धनुषा जिल्लाभरिमा बटेश्वर गाउँपालिका वडा नम्बर १ को चित्रपुर सबैभन्दा धेरै आँप फल्ने ठाउँ मानिन्छ। आँपका रुखमा फूल लाग्न थालेदेखि पाकेर टिप्न थाल्दासम्ममा चित्रपुर साँच्चै मनमोहक हुन्छ।
एक ठाउँमा उभिएर हेर्दा आँखाले भेउ पाएसम्म आँपको बगैँचा देखिन्छ। जुन बगैँचा हेर्ने आगन्तुकहरू पनि प्रशस्त हुन्छन्।
यताका किसानहरू आँपको फूललाई मञ्जर भन्छन्। आँपमा लटरम्म मञ्जर लागेको वर्ष किसानका आँखा र मनमा पनि खुसीको फूल फुल्छ।
किनभने यहाँका धेरै किसानको आम्दानीको मुख्य स्रोत आँप नै हो।
यसपालि पनि चित्रपुरले आफ्नो गरिमा कायमै राखेको थियो। सधैँ झैँ किसानहरू दंग परेका थिए। अनुहारमा खुसियाली छाएको थियो।
यस वर्षको खुसी धेरै दिन टिक्न पाएन। वैशाखको पहिलो सातामै आएको असिनापानी र हावाहुरीले उनीहरूको खुसी छिन्यो। कलिला आँप भूँभरी झरे। वैशाखको अन्तिम दिन फेरि अर्को हावाहुरी आएर क्षति गर्यो। छिप्पिन थालेको आँप सखाप पारिदियो।
आँप खेतीबाट वर्षेनी करिब पाँच लाख रुपैँया आम्दानी गर्ने चित्रपुरका किसान जागृत कुशवाहा आँपमा भएको क्षतिले निराश भएका छन्।
‘वैशाखमै आधा घण्टासम्म असिना परेको पर्यै गयो। हाम्रो गाउँमा यतिधेरै असिना कहिल्यै परेको थिएन। आधा टिकुला (कलिलो आँप) बर्बाद भयो,’ उनले भने, ‘फेरि वैशाखकै अन्तिम दिन यस्तो बेजोड हावाहुरी आयो कि बाँकी रहेकोबाट आधा जति आँप झर्यो।’
जागृतले तीन बिघाभन्दा बढी जमिनमा आँपको बगैँचा लगाएका छन्। हरेक वर्ष मञ्जर लाग्न थालेपछि व्यापारीहरू गाउँमै आउँछन्। बोट नै मोल गरेर किन्छन्।
यसपालि मञ्जर राम्रो लागेको हुनाले जागृतले बोट बेचेनन्, दाना छिप्पिएपछि राम्रो आम्दानी लिने विचार गरे। मञ्जरमै सिंगो बोट बेच्दा व्यापारीले जोखिम विचार गरेर कम मूल्य दिन्छन्।
मञ्जर देखेर खुसी भएका जागृतले बगैँचामा निकै मिहिनेत गरेका थिए। मञ्जरमा किरा लाग्न नदिन तीनपटक उपचार गरेका थिए। यसपालि कीटनाशक विषादीमा मात्र तीस हजार रुपैयाँ खर्च गरे। अन्य खर्च पचासहजार जति भयो।
हावाहुरी र असिनाले क्षति नगरेको भए कम्तीमा पाँच लाख रुपैँयाको आँप बिक्ने जागृतको अनुमान थियो ।
हावाहरीले सबकै सपना उडाइदियो। कमाइ त के खर्च पनि नउठ्ने भयो। उनलाई सरकारले केही सहयोग गरे हुन्थ्यो भन्ने लागेको छ तर आशा गर्नु बेकार भन्ने लाग्छ।
‘हावाहुरी र असिनाले सबै लगानी डुब्यो। सरकारले क्षतिपूर्ति त के राहत पनि दिँदैन। लगानी रकममात्रै सहयोग पाए पनि किसानलाई ठूलो राहत हुन्थ्यो,’ उनले भने।
झरेका आँपमध्ये केही काटेर सुकाए, अचार बनाए। यसको बजार छैन। धेरै जसो बगैँचामै कुहियो।
चित्रपुरकै राजकुमार महतोको साढे चार बिघा जमिनका आँपको बगैँचा छ। उनको बगैँचामा पनि मन्जर निकै राम्रो थियो। त्यसै अनुसार फल लाग्यो। चैतमै साढे चार लाख रुपैयाँमा सिंगै बगैँचा बेचे। वैशाखको दास्रो हावाहुरीमा झरेको आँपबाट क्रेता व्यापारीले करिब दुई हजार किलो लगे। अरू यसै छाडिदिए।
राजकुमारका अनुसार अब रुखमा सुरुमा लागेको फलको एक चौथाइ जति बाँकी छ।
तेजीलाल महतोको तीन बिघामा आँपको बगैँचा छ। उनले पनि बेचेका थिएनन्। बोटमा मुस्किलले एक चौथाइ आँप बाँकी होला। त्यसले खर्च पनि उठ्दैन।
‘आँप बेचेर सालभर छोराको पढाइलेखाइको खर्च चल्थ्यो। घरमा दबाई र खानेकुरा किन्न पुग्थ्यो,’ तेजीलालले भने, ‘यसपालि ऋण लाग्ने भयो, अर्को विकल्प छैन।’
क्षति हेर्न नेता र जिल्लाका कर्मचारीहरू आएका थिए। तेजीलालका असिना परेपछि प्रतिनिधिसभा सदस्य रघुवीर महासेठ, प्रदेशसभा सदस्य हरिनारायण महतो, प्रमुख जिल्ला अधिकारी काशिराज दाहाल, कृषि ज्ञान केन्द्रका प्रमुख शंकर साह लगायतले क्षतिको निरीक्षण गरेका थिए।
उनीहरूले क्षतिपूर्ति दिलाउन प्रयास गर्ने बताएका थिए।
तेजीलालले भने, ‘सांसद र सिडियोहरू आए, सोधेर गए तर क्षतिपूर्ति दिनेबारे केही भनेनन्।’
गाउँपालिकाको कृषि शाखा र कृषि ज्ञान केन्द्रले वडा नम्बर १, २, ३ र ४ मा पहिलो हावाहुरी र असिनाले करिब साढे दुई करोड रुपैयाँ बराबरको क्षति गरेको देखिएको कृषि शाखा प्रमुख सिर्जना लामाले बताइन्।
दोस्रो हावाहुरीको क्षतिको विवरण संकलन भएको छैन। किसानहरूका अनुसार दोस्रो पटक पनि निकै ठूलो क्षति भयो।
बटेश्वर गाउँपालिकाका अध्यक्ष रामअशिष महतोका अनुसार प्रमुख जिल्ला अधिकारीले संघीय मन्त्रालयमा विवरण पठाउने भनेका छन्।
अध्यक्ष महतोले भने, ‘गाउँपालिकाले क्षतिपूर्ति दिन सम्भव छैन, माथिल्लो निकायले दिनुपर्छ। मन्त्रालयले के गर्छ मलाई थाहा छैन।’
प्रमुख जिल्ला अधिकारी दाहालले क्षतिको विवरण संकलन गर्न लगाएको भए पनि थप प्रगतिबारे आफूले बुझ्नपर्ने सुनाए। उनले क्षतिपूर्ति पाउने कुरामा शंका प्रकट परे।
चित्रपुरका किसानहरू करिब १५ वर्षअघिसम्म उखु, गहुँ, कोदो र तरकारी खेती गर्थे। आँपको बगैँचा हुने थोरै थिए। सिँचाइ सुविधा नहुँदा कृषि उब्जनी घट्न थाल्यो।
कृषिबाट गुजारा चल्न छाडेपछि २० देखि ४० वर्षसम्म उमेरका पुरुषहरू धमाधम रोजगारीका लागि विदेश जान थाले। केहीले भूमिगत सिँचाइको प्रबन्ध पनि गरे तर काम गर्ने जनशक्ति भएन।
मुस्किलले उब्जाएको तरकारीबाट पनि गुजारा नचल्ने भयो। अन्ततः विकल्पका रूपमा किसानहरूले आँप खेती रोजे। अधिकांशले आँपको बगैँचा बनाए।
आँपसँगै कटहर र लिची पनि लगाएका छन्। असिना र हावाहुरीले धेरै क्षति गरेन भने राम्रो आम्दानी हुन्छ। जागृतका अनुसार क्षति भएन भने किसानले सस्तैमा बचे पनि अन्नबाट भन्दा निकै बढी आम्दानी हुन्छ।
आँप खेतीमा सबैभन्दा ठूलो जोखिम नै हावाहुरी र असिना हो। आँपमा फल लाग्ने वेलादेखि पाक्ने वेलासम्मै क्षतिको सम्भावना हुन्छ। यसपालि भने चित्रपुरमा खर्च नै नउठ्ने गरी क्षति भएको किसानहरूको भनाइ छ।