नेकपा (एमाले) केन्द्रीय कमिटी बैठकले विद्या भण्डारीको राजनीतिक पुनरागमनलाई रोकेपछि उनी पक्षधरहरूले असन्तुष्टि जनाउन थालेका छन्।
एमाले काठमाडौं जिल्ला अध्यक्ष दीपक निरौलाले पाँचौं महाधिवेशनको घटना स्मरण गराएका छन्। पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाई नै बोल्न नदिएको उनले सम्झाएका हुन्।
‘इतिहास साक्षी छ, पाँचौं महाधिवेशनमा पार्टी महासचिव मदन भण्डारीलाइ बोल्न नदिएको, यसै गरी बहुदलीय जनवादको विषय सुरू गर्दा सुरूमा साथ दिने पनि न्यून नै थिए,’ उनले भनेका छन्।
उनले सातौं महाधिवेशनपछि केपी ओलीले उपत्यका छाडेको थाहा पाएपछि बैठक बस्ने गरेकोसमेत बताएका छन्।
‘केपी ओलीले उपत्यका छाडेपछि बैठक बस्ने विगत पनि भोगेकै हो। केपी ओलीलाई मातहतमा नबोलाउन निर्देशन गरेर आन्दोलन रोकिएन। यसैको पृष्ठभूमिमा अघि बढेको एमाले हो,’ उनले भनेका छन्।
त्यस्तै केन्द्रीय सदस्य सरिता न्यौपानेले पनि प्रतीकात्मक हिसाबले विद्या भण्डारीलाई मात्रै परेको नठान्न भनेकी छन्।
‘कसैकसैलाई लागेको होला आज उसलाई पो भनेको त! आफूलाई पर्दा थाहा होला! गएर पिर बिसाउने ठाउँ पनि नपाउँदा,’ उनले भनेकी छिन्।
एमाले केन्द्रीय कमिटीको नवौं बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई दल विशेषको सदस्य भएर राजनीतिमा सक्रिय हुनु उपयुक्त नहुने भन्दै सदस्यता नवीकरण रोक्ने निर्णय गरेको थियो। एमालेले नवीकरण मात्र होइन कि कुनै पनि दलमा आबद्ध भएर कार्यकर्ता वा नेता हुने विषय नै संविधानको भावना र मर्मविपरीत हुने केन्द्रीय कमिटीले निष्कर्ष निकालेको थियो।
यो मतको विपक्षमा उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे, युवराज ज्ञवाली र स्थायी कमिटी सदस्य कर्ण थापाले फरक मत राखेका थिए।
पाण्डे र ज्ञवालीले बैठकमै असहमति राखेका थिए। थापालाई बोल्न रोक लगाइएको थियो।