेर केही हुन्न। सबै कुरा माथिबाटै डिसाइड हुन्छ। आजको छलफलपछि मात्रै केही भन्न सकिन्छ। अहिलेसम्म सबै कुरा अन्योलमै छ,’ ती नेताले भने।
नयाँ सरकार बनाउने सहमति गरेका चार दलमध्येका लोसपा कांग्रेस र जसपासँग पनि छलफलमा छन्।
‘माथिबाट हामीलाई कोसँग कसरी सरकार बनाउने विषयमा निर्देशन आइसकेको त छैन तर यहाँ आआफ्ना हिसाबले हाम्रो दलका सांसदहरू दुबैतिर बार्गेनिङ गरिरहेका छन,’ लोसपाका एक सांसदले भने, ‘एमालेसँग प्रदेशमा सरकार बनाउन केन्द्रमा पनि हामीलाई भाडबण्डा चाहिन्छ। त्यहाँ कुरा मिले बल्ल यहाँ टुंगो लाग्छ। मुख्यमन्त्री बन्न जितेन्द्र सोनलजी पनि पूरै मेहनत गरिराख्नु भएको छ। यता उपेन्द्र महतो पनि बार्गेनिङ गरिरहेकै छन्।’
मधेस सरकारमा सहकार्य गर्न जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले लोसपा अध्यक्ष महन्थ ठाकुरसँग सोमबारमात्रै प्रस्ताव पनि गरेका थिए। तर उनीहरूबीचको छलफल सकारात्मक भने नभएको नेताहरूले बताएका छन्।
उसो त प्रदेश सरकारमा सहभागी हुने विषयमा लोसपाभित्र विवाद छ। संसदीय दलका नेता अभिराम शर्मा थमन विक हत्या प्रकरणमा दोषी ठहर भई निलम्बनमा परिसकेका छन्। उपनेता उपेन्द्र महतोले सचेतक रानी शर्मासहित र सोनलले दलहरूसँग छुट्टाछुट्टै छलफल गरिरहेका छन्।
‘साढे ६ वर्षसम्म जसपा नेतृत्वको सरकार रह्यो। जसपाको नेतृत्वबाट जनता र प्रदेश सांसद कोही खुसी छैनन्। त्यसैले हामी सरकार परिवर्तन गर्न छलफल गरिरहेका छौं। आलोपालो सरकारको नेतृत्व गर्ने मौखिक सहमति गरेका हौं। नेतृत्व कसले कुन बेला गर्ने त्यो छलफल जारी छ,’ लोसपा सांसद उपेन्द्र महतोले भने।
तर सोनलले भने कोसँग सरकारमा जाने भन्ने विषयमा पार्टीभित्र कुनै छलफल नभएको बताए।
‘हामी अहिले कोहीसँग छैनौं। तटस्थ नै छौं। पार्टीमा कुनै तहबाट केही निर्णय भएको छैन। एमालेको नेतृत्वमा सरकारमा जाने पार्टीको आधिकारिक निर्णय होइन,’ उनले भने।
मधेस प्रदेशमा सरकार निर्माणका लागि ५४ जना सांसदको संख्या आवश्यक छ। एमाले सहितको सरकार बनाउन जनमत र लोसपा निर्णायक छन्। एमालेका सभामुखसहित २५, जनमतका १३, माओवादीका ९ र लोसपाका ८ जना सांसद छन्। विभाजित भएको नयाँ जसपामा भने अहिलेसम्म कोही खुलेका छैनन्।
जसपाका एक नेताका अनुसार केही शर्तसहित लोसपाले कांग्रेस, जसपा सहितको गठबन्धन बनाएर प्रदेश सरकार बनाउन समेत छलफल गरिरहेका छन्।
‘लोसपासँग हाम्रो सकरात्मक कुरा भएको छ। नेकपा एकीकृत समाजवादी हामीसँगै छ। कांग्रेस पनि सकारात्मक छ। केन्द्रमा ठूलै चलखेल नभए सरकार अन्ततः हाम्रै रहन्छ। एमालेलाई सरकारबाट रोक्न हाम्रो तर्फबाट सबै किसिमको प्रयास भैरहको छ,’ जसपाका ती नेताले भने।
नेताहरूका अनुसार केहीदिन अघिसम्म लोसपा र जनमतले सरोज यादव नेतृत्वको सरकार ढालेर माओवादीका भरत साहलाई मुख्यमन्त्री बन्न कयौं पटक आग्रह गरेका थिए।
तर चौथो पटक विश्वासको मत लिने बेला प्रधानमन्त्रीको दबाबमा नेता साहले मुख्यमन्त्रीलाई विश्वासको मत दिएपछि परिस्थिति बदलिएको जनमत पार्टीका एक प्रभावशाली नेताले बताए।
केही समयअघि भारतको विहार राज्यस्थित सुरसण्डमा वर्तमान मुख्यमन्त्रीलाई हटाएर नयाँ सरकार गठन गर्न एमाले, माओवादी संसदीय दलका नेता साह, लोसपा र जनमत पार्टीले प्रयास गरेको गरेका थिए।
त्यसबेला सबै दल साहलाई मुख्यमन्त्री बनाउन सहमत भएका थिए। तर पछि लोसपाभित्र दुई मत हुनुका साथै प्रधानमन्त्री प्रचण्डले समेत यो कुरा थाहा पाएपछि उनीहरू पछि हटेका थिए। चौथो पटक मुख्यमन्त्रीले विश्वासको मत लिने बेला समेत लोसपा, जनमत र कांग्रेस सहितका दलले माओवादी नेता साहलाई मुख्यमन्त्री अफर गरी सरकार ढाल्नमा सहयोग गर्न आग्रह गरेका थिए।
तर त्यतिबेला माओवादीका सबै सांसदले मुख्यमन्त्री यादवलाई विश्वासको मत दिएका थिए।
‘भरतजीलाई हामीले ६/७ जना सांसदलाई विश्वासको मत दिने दिन अनुपस्थित गराइदिनुस् भनेर धेरै कन्भिन्स गरेका थियौं। लोसपाका साथीहरूले पनि भनेकै थिए। तर उहाँ मान्नुभएन,’ जनमतका ती नेताले भने, ‘अहिले परिस्थिति हेर्दा हाम्रै नेतृत्वमा सरकार बन्ने सम्भावना देखिन्छ। यस बारेमा केन्द्रीय नेतृत्वले निर्णय गर्छ। भरतजीलाई अहिले मुख्यमन्त्री हामी स्वीकार्दैनौं।’
एमाले र माओवादीका नेताहरूले मुख्यमन्त्रीमा दाबी गरेका नेता साह अन्तिममा अर्थ मन्त्रालयमा मान्ने दाबी गरे।
‘मधेसमा मुख्यमन्त्री हाम्रो पार्टीको प्रायोरिटीमै छैन। भरतजीको व्यक्तिगत इच्छा हो मुख्यमन्त्री बन्ने। प्रधानमन्त्रीले दबाब दिएपछि अन्तिममा उहाँ मन्त्रीमै मान्नुहुन्छ,’ माओवादीका एक नेताले भने।