लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकार प्रदेश प्रहरी ऐन निर्माणको प्रक्रियामा रहेको बताएका छन्।
संघीयताको मर्म र ढांचा अनुरुप प्रहरी संगठनलाई पनि बिस्तार गर्नुपर्ने भएकोले प्रदेश प्रहरी ऐन निर्माण गर्नुपर्ने बताए।
६५ औं प्रहरी दिवसको अवसरमा लुम्बिनी प्रदेश प्रहरी कार्यालयले बुटवलमा आयोजना गरेको कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रदेश प्रहरी ऐन बनाउँदा प्रहरी संगठनको सहयोग आवश्यक रहेको बताए। उनले सम्बन्धित क्षेत्रसँगको छलफल र सुझावको आधारमा बनाइने ऐन कानुन कार्यान्वयनमा सजिलो हुने भएकोले प्रहरी संगठनको सहयोग आवश्यक रहेको बताए।
मुख्यमन्त्री पोखरेलले अपराध नियन्त्रणसँगै सडक सुरक्षा, प्राकृतिक विपत्ति, लागुऔषध दुब्र्यसन नियन्त्रण तथा पछिल्लो समय कोभिड १९ को नियन्त्रण तथा राहत वितरणमा समेत प्रहरीको सक्रियता प्रसंसनीय रहेको उल्लेख गर्दै नागरिक सचेतनाका कार्यमा प्रहरीको अग्ररता आवश्यक रहेको बताए।
उनले देश र जनताको सेवामा खटिएकै बखत जीवन बलिदानी गर्ने अमर प्रहरीको योगदानकै कारण प्रहरी संगठन जनताको विश्वासिलो साथी बन्न पुगेको र यो विश्वासलाई बचाउने दायित्व पनि प्रहरी संगठनकै रहेको बताए।
उनले लागुऔषध दुव्र्यसन र सडक दुर्घटनाबाट हुने क्षति ठूलो रहेको भन्दै त्यसको नियन्त्रणका लागि योजना बनाएर लाग्नुपर्ने बताए।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायब महानिरीक्षक रविन्द्र धानुकले प्रविधिको विकाससँगै अपराधका प्रकृति पनि फेरिएको उल्लेख गरे। प्रहरी संगठन पनि प्रविधियुक्त बन्न जरुरी रहेको उनले बताए।
धानुकले एक दुई जना गैरव्यवसायीक प्रहरीको कृयाकलापका कारण ६५ वर्ष पुरानो प्रहरी संगठनको बदनाम हुने अवस्था आउन नदिन त्यस्ता प्रहरीप्रति निर्मतापुर्वक लाग्ने समेत बताए।
उनले चाडपर्वको समयमा हुन सक्ने सम्भावित दुर्घटना तथा अपराधिक क्रियाकलाप नियन्त्रण र कोभिड नियन्त्रणको अभियानमा अझै सक्रियता आवश्यक रहेको बताए।
कार्यक्रममा एकवर्षको अवधिमा लुम्बिनी प्रदेशमा कार्यरत रहेका बेला विभिन्न कारणले मृत्युवरण भएका १२ जना प्रहरीका परिवारलाई कदरपत्र प्रदान गरिएको थियो।