सडक पक्की होस् या कच्ची। सडकका बिगार्न सबैभन्दा ठूलो भूमिका पानीको हुन्छ।
पोखरा महानगरका बरिष्ठ इञ्जिनियर शारदामोहन काफ्ले भन्छन्, ‘पोखरामा धेरै पानी पर्ने भएकाले सडक पनि धेरै बिग्रन्छ।’
पोखराका सडकमा अहले खाल्डै–खाल्डा छन्। दिनहुँ परिरहने पानीले यस्ता खाल्डा देखिदैनन्, जसले दुर्घटना निम्त्याएका छन्। आकाशे पानीको भल सडकबाटै बग्ने भएकाले पनि खाल्डा बढेर गएको प्राविधिक बताउँछन्।
पोखरा महानगरका मेयर मानबहादुर जिसीले चुनाव जिते सडकमा खाल्डा फेला परेको २४ घन्टाभित्र पुर्ने प्रतिवद्धता जनाएका थिए। उनले आफ्नो प्रतिवद्धता भुले। सडकका खाल्डा महिनौंसम्म पनि पुरिएनन्।
पोखराको पनि पर्यटकीय केन्द्र लेकसाइडका सडकमा खाल्डा बढ्दै गएपछि व्यवसायीले खाल्डा पुरेका छन्। व्यवसायिक घराना बाराही ग्रुपले झन्डै २ लाख रुपैयाँ खर्च गरेर लेकसाइड क्षेत्रको खाल्डा पुरेको हो। पोखराको हलनचोकदेखि शान्तिनगर, बैदामलगायतका स्थानमा जाने सडकका खाल्डा पुरेको बाराही ग्रुपका निर्देशक वैभव पौडेलले बताए।
‘सडकमा खाल्डा बढेपछि हामीले दुई दिन लगाएर पुर्यौं,’ पौडेलले सेतोपाटीलाई भने, ‘सरकारले गरेन भनेर पछि लाग्नभन्दा आफ्नो तरिकाले गर्नुपर्छ भनेर हामीले खाल्डा पुरेका हौं।’
लेकसाइड जाने बाटो र लेकसाइड भित्रका मुख्य बाटोका खाल्डा प्लास्टर गरेर पुरिसकेको छ। अब लेकसाइडका भित्री सडकको पनि खाल्डा पुर्ने योजना बनाएको निर्देशक पौडेलले बताए। आफ्नो वरिपरिका सडकका खाल्डा आफैं पुर्न अरूलाई पनि जनचेतना होस् भनेर खाल्डा पुर्ने काम गरेको उनको भनाइ छ।
पोखरा महानगरले पनि वर्षेनी सडकका खाल्डा पुर्न ठूलो बजेट खर्च गर्छ। महानगरले पुरेको ठाउँमा फेरि खाल्डा पर्छ। पानी धेरै पर्ने शहर पोखराका सडकलाई बलियो बनाउन महानगरले ‘असफाल्ड कंक्रिट’ प्रविधिमा सडक कालोपत्रे गर्ने योजना रहेको बरिष्ठ इन्जिनियर काफ्लेले बताए।
उक्त प्रविधिमा कालोपत्रे गर्दा खाल्डा नपर्ने र लागत पनि ठूलो लाग्ने उनको भनाइ छ। पोखराका मुख्य सडक असफाल्ड प्रविधिमार्फत् कालोपत्रे गर्ने गत चैतमा नै ठेक्का सम्झौता भइसकेको छ। लकडाउनका कारण तत्काल काम सुरू हुन नसकेको र अहिले कामदारको अभाव भएको काफ्लेले बताए।
पोखराका सडकमा अहिले खाल्डाखुल्डी पुर्ने कार्यक्रम पनि कामदार अभाव र दिनहुँ पानी परेकाले गर्न नसकेको उनको भनाइ छ।
‘कामदार आउँदैछन्, अब छिट्टै काम सुरू गर्छौं,’ काफ्लेले भने, ‘अहिलेलाई सडकका खाल्डा पुर्छौं, असफाल्ड प्रविधिमा कालोपत्रे गरेपछि खाल्डा पर्ने समस्या आउँदैन।’