प्रदेश ५ सरकारले प्रदेश राजधानी दाङको देउखुरी क्षेत्रमा कायम गर्न प्रदेश सभामा प्रस्ताव पेश गरेपछि रुपन्देहीका संघसंस्था आन्दोलित भएका छन्।
शनिबारदेखि आन्दोलनको घोषणा गरेका रूपन्देहीका तीन दर्जन बढी पेशागत तथा व्यावसायिक संघसंस्थाको साझा सञ्जालले आइतबार बुटवलमा प्रदर्शन गरेको छ।
स्थानीय प्रशासनले लगाएको निषेधाज्ञाका बावजुद् सञ्जालले प्रदर्शन गरेको हो।
राजमार्ग चौराहदेखि सुरू भएको प्रदर्शन मुख्यमन्त्री निवास रहेको मिलनचोक, अस्पताल लाइन हुँदै ट्राफिक चोकमा पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालाई सम्बोधन गर्दै उद्योगी व्यवसायीले प्रदेश राजधानी रूपन्देहीबाट अन्यत्र लैजान गरिएको प्रस्ताव फिर्ता लिन आग्रह गरे।
नेपाल उद्योग परिसंघ सिएनआईका प्रदेश संयोजक एजाज आलमले रुपन्देहीबाट निर्वाचित सांसदहरूलाई आफ्नो राजनीतिक धरातल हेरेर निर्णय गर्न चेतावनी दिए।
अहिले पार्टीको ह्वीप नमान्दा पार्टीले कारबाही गर्ने डर मान्ने नेताहरूलाई जीवनभर जनताले कारबाही गरिरहने चेतावनी दिए।
‘अहिले पार्टीले लगाएको ह्वीप मान्दा अरू निर्वाचनमा पार्टीले त तपाईंहरूलाई टिकट देला तर जनताले तपाईंहरूलाई भोट दिने छैनन्, जनताले कारबाही गर्ने छन्,’ उनले भने।
नेपाल चेम्बर अफ कमर्सका केन्द्रीय सदस्य टंकप्रसाद पोखरेलले आजको नभई भोलिको राजनीति भविष्य हेरेर निर्णय गर्न यस क्षेत्रका सांसदलाई आग्रह गरे।
यो क्षेत्रको सांसदले यस क्षेत्रको जनभावनाविपरीत निर्णय गरे जीवनभर पछुताउनु पर्ने बताए।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खेम हमालले अस्थायी राजधानी बनेपछि आफ्ना भौतिक सम्पत्ति सुम्पिएर आश्रय दिएका रूपन्देहीका संघसंस्थामाथि सरकार र सत्तासीन दल नेकपाले धोका दिएको बताए।
उनले मुख्यमन्त्री शंकर पोखरेललाई रूपन्देहीका संघसंस्थाका भवन तत्काल खाली गर्न पनि चुनौती दिए।
‘रूपन्देहीमा रहेको अस्थायी राजधानीलाई दाङ लैजाने निर्णय गर्नुभएका मुख्यमन्त्रीज्यू हिम्मत छ भने भोलिदेखि नै हाम्रा भवन खाली गरिदिनुस्,’ उनले भने।
पश्चिम नेपाल बस व्यवसायी प्रालिका अध्यक्ष दधिराम खरेलले राजधानीको विषयलाई लिएर रूपन्देहीलाई नजिस्काउन सरकारलाई चेतावनी दिए।
०३५-३६ सालको पञ्चायत विरोधी आन्दोलनसँगै २०४६, २०६२, २०७२ साललगायत हरेक राष्ट्रिय राजनीतिक परिवर्तनको आन्दोलनको जग रूपन्देही रहेको स्मरण गर्दै रूपन्देहीलाई नजिस्काउन चेतावनी दिए।
रूपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनीले रूपन्देहीबाट दाङ राजधानी लैजान गरिने हरेक प्रयासविरूद्ध रूपन्देहीका संघसंस्था एकजुट भएर उभिने भन्दै सरकार र सरकारमा रहेको नेकपाले त्यस्तो प्रयत्न गरे त्यो भारी पर्ने बताए।
यस्तै प्रमुख प्रतीपक्ष दल नेपाली कांग्रेसले पनि बिहानैदेखि रूपन्देही बन्दको प्रभाव परेको छ। नेपाली कांग्रेसका कार्यकर्ता सडकमा बसेर आवागमन अवरूद्ध गरेका छन्। बुटवलसँगै भैरहवा, मणिग्राम, देवदह, सैनामैनालगायत क्षेत्रमा बन्दको पूर्ण रूपमा प्रभाव परेको छ।
प्रदेशको नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ प्रस्ताव गरेपछि राजधानीको विषयलाई लिएर बुटवलमा सोही दिन नै कांग्रेस भातृ संगठन नेविसंघले आन्दोलन गर्दै टायर बालेर विरोध गरेको थियो।
शनिबार पनि प्रदेश सभा सचिवालय अगाडि नेपालगञ्ज रोड, पुष्पलाल पार्क मणिग्रामलगायत ठाउँमा टायर बालेर विरोध गरिएको छ। नेपाली कांग्रेस र व्यावसायीक संघसंस्थाले आह्वान गरेको आन्दोलनमा बुटवलका सर्वसाधारण स्वतःस्फुर्त रूपमा सहभागी रहेका थिए।
सञ्जालले दिउँसो ३ बजे पनि बुटवलमा प्रदर्शन गर्ने भन्दै उद्योगी व्यावसायी, व्यापारी, विद्यार्थी तथा विभिन्न पेशा व्यवसायमा रहेकालाई सहभागी हुन आह्वान गरेका छन्।
यता प्रदेश ५ सरकारले दाङको देउखुरी क्षेत्रलाई स्थायी राजधानी तोक्न गरेको प्रस्तावमा सहमति जुटाउन नेकपा संसदीय दलले अहिले मध्यान्न १२ बजे सर्वदलीय बैठक डाकेको छ।
नेकपाका प्रदेशसभा सदस्यहरूसँग शनिबार ५ घन्टा लामो बैठक बसेको संसदीय दलले प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै दललाई डाकेर सर्वदलीय बैठक बसाल्ने तयारीमा रहेको छ।