सडक विस्तारका नाममा पुर्ख्यौली थातथलो गुमाएका बालाजु बाइपासका स्थानीयको विरोध प्रदर्शनले उपत्यकाव्यापी आन्दोलनको रूप लिएको छ।
लामो समयदेखि बाइपासका सडक-पीडित त्यही ठाउँमा धर्ना बस्दै आएका थिए, जहाँ उनीहरूको घरमाथि विकासको डोजर चलेको थियो। आइतबार उनीहरू आफ्नो घेराबाट निस्केर काठमाडौं महानगरपालिका घेर्न आए। सोमबार माइतीघर मण्डलसम्म आइपुग्दा दायरा अझ फराकिलो भएको छ।
अब यो आन्दोलन बाइपासको स्थानीय मुद्दामा सीमित छैन। उपत्यकाभरिका सडक-पीडित आ-आफ्ना मुद्दा लिएर मिसिन आइपुगेका छन्।
माइतीघर मण्डलको प्रदर्शनमा बाइपासका स्थानीय मात्र थिएनन्। कोही हरिसिद्धीबाट आएका थिए, कोही खोकनाबाट। कोही कमलपोखरी विनाशको मुद्दा लिएर आएका थिए, कोही लगातार अतिक्रमणको शिकार काठमाडौं सम्पदा जोगाउन।
धेरैजसो व्यक्ति यस्ता थिए, जसले सडक विस्तारका कारण आफ्नो घरजग्गा गुमाएका थिए। कसैको गुम्ने क्रममा थियो।
करिब १० बजे एउटा रातो बस माइतीघर आइपुग्यो। बसमा आएका धेरैजसो महिलाले हाकुपतासी लगाएका थिए।बसअगाडि 'लगनखेल-गोदावरी मूल सडक पीडित संघर्ष समिति' लेखिएको ब्यानर थियो।
बसबाट झर्नेबित्तिकै उनीहरूले फ्लेक्स झिके, प्याम्प्लेटहरू निकाले र सडकमा क्रमबद्ध बसेर धर्ना दिन थाले। ती महिलाले माइतीघरमा भेला भएका अरू समूहका मान्छेलाई सायदै चिन्थे।
केही बेरपछि त्यही समूहकी एक महिला चर्को घामबाट छेलिन छेवैको रूखमुनि गइन्। हामी उनलाई पछ्याउँदै कुराकानी गर्न गयौं।
उनी हरिसिद्धी, जलेकी रामकुमारी महर्जन हुन्। लगनखेल-गोदावरी सडक विस्तार गर्दा उनी लगायत धेरैको घर गुमेको छ वा गुम्ने क्रममा छ। जलेमा उनका दुईवटा घर छन्। दुवै सडकले खाइदिएको उनी बताउँछिन्।
उनको नजिक गएर हामीले नेपाल भाषामा सोध्यौं, 'माँ गन वयू? अले छ्या वोयूले? (आमा, कहाँबाट किन आउनुभयो?)'
नेपाल भाषामै संवाद सुरू गरेपछि उनी सहज रूपमा बोल्न तयार भइन्।
'मेरा दुइटै घरमा चिह्न लगाएर गएका छन्,' उनले सुर्ता मान्दै भनिन्, 'दुवै घर काट्ने भनेका छन्। कति काटिन्छ थाहा छैन।'
उनी यसअघि पनि धेरैपटक माइतीघर मण्डलमा प्लेकार्ड बोकेर आइसकिन्। तर, राज्यले कहिल्यै कुरा नसुनेको उनी बताउँछिन्।
पछिल्लोचोटि प्रदर्शनमा आउँदा प्रहरीको फोहोरासमेत खाएकी उनी भन्छिन्, 'हामी अर्काको सम्पत्ति माग्न वा लुट्न आएका हौं र! आफ्नै घरखेत जोगाउन विरोध गर्दा हामीमाथि पानी हानियो।'
त्यसपछि धेरै समय यस्ता कार्यक्रमबाट टाढै बसेकी उनलाई हामीले सोध्यौं, 'थौ छ्या वोयूले? (आज चाहिँ किन आउनुभयो त?)'
'आज साथीहरूले तिम्रो त दुवै घर सडकमा परेका छन्, जाऔं माइतीघर भनेपछि आएँ,' उनले जवाफ दिइन्, 'यसपालि पनि पानी छ्याप्ने डर त थियो, त्यही सोचेर छोराछोरीले नजाऊ भनेका थिए, तर घरकै मायाले भए पनि आउनुपर्यो।'
हरिसिद्धीबाट यहाँ जति आएका छन्, त्योभन्दा धेरै छ सडक-पीडितहरूको वास्तविक संख्या। अघिल्लोचोटि प्रहरीले बल प्रयोग गरेकाले धेरै जना आउन हच्किएको उनको भनाइ छ।
छुट्टिएका छिमेकी सडकमा सँगसँगै
माइतीघरमा बाइपासका स्थानीयको ठूलो संख्यामा उपस्थिति थियो। भत्किसकेको घर फिर्ता पाउने विश्वास नभए पनि उनीहरू न्यायको आशमा यहाँ भेला भएका थिए।
तीमध्ये सुरेश मानन्धर र सुमन मानन्धर बाइपासका छिमेकी हुन्। सडक विस्तार गर्दा २०७२ सालमा उनीहरूको घर माटोमा मिलेको थियो। अहिले उनीहरू अलग-अलग ठाउँमा बस्छन्।
सडक विस्तारले भौतिक रूपमा अलग्गिएका यी छिमेकी सोमबारको प्रदर्शनमा सँगसँगै सडकमा पलेँटी कसेका थिए।
सुरेशको बाइपासमा साढे तीन तल्लाको घर थियो। अहिले उनी परिवारसहित तार्केश्वर नगरपालिका-८, नेपालटारमा बस्दै छन्। उनकी श्रीमती, छोरा र छोरी छन्।
उनी पहिले स्विमिङ पुलमा लाइफगार्ड थिए। केही समय एउटा होटलमा गाडी पनि चलाए। दुई वर्षअघि उनको दुवै जागिर गुम्यो। जागिर गुम्नुको कारण थियो, पर्याप्त समय दिन नभ्याउनु। र, जागिरमा समय दिन नभ्याउनुको कारण थियो, घरजग्गा गुमाएको मुद्दा खेप्न अदालत धाउनु।
'घर भत्काएदेखि हामी मुद्दा लडिरहेका छौं। कहिले अदालत, कहिले प्रदर्शनमा समय दिइराख्नुपर्ने भयो,' उनले नेपाल भाषामै कुराकानी गर्दै सेतोपाटीसँग भने, 'काममा समय दिन नसकेपछि एकदिन साहुले 'अब तिम्रो धेरै काम हुने रैछ, जागिर छोड्देऊ' भन्न थाले।'
अहिले उनी नेपालटारकै एउटा घरमा डेरा लिएर कस्मेटिक पसल चलाउँदै छन्। बाइपासमा आफ्नै घरमा पसल राख्दा बहाल तिर्नुपर्दैन थियो। पुर्ख्यौली घर सरकारले भत्काइदिएपछि डेराको बास भएको उनी बताउँछन्।
'अदालतको स्टेअर्डर देखाउँदा देखाउँदै हाम्रो घर भत्काइयो। स्टेअर्डरमा हाम्रो घर नछुनू, नभत्काउनू भनेर प्रस्ट लेखिएको थियो। आज आदेश आयो, भोलिपल्ट उपत्यका नगर विकास प्रधिकरणका भाइकाजी तिवारी र प्रहरीले त्यो कागज हामी पढ्न जान्दैनौं भनेर फ्याँके,' उनले भने, 'विरोध गर्नेहरू सबैलाई समाएर लगे।'
उनका छिमेकी सुमन मानन्धरले त उठिबास भएकै तनावमा तीन वर्षअघि आफ्ना बाबुसमेत गुमाए। आफ्ना बुवा हेराकाजी मानन्धर बित्नुको कारण घर भत्किएकै तानव हो भन्ने सुमनको ठम्याइ छ। ग्यास्ट्रिकका बिरामी उनी ७५ वर्षका थिए।
'मर्ने बेला धेरै सास्ती खेप्नुभयो,' सुमनले भने, 'डाक्टरहरूले हुँदैन भन्थे, उहाँ भने घिटीघिटी बाँचिरहनुभएको थियो। बाइपासकै घरमा उहाँको सास अड्केको रहेछ सायद। हामीले एकदिन घरको माटो ल्याएर उहाँको हातमा राखिदियौं, त्यसको केही बेरमै उहाँको सास गयो।'
अहिले उनी परिवारसहित तार्केश्वर नगरपालिका-८, डाँडागाउँमा बस्दै आएका छन्। उनका पनि श्रीमती र छोरा-छोरी छन्। उनीहरू त्यहीँ खाजाघर चलाउँदै छन्।
'यो हामीलाई मात्र परेको दु:ख होइन, भोलि जसलाई पनि पर्न सक्छ,' उनले भने, 'न्याय नपाएसम्म चुप लागेर बस्दैनौं।'
'विकासका नाममा ज्यादती'
जोरपाटीकी मोनिका लिम्बू सडक विस्तारकी पीडित होइनन्। उनी बाइपाससहित उपत्यकाभरिका सडक-पीडितको आवाजमा ऐक्यबद्धता जनाउन माइतीघर आएकी हुन्।
'राज्यको विकासले अहिलेसम्म त मेरो घरखेत लगेको छैन, तर सरकारको रवैया हेर्दा त्यो दिन टाढा छैन,' उनले भनिन्।
उनले यो पनि भनिन्, 'यो सडक विस्तारका नाममा भएको ज्यादतीको मुद्दा मात्र होइन। यो जनजातिहरूको पहिचान र मातृभाषामाथि हुँदै आएको अतिक्रमणको मुद्दा पनि हो। म तिनै जनजातीय संस्कृति र मातृभाषामाथि भइरहेको प्रहारविरूद्ध यहाँ आएकी हुँ।'
गत बुधबार बालाजु बाइपासको प्रदर्शन क्रममा प्रहरीले स्थानीयलाई पक्रेर लैजाँदा मोनिकाका साथीको क्यामरा पनि खोसेको थियो। मोनिकाले यो आन्दोलनबारे सामाजिक सञ्जालबाट थाहा पाइन्। आफ्नो साथी आन्दोलनमा आबद्ध छन् भन्ने थाहा पाएपछि उनले हुटहुटी थाम्न सकिनन्।
'उहाँको केही गल्ती थिएन। प्रहरीले अभियन्ताहरू पक्राउ गर्दा उहाँ फोटो खिच्दै हुनुहुन्थ्यो। प्रहरीले त्यत्तिकैमा क्यामरा खोस्यो। अहिले त उहाँको क्यामरा फर्काइसक्यो, तर के एउटा नागरिकले सडक प्रदर्शन र प्रहरी दमनको फोटो खिच्न पनि नपाउने? कस्तो ज्यादती हो यो?' मोनिकाले प्रश्न गरिन्।
कुनै पनि सडक विस्तार वा विकास निर्माणका काम जनताको भलाइ निम्ति हुनुपर्ने उनको भनाइ छ।
'जुन विकासले जनताको घरखेत खान्छ र उठिबास लगाउँछ, त्यो विकास होइन,' उनले भनिन्, 'उपत्यकाका धेरै ठाउँमा स्थानीयको सहमतिबेगर काम भएका छन्। सर्वोच्चले काम रोक्नू भन्दाभन्दै जबर्जस्ती डोजर चलाइएको छ। सरकार आफैं कानुन मान्दैन भने अरू कसले मान्छ?'
प्रहरी कार्यालयमा नेपाल भाषा बोलेकै कारण सुमन सायमि पक्राउ परेकामा पनि उनले विरोध गरिन्।
'हामीले मातृभाषा बोल्न नपाउनु भनेको पनि प्रतिगमन हो। म पनि एउटी जनजाति हुँ। आज नेवा समुदायमाथि दमन भएको छ, भोलि हामीमाथि पनि हुनसक्छ,' उनले भनिन्।
'लोकतन्त्रमा पनि हाम्रो अधिकार सुनिश्चित भएन'
मध्यपुर थिमीका स्थानीय तथा उपत्यकाव्यापी पीडित संघर्ष समितिका उपाध्यक्ष महेश कारञ्जित पनि आफ्नो समूहसहित माइतीघरमा उपस्थित थिए। उनी यो आन्दोलनको सुरूआतदेखि नै सहभागी छन्।
उनले लोकतन्त्रमा सबै जातजाति, भाषाभाषीको सम्मान हुनुपर्नेमा विपरीत गतिविधि भइरहेको बताए।
'संविधानले गाँस, बास, कपासदेखि भूमि, संस्कृति र भाषाका अधिकार ग्यारेन्टी गरेको छ। संविधानमा उल्लेख भएर आइसकेकाले हामी आफ्नो अधिकार सुनिश्चित हुनेमा ढुक्क थियौं। तर, यहाँ उल्टै विकासका नाममा, सडक विस्तारका नाममा हाम्रो पहिचानमाथि निरन्तर आक्रमण भइरहेको छ। हाम्रा घरहरू भत्काइएका छन्। भूमिहरू लुटिएका छन्। हाम्रा गरिखाने व्यावसायिक थलोहरू खोसिएका छन्,' उनले भने।
मातृभाषामा बोलेकै आधारमा अभियन्ताहरूलाई झूटो मुद्दा लगाएर पक्रेकोमा पनि उनले आपत्ति जनाए।
'संविधानले मातृभाषाको ग्यारेन्टी गरिरहँदा हाम्रो भाषिक अधिकारमाथि हमला भयो। हाम्रा अगुवा सुमन सायमिले नेवा भाषामा कुरा गरेकै कारण उहाँलाई अपराधी बनाइयो। झूटो मुद्दामा हिरासतमा राखियो,' उनले भने।
उपत्यकाका विभिन्न ठाउँका सडक-पीडितको आवाज उठिरहँदा अभियन्ता सचिन शाक्यले भने चाबहिलको चिहान अतिक्रमणको मुद्दा उठाए।
'सडक विस्तारका नाममा हामीलाई सुकुम्बासी बनाइएको छ। हामीले आज पनि यो कुरा नबुझ्ने हो भने सधैंका लागि यो धर्तीबाट हराउने छौं,' उनले भने, 'चाबहिलमा मलामी लग्दा लाशसमेत खोस्ने अवस्था आयो। के हामी मलामीसमेत जान नपाउने? के यहाँ हाम्रो अस्तित्वको मूल्य छैन? यदि यो हाम्रो अस्तित्वको सवाल हो भने हामी किन बोलिरहेका छैनौं।'
यो पनि हेर्नुहोस्: