वैशाख अन्तिम साता सत्तारुढ नेकपा भित्र विवाद बढेपछि प्रदेश-५ का मुख्यमन्त्री शंकर पोखरेल बुटवलबाट काठमाडौं आए।
राजनीतिक भेटवार्ता गरे।
प्रधानमन्त्री केपी शर्मा ओलीका विश्वासपात्र पोखरेलले नेकपाका अध्यक्षद्वय प्रचण्ड र ओलीबीच समझदारी निर्माणमा भूमिका खेले। तर पूर्व एमाले भित्रबाट उनीमाथि 'दोहोरो भूमिका खेलेको' आरोप लाग्यो।
एकातर्फ पूर्व एमाले मिल्नुपर्छ भन्ने अनि अर्कोतर्फ दुई अध्यक्ष मिल्नुपर्छ भनेर दोहोरो चरित्र देखाएको आरोप नेकपका स्थायी समिति सदस्यहरुले नै लगाए।
सेतोपाटीले यहि विषयमा नेकपाका स्थायी समिति सदस्य समेत रहेका मुख्यमन्त्री पोखरेलसँग भिडिओ कुराकानी गरेको छ -
अन्तरवार्ताका मुख्य बुँदाहरू-
- पार्टीमा बैठक माग गर्न पाइन्छ। तर नेतृत्वमा असमझदारीमा उत्पन्न भएका बेला बैठक आयोजना गर्ने कुरा समाधान भन्दा दुर्घटनातर्फ जानेमा ध्यान दिनुपर्छ।
- वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनालले प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ भनेको मैले सुनेको छैन। विभिन्न असन्तुष्टि बोकेका साथीहरुले वा अहिलेको परिस्थितिमा बदलाव आए थप जिम्मेवारी पाइन्छ भन्ने चाहाना अन्तर्गत कतिपयले साथीहरुले यस्ता कुरा गर्नु भएको छ। पार्टीलाई अफ्ठ्यारोमा पारेर आफ्ना चाहाना पुरा गर्न खोज्नु उचित हुन्न।
- राजकीय जिम्मेवारी पार्टी जिम्मेवारी होइन। पार्टी अध्यक्ष प्रधानमन्त्री हुन नपाउने भन्ने तर्क हुन्छ? सत्ताको राजनिति गर्ने अनि पार्टीको प्रमुख नेताले प्रमुख छाडेपछि मात्रै प्रधानमन्त्री हुन्छ भन्ने खालको कुरा राजनीतिक कार्यदिशासँग मेल खान्छ। यो नीतिगत रुपमा त्रुटीपूर्ण कुरा हो। प्रधानमन्त्रीले अध्यक्ष छाड्नुपर्छ भन्ने कुरा नीतिगत रुपमै गलत हो।
- अध्यक्ष एकता पक्रियाले निश्चित गरेको पद हो। यो पदलाई त्यतिञ्जेलसम्म चलाउन मिल्दैन जबसम्म हामी महाधिवेशनको प्रक्रियामा जाँदैनौँ।
- मुख्यमन्त्री पार्टीले दिएको जिम्मेवारी होइन। म सर्वसम्मत भएँ। प्रदेश-१ र बागमती प्रदेशका मुख्यमन्त्री चुनाव लडेर जितेर आउनु भएको हो। चुनाव लडेर जितेकालाई पार्टी जिम्मेवारीका रुपमा परिभाषित गर्न मिल्दैन।
- हाम्रो पार्टी जीवनमा इन्चार्जलाई मुख्य जिम्मेवारी कहिल्यै मानिएको थिएन। अध्यक्षलाई मात्रै मुख्य जिम्मेवारी मानियो। अहिलेपनि पालिकाका अध्यक्ष जिल्लाका अध्यक्ष हुनुहुन्छ। बहस मुख्यमन्त्रीको सन्दर्भमा भयो। यो बहस पद्दती भन्दा आग्रहमा आधारित भयो। तर यसका कारण पार्टी नै संकट पर्ने भयो भने त्याग गर्न जो सुकै तयार हुनुपर्छ।
- मैले दोहोरो जिम्मेवारी निर्वाह गरेको आरोप सत्य होइन। अहिले म सँग एउटा जिम्मेवारी छ त्यो भनेको पार्टीको तर्फबाट इन्चार्जको जिम्मेवारी प्राप्त गरेको छु। जो मुख्य जिम्मेवारी होइन। तर यहि कारणले पार्टी एकता समस्यामा पर्ने हो भने के गर्ने हो प्रमुख नेताहरुले निर्णय गर्दा हुन्छ।
- पूर्व एमाले भित्रको अन्तरविरोधलाई पूर्व माओवादीले प्रयोग गरेको जस्तो देखिनु राम्रो होइन भन्ने कुरा मैले प्रचण्डलाई भनेको हो। त्यो उहाँले महसुस गर्नु भएकै छ। पूर्व एमाले भित्र असमझदारी देखिए एकता अगाडि बढाउन गाह्रो हुन्छ भनेर माधव कमरेडलाई भनेकै हो। प्रचार गर्नेले कुन नियतका साथ गर्नुभयो बेग्लै कुरा हो। पूर्व समूहको अन्तरविरोधमा खेल्ने कुरा उचित होइन।