लुम्बिनी प्रदेशसभाको आठौं अधिवेशन बुधबारदेखि शुरू भएको छ। अधिवेशनको पहिलो दिन विपक्षी सांसदले मुख्यमन्त्री शंकर पोखरेलको राजीनामा माग गरेका छन्। मुख्यमन्त्री पोखरेलले प्रदेशसभाप्रति विश्वासघात र छलछाम गरि पुनः मुख्यमन्त्री पदमा सपथ लिएको भन्दै उनीहरूले राजीनामाको माग गरेका हुन् ।
बैठकको शुरूमै सभामुख पूर्णबहादुर घर्तीले प्रदेश प्रमुख धर्मनाथ यादवले पठाएको बजेट अधिवेशन आह्वानको पत्र पढेर सुनाएका थिए । त्यसलगत्तै विशेष समय लिएर बोलेका नेपाली कांग्रेसका प्रमुख सचेतक फकरउद्धिन खानले मुख्यमन्त्रीले अवैधानिक रूपमा सरकार गठन गरेकोले नैतिकताको आधारमा तत्काल राजीनामा दिन आग्रह गरे ।
मुख्यमन्त्री पोखरेलले संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन गरेको बताए पनि अहिले उपधारा २ बमोजिमको सरकार बनेको जिकिर गरे। उनले सरकार वैधानिक रूपमै अल्पमतमा परेकोले नैतिकताको आधारमा राजीनामा दिनुको बिकल्प नहुने बताए।
जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यावदले मुख्यमन्त्री पोखरेलले आफ्नो सरकार टिकाईराख्न आफ्नो दललाई समेत फुटाउने काम गरेको आरोप लगाए। जसपाबाट सरकारमा सहभागी अन्य ४ जना सांसदले संसदीय दलको नेता चयन गरेकोप्रति आपत्ति जनाउँदै उनले आफू नै संसदीय दलको आधिकारीक नेता भएको दाबी गरे ।
बैठकमा बोल्दै माओवादी केन्द्रका प्रदेशसभा सदस्य सुदर्शन बरालले मुख्यमन्त्री पोखरेलले प्रदेशप्रमुखलाई बोरामा हालेर मुख्यमन्त्री कार्यालयमै बोकेर लगि सपथ लिएकोप्रति आपत्ती जनाए। मुख्यमन्त्रीको सपथग्रहण कार्यक्रममा विपक्षी दलका नेता र अरू विशिष्ट व्यक्तिसमेत जानुपर्ने प्रचलनलाई तोडेर प्रदेश प्रमुखलाई नै आफ्नै कार्यालयमा लगेर सपथग्रहण गर्नु सदनप्रतिको विश्वासघात भएको जिकिर गरे।
प्रदेशसभाका बहुमत सदस्य अर्कोतर्फ हुँदाहुँदै रातारात सपथग्रहण गरेको उल्लेख गर्दै उनले झुट, जालझेल र षडयन्त्र गरेर गठन गरिएको सरकार वैधानिक हुनै नसक्ने दाबी गरे।
नेपाली कांग्रेसका प्रदेशसभा सदस्य शंकर गिरीले प्रधानमन्त्री र मुख्यमन्त्री दुवैले संवैधानिक ढाँचा र लोकतान्त्रिक मूल्यमान्यता ध्वस्त पारेर सरकार गठन गरेको बताए। उनले शंकर पोखरेल दोस्रोपटक कहिले मुख्यमन्त्री बन्नुभयो सदन र आफूलाई थाहा नभएकोसमेत बताए। उनले आफ्नो र मुख्यमन्त्री दुवैको नाम शंकर भएकोले शंकर पोखरेलले यसो गरेभन्दा मनमा ‘चस्स’ हुने बताए।
बैठकमा प्रदेशसभा सदस्यहरु वीर बहादुर राना, तारा जिसी र ईन्द्रजित थारूले पनि समय लिएर बोल्दै सरकारको आलोचना गरेका थिए।
बैठकमा बोल्दै नेकपा एमालेका प्रदेशसभा सदस्य लिला गिरीले मुख्यमन्त्रीले अहिलेको सरकार गठन गर्नु र प्रदेश प्रमुखले सपथग्रहण गराउनु बाध्यता भएको बताए। मुख्यमन्त्रीले राजीनामा दिएपछि प्रदेश प्रमुखले दिएको समयभित्र सरकार गठन नगरि प्रदेशलाई सरकार विहिन राख्न नहुने भएकाले सरकार गठन गरिएको उनले दावी गरे।
गिरीले अहिलेको सरकार बहुमतमा रहेको दाबी गर्दै प्रदेशसभा सचिवालयबाट गरिएको भेदभावपूर्ण र छिनाझप्टी व्यवहारले राम्रो संकेत नगरेको बताए।
यद्यपी आठौं अधिवेशनको पहिलो बैठकमा मुख्यमन्त्री पोखरेल भने उपस्थित थिएनन्। प्रदेशसभाको अर्को बैठक बिहिबार दिउँसो १ बजे बस्नेछ।