प्रदेश ५ सरकारमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाले दाङको भालुवाङमा प्रदेशको राजधानी बनाउने सरकारको प्रस्तावलाई पास गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारले शुक्रबार दाङको भालुवाङलाई प्रदेश ५ को स्थायी राजधानी बनाउने निर्णय गर्दै प्रदेशसभामा प्रस्ताव पेश गरेको थियो।
सरकारको सोही प्रस्तावको पक्षमा मतदान गर्न शनिबार ५ घण्टा लामो बसेको नेकपा संसदीय दलको बैठकले उक्त निर्णय गरेको हो।
शनिबार बिहान ८ बजेदेखि १ बजेसम्म मुख्यमन्त्री निवासमा बसेको बैठकले प्रदेशसभामा निर्वाचित नेकपाका सबै सदस्यहरूले पार्टी र सरकारले गरेको प्रस्तावमा मतदान गर्न निर्देशन गरेको नेकपाका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए।
प्रदेश ५ को स्थायी राजधानी दाङको राप्ती र गढवा तथा अर्घाखाँचीको शितगंगासँग जोडिएको देउखुरी क्षेत्र र नाम लुम्बिनी राख्न सरकारले गरेको प्रस्तावको पक्षमा मतदान गर्न निर्देशन दिइएको उनले बताए।
‘सरकारले गरेको प्रस्तावको पक्षमा मतदान गर्नु पार्टीका सांसदहरूको जिम्मेवारी हो, पार्टीको ह्विप लगाएर भए पनि सरकारको प्रस्तावलाई पास गराउनु पर्छ,’ उनले भने।
बैठकमा सहभागी साविक लुम्बिनी अञ्चलका सांसदहरूले भने बुटवल राजधानीलाई निरन्तरता दिनुपर्ने बताएका थिए।
बैठकमा सहभागी सांसदहरूले प्रस्तावमाथि छलफल गरेर आफ्ना भनाइ राखे पनि अन्ततः निर्णयको तहमा जाँदा सरकारले प्रस्तुत गरेको प्रस्तावमा मतदान गर्ने निर्णय गरेको सचेतक ढकालको भनाइ छ।
छलफलमा सहभागी सांसदहरूले आफ्ना भनाइ राखेपछि मुख्यमन्त्री शंकर पोखरेलले बैठकमा उठेका विषयलाई सम्बोधन गर्दै पार्टीको निर्णय र प्रदेश सरकारले पेश गरेको प्रस्तावमा मतदान गर्न आग्रह गरेका थिए।
मतदान गर्न नचाहने सांसदहरूलाई समेत ह्विप लगाएरै भए पनि प्रस्ताव पास गर्नका लागि मुख्यमन्त्री पोखरेलले सांसदलाई निर्देशन समेत दिएका छन्।
बैठकमा सभामुख पूर्णबहादुर घर्ती र दाङकी सांसद विमला वलीबाहेक अरु सबैको उपस्थिति थियो।
बैठकमा सहभागी प्रदेश सरकारका प्रवक्ता समेत रहेका बैजनाथ चौधरीले लुम्बिनी क्षेत्रका सांसदहरूले बुटवललाई नै राजधानी निरन्तरता दिनुपर्ने छलफलका क्रममा बताएको जनाए।
उनले स्थायी राजधानी दाङ भालुवाङको प्रस्तावमाथि आपत्ति समेत रहेको बताए।
अन्य प्रदेशका अस्थायी राजधानीलाई स्थायी राजधानी बनाइरहेकोमा प्रदेश ५ मा मात्रै परिवर्तन गर्नु गलत भएको उनले बताए।
शुक्रबार प्रदेशसभामा पेश भएको प्रस्तावमाथि सोमबार बस्ने बैठकमा छलफल हुनेछ।
सत्तारूढ दल नेकपाले सोमबार र मंगलबार दुई दिन प्रस्तावमा छलफल गरेर मंगलबार नै प्रस्ताव पास गराउने रणनीतिमा छ। त्यसका लागि आइतबार पुन: सर्वदलीय बैठकको समेत आह्वान गरिएको प्रमुख सचेतक ढकालले बताए।
मुख्यमन्त्री शंकर पोखरेल भने सनिबार दिउँसो काठमाडौं गएका कारण सर्वदलीय बैठकमा सहभागी हुने छैनन्। सर्वदलीय बैठकले सबै दलको बीचमा साझा सहमति गराउने उद्देश्य रहेको उनले बताए।
यता, संसदीय दलको बैठकमा सहभागी रुपन्देहीका सांसद भोजप्रसाद श्रेष्ठ र कमला विश्वकर्माले आफूहरूको सुरक्षा गरिदिन मुख्यमन्त्री शंकर पोखरेललाई आग्रह गरेका छन्।
सरकारले हठात् गरी शुक्रबार गरेको राजधानीको विषयले आफूहरूमाथि असुरक्षा बढेको भन्दै सुरक्षाको प्रबन्ध गरिदिन मुख्यमन्त्री र संसदीय दललाई आग्रह गरेका हुन्।
त्यस्तै कपिलवस्तुबाट निर्वाचित सांसद धर्मलाल श्रीवास्तव, विष्णु पन्थी र दिर्घनारायण पाण्डेले कपिलवस्तुलाई राजधानी बनाउन संसदीय दललाई लिखित प्रस्ताव पेश गरेका छन्।