प्रदेश नम्बर ५ नेकपा संसदीय दलले सोमबार बिहान बोलाएको बैठकमा मुख्यमन्त्री शंकर पोखरेल नै उपस्थित भएका छैनन्।
प्रदेशका मन्त्रीहरू पनि बैठकका लागि संसदीय दलको कार्यालयमा अहिलेसम्म पुगेका छैनन्।
नेकपाका ६१ जना सांसदमध्ये २० सांसद मात्रै संसदीय दलको कार्यालयमा छन्।
सबै सांसद नआएकोले बैठक सुरू भएको छैन।
संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल पनि बैठक स्थलमा गएका छैनन्।
बिहान ७ बजेका लागि बोलाइएको बैठक साढे ९ बजेसम्म सुरू भएको छैन।
नेकपा सांसद भोजप्रसाद श्रेष्ठले बन्द कोठाभित्र छलफल गरेर प्रदेशको स्थायी राजधानी तोक्न नहुने बताए।
उनी रूपन्देहीका सांसद हुन्। रूपन्देहीबाट दाङमा प्रदेश राजधानी सार्ने प्रस्तावविरूद्ध नेकपाका १४ सांसद छन्।
प्रदेशसभा बैठक आज १२ बजे बस्दैछ। उक्त बैठकमा प्रदेशको स्थायी राजधानीबारे दर्ता भएको प्रस्तावमाथि छलफल हुनेछ।
विपक्षी दल नेपाली कांग्रेसले बिहान १० बजेदेखि प्रदेशसभा भवन अगाडि धर्ना तथा प्रदर्शन गर्ने जनाएको छ।