स्वास्थ्यकर्मीको डायरी-३
कोरोना संक्रमणको खतरा बढेको सुदूरपश्चिमका गाउँ र स-साना बजारमा यसको रोकथामका लागि के-कस्ता प्रयास भइरहेका छन्? हामीले यही कुरा बुझ्न प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकाका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरूसँग कुरा गरेका छौं।
कोरोना संक्रमणविरूद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीले स्थानीय जनप्रतिनिधिसँग मिलेर रोकथामको भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। स्वास्थ्य सामग्री अभाव भए पनि जे छ त्यसैबाट व्यवस्थापन गरेर अघि बढेको उनीहरूको भनाइ छ।
यस विषयमा हामी थप स्वास्थ्यकर्मीसँग निरन्तर कुराकानी गर्नेछौं। यसपालि ६ जनासँग गरेको कुराकानीको सम्पादित अंश:
भारतबाट आएकाको घर-घरै गएर पनि ज्वरो जाँचिरहेका छौं : संघर्ष कुमार धामी, इन्चार्ज सिर्स स्वास्थ्य चौकी परी गाउँ परशुरामा नगरपालिका
हाम्रो वडामा २० जनालाई राख्ने क्वारेन्टिन बनाएका छौं। कसैलाई राखिसकेको भने छैन। टोलविकास समिति बनाएका छौं। टोलका ५ जनाको समिति, २५/३० घरको एउटा समिति छ। त्योसँग अपडेट मागेका छौं। भाग्ने संभावना नभएकै त हैन तर निकै कम किनभने टोलविकास निगरानी गरिरहेको हुन्छ।
बाहिरीदेश वा भारतबाट आएकाको बेलाबेला घरघरमै पुगेर ज्वरो जाँच्ने काम भएको छ। उनीहरूलाई जाँच्दा हामीले मास्क लगाउने, ग्लोब्स् अनि स्यानिटाइजर प्रयोग गर्ने गरेका छौं। हाम्रा सुरक्षा सामग्री भनेका यिनै हुन्। गाउँटोलमा हामीले भारतबाट आएकालाई कसरी होमक्वारेन्टिनमा बस्ने भनेर सम्झायौं।
वडामा भारतबाट आएका १५० जति छन्। उनीहरूलाई आउने बेला हेल्पडेस्कले एकचरण पहिल्यै ज्वरो नापेको थियो। बीचबीचमा पनि घरै गएर पनि जाँचिरहेका छौं। भारतसँग जोडिएको नाका भएकाले उता कोरोना बढेसँगै यता हामीलाई धेरै डर हुन्छ।
बाहिरबाट आउनेहरूले अराजक गतिविधि गरे भने हामीलाई डर हुन्छ। अहिले प्रत्येक वडाले कडाइ गरेको छ। एउटाबाट अर्को वडामा जान पनि निषेध गरिएको छ। भोलि कसैलाई कोरोना लक्षण देखिइहाल्यो भने जनताले वडामा वा स्वास्थ्य चौकीमा खबर गर्छन्। हामीले त यसो हेरेर जोगबुढा अस्पतालमा पठाउने हो। वडामा त छैन तर अस्पतालका दुइटा एम्बुलेन्स छन्।
हामीलाई पिपिईको व्यवस्था भए त धेरै राम्रो हुन्थ्यो। केही दिन अघि नगरभरीको स्वास्थ्यकर्मीहरूको बैठक थियो। त्यहाँ मेयर र प्रशासकीय अधिकृत समेत हुनुहुन्थ्यो। हामीले आजसम्म त ठीक थियो। अब पिपिई नभई काम गर्न सकिन्न भनेका छौं।
मास्क ग्लोब्स, स्यानिटाइजर लगायतका सामग्री राख्न भन्यौं। मेयरले जे चाहिन्छ त्यो किन्ने हो भन्नुभएको छ। हामीले नगरभरीलाई भनेर ५ हजार मास्क, ५ कजार ग्लोब्स् र एक हजार स्यानिटाइजर अनि १ सय पिपिई मागेका छौं। भोलि या पर्सिसम्म सामान ल्याउँछन् होला।
क्वारेन्टिनमा बसेकाले झ्याउ लाग्यो, बाहिर जान देऊ नत्र भवनबाट हाम फाल्छुसम्म भने : रवि रोकया, बेलडाडी प्राथमिक स्वास्थ्य केन्द्र, बेलडाडी गाउँपालिका कञ्चनपुर
मैले यो स्वास्थ्य केन्द्रमा काम गर्न थालेको ७ महिना भयो। हामीले अहिले ज्वरो र इमर्जेन्सी सेवामात्र चलाउने भनेका छौं। कुकुरले टोकेका बिरामी आइरहेका छन्। भर्खरै मात्र पिपिईको गाउन आएको छ। त्यो पनि च्यातिने खालको छ एक पटकमात्र प्रयोग गर्न मिल्ने। थर्मल-गन एउटै मात्र छ। स्वाब संकलन गर्नका लागि कुनै किट छैन। हामीले बिरामी भेटिए दिने भनेको स्लाइन पानी मात्र हो। अक्सिजन छैन।
बेलडाँडीमा अहिले १२ जना क्वारेन्टिन छन्। एउटा क्याम्पसलाई क्वारेन्टिन बनाएका छौं। अहिलेसम्म कोरोनाको लक्षण भने कसैमा भेटिएको छैन।
यहाँ कोरोना परीक्षणको कुनै सुविधा छैन। कसैलाई लक्षण भेटियो भने सिधै सेती प्रादेशिक अस्पताल पठाउने हो। हामीले केही दिनअघि दुई जनालाई अस्पतालमा रिफर गरेका थियौं। दुई जनामा १०१ ज्वरो भेटिएको थियो। अस्पतालले होम क्वारेन्टिनमा बस्नु भनेर पठाएछ।
आसपासका क्षेत्रमा भारतबाट आएका कति छन् भनेर हेर्दा डेढ सय मानिस भेटिए। लकडाउनपछि आएका मानिसलाई क्वारेन्टिनमा राखिएको भए पनि त्यसअघि आएकाहरू गाउँमा घुलमिल भैसकेका छन्।
गाउँमा कसैलाई पोजेटिभ भेटिएको अवस्थामा लोकल ट्रान्समिसनको सम्भावना अत्यधिक छ। बाहिर सडकमा प्रहरी भए पनि भित्र गाउँको जनजीवन उस्तै छ। मान्छेहरू मान्दै नमान्ने खालका छन्।
क्वारेन्टिनमा बसेका एक जनाले झ्याउ लाग्यो, बाहिर जान देऊ नत्र भवनबाट हाम फाल्छुसम्म भनेका छन्। जनप्रतिनिधिले सम्झाउने काम गर्छन्। कतिपयले त उनीहरूलाई पनि टेर्दैनन्।
मान्छेलाई क्वारेन्टिनमा राख्नै गाह्रो : आनन्द भट्ट,मेडिकल अफिसर, बुडखोला स्वास्थ्य चौकी, दशरथचन्द नगरपालिका, बैतडी
दशरथचन्द नगरपालिकामा झण्डै २० जना अहिले क्वारेन्टिनमा छन्। उनीहरूमा कोरोनाको लक्षण भेटिएको छैन।
पिपिई सेट अभाव छ। पिपिई लगाएपछि म आफैं चार वटा क्वारेन्टिनमा पुगेर दैनिक जाँच गर्ने गर्छु। पिपिई धेरै भएको भए यस्तो दौडधुप हुने थिएन। किनभने अरूले पनि पिपिई लगाएर जाँच्न जान्थे।
स्थानीय पालिकाहरूले रोकथामका लागि जनचेतना बढाउने काममा राम्रो समन्वय गरिरहेका छन्। तर मानिसहरू लकडाउनको पालना खासै गर्दैनन्।
नगरपालिकामा लकडाउनको ठीकअघि आएका ७ हजारसम्म मान्छे छन्। यदि त्यतिबेला कोरोना संक्रमित आएका भए लोकल ट्रान्समिसनको सम्भावना धेरै छ।
होम क्वारेन्टिनमा बस्न भने पनि मान्छेहरू मान्दैनन्। छुट्टाछुट्टै बस्नुपर्छ भन्यो टेर्दैनन्। क्वारेन्टिनमा मान्छे राख्न समेत धौधौ छ। पिपिई सेट पाए पनि सबैले काम गर्न सक्थे। नगरपालिकाले जनचेतना फैलाउने काम त गरेको छ तर स्वास्थ्यकर्मीलाई सुरक्षा गर्ने काम सरकारको हो। म आफैं एउटा ठाउँबाट अर्कोमा गएर चेक गर्दा एउटा क्वारेन्टिनमा संक्रमितसँग सम्पर्क भएको अवस्थामा अन्यमा फैलने सम्भावना हुन्छ।
ज्वरोका बिरामीको अभिलेख राखेका छौं: जयबन्धु अर्याल, कालिका स्वास्थ्य चौकी, पुनर्वास नगरपालिका कञ्चनपुर
स्वास्थ्य चौकीमा दैनिक १८ देखि २० जना सेवा लिन आउँछन्। हामीले मान्छे छोएर जाँच्ने गरेका छैनौं। सोधेको भरमा मौखिक रूपमा समस्या हल गर्न खोज्छौं। सामान्य पखालादेखि ज्वरोको औषधि दिएर पठाउँछौं। ज्वरोका बिरामीको अभिलेख राखेका छौं।
हामीसँग इन्फ्रारेड थर्मल गन छैन। दुईसेट पिपिई नगरपालिकाबाट प्राप्त भएको छ। तर एउटा सुत्केरी गराउने बर्थिङ सेन्टरको नर्सिङ स्टाफलाई दिएका छौं। अर्को सरसफाइ गर्नेलाई प्रयोग गर्न दिएका छौं।
फागुन २५ बाट यतामात्र १ सय ७ जना मान्छे स्वास्थ्य चौकी भएको वडा नं १ मा भारतबाट आएका छन्। अझै पनि मान्छेहरू फाट्टफुट्ट आइरहेकै छन्। दुइटा विद्यालयको भवनमा क्वारेन्टिन बनाइएको छ।
नगरपालिकाले अरू चाहिने उपकरण किन्न खोजेको छ। तर पाइएन भन्छ। कोरोनाबारे चेतना फैलाउन उहाँहरूले काम गर्नु भएको छ। लकडाउन कार्यान्वयन गराउन पनि लाग्नु भएको छ। वडामा कोरोना रोकथामका लागि स्वयमसेविका परिचालन भैसकेका छन्। सरकारले त्यसबारे ढिलो निर्णय गर्यो। हामीले बाहिरबाट आएका मान्छेको निगरानी गर्न गाउँका क्लब र स्वयंमसेविकालाई भनेका छौं। बिरामी भेटिए सेती प्रादेशिक अस्पतालमा पठाउने हो। हामीसँग स्वाब टेस्ट गर्ने कुनै किट छैन।
होम क्वारेन्टिन प्रभावकारी छैन। प्रशासन हाइवेमा भए पनि भित्री क्षेत्रमा मानिसहरू काम गर्ने, वल्लो पल्लो घर जाने सामान्य अवस्था छ। लोकल ट्रान्समिसनको सम्भावना उच्च छ।
सरकारले टेस्ट गर्ने कुरालाई प्राथमिकतामा राखेको भए राम्रो हुन्थ्यो। क्वारेन्टिन नाम मात्रका छन्। त्यहाँभित्रै पनि कसैलाई लाग्यो भने कोरोना फैलने सम्भावना छ। लक्षण देखिएर जाँच्ने व्यवहारिक भएन। क्वारेन्टिनमा बस्नेको जाँच्न पाए सुरक्षित धेरै भइन्थ्यो। भारतसँग जोडिएकोले आवतजावत पनि पूर्णतया नियन्त्रणमा छैन।
कोरोना लुकाउन संभव छैन, वडाको च्यानलले समातिहाल्छ :
प्रेमबहादुर कठायत, मुडेगाउँ स्वास्थ्य चौकी इन्चार्ज,शिखर नगरपालिका, डोटी
अहिलेसम्म त यता कोरोनाको लक्षण देखिएका कोही पनि छैनन्। कसैगरी देखियो भने डरमर्दो अवस्था छ। किनभने ज्वरै जाँचे पनि सबभन्दा पहिले जाँच्ने हामीले नै हो। त्यसरी जाँच्नका लागि हामीसँग पिपिई छैन। मास्क छ त्यति हो। आउन त पिपिई भनेर ४/५ वटा आएका छन्। ती क्वारेन्टिनको निगरानी गर्न खटिएका स्वास्थ्यकर्मीलाई दिएका छन्। काखीमै राखेर ज्वरो नाप्ने भए पनि डिजिटल थर्ममिटर छ। हामीसँग भएको त्यति हो।
अहिलेसम्म हामीले बाहिरबाट आएका सबैको स्क्रिनिङ गरिसकेका छौं। पहिले डाटा लियौं। तिनीहरूको नाम लिस्ट तयार राखेका छौं। वडासँग मिलेर हामीले टोलटोल मै कोरोना भनेको के हो यसका लक्षण के हुन् र होमक्वारेन्टिनमा कसरी बस्ने सिकायौं, साबुन र मास्क बाँड्यौं।
हरेकको घरमा कोरोनाबारे जानकारी दिने एउटा एउटा पोष्टर टाँसेका छौं। त्यतिखेरै बाहिरबाट आएकाको ज्वरो नाप्ने काम पनि भएको थियो। कसैलाई कोरोनाका लक्षण देखिए स्वयंसेविका, नजिकको स्वास्थ्य चौकी, र जनप्रतिनिधिलाई फोन गर्नु हामीलाई पनि खबर गर्नु भनेका छौं।
लक्षण पहिचान गरेर शंकास्पद लागे नगरपालिकाले जाँच्नका लागि अस्पताल पुर्याउने काम गर्छ। यति कुराको त राम्रो तयारी छ। कोरोना लागेर लुकाउन सम्भव भने छैन। भारतबाट आएका कोही क्वारेन्टिनमा बस्ने डरले घरभित्रै लुक्ने अवस्था हुन्छ कि भन्ने हो। तर गाउँगाउँमा स्थानीय बुज्रुक पार्टीका कार्यकर्ता समेतलाई राखेर केही भए खबर गर्नु भनेको छ।
यत्रो च्यानलबाट उम्किन सम्भव नहोला। नागरिक आफैं पनि यसबारे सजग भएको मैले पाएको छु।
अस्तिताका पनि भारतबाट आएकोमध्ये एक जना बच्चा लिएर आएका थिए। बाटोमा ज्वरो र खोकी आएको थियो भन्दै थिए। हामीले जाँच्दा ठीकठाकै देखिए। हामीले होम क्वारेन्टिनमै बस्न भनेर पठायौं। मैले हरेकदिन जसो उनलाई फोन गरेर सोधिरहन्छु।
नगरपालिकाका क्वारेन्टिनमा ५५ मानिसहरूलाई राखेको पनि १४ दिन पुग्यो तर अझै ७ दिन राख्ने भन्ने रहेछ। यिनिहरूको परीक्षण गरेरमात्र पठाउने भन्ने छ। लक्षणहरू भने केही देखिएको छैन।
अहिलेसम्म त त्यस्तो डर छैन। परिआयो भने हामी केही हदसम्म त सकिहाल्छौं। तर हामीलाई कोरोनाबाट बचाउने लकडाउन बाहेक कुनै उपाय छैन।
रेनकोटलाई पिपिई बनाएका छौं: गगन चौधरी, मेडिकल अफिसर दोधरा प्राथमिक स्वास्थ्य केन्द्र, कञ्चनपुर
यो ठाउँ निकै जोखिमपूर्ण छ। १२ वटा अनौपचारिक नाका छन्। मान्छेहरू आउने जाने ठप्प भएको छैन। चाँदनी र दोधारामा १९ जना मान्छे क्वारेन्टिनमा छन्। तर ती क्वारेन्टिन पनि आश्रय स्थल जस्ता मात्र छन् ।
सबैभन्दा ठूलो समस्या पिपिईकै छ। सरकारले पठाएको पिपिई डिस्पोजेबल रहेछ। एकपटक प्रयोग गरेपनि पुन: प्रयोग गर्न निमल्ने।
हामीले रेनकोटलाई पिपिई बनाएका छौं। थाहा छैन कति सुरक्षित छ। त्यसको बाहिरपट्टि प्लास्टिक प्रयोग गर्छौं। रेनकोटलाई स्ट्रेरलाइजबाट पुन: प्रयोग गरेको छौं।
वडामा महिला स्वास्थ्य स्वयंमसेविका परिचालन भैसकेका छन्। हामीले स्वास्थ्य केन्द्रबाट मोबाइल हेल्थ टिम परिचालन गरेर ठाउँठाउँमा पुगेर ज्वरो नाप्ने गरेका छौं।
स्वास्थ्य संस्थामा बिरामी आउने घटेका छैनन्। दैनिक १ सय २५ जनासम्म बिरामी आउँछन्। हामीले प्रहरी परिचालन गरेर छुट्टाछुट्टै टिम बनाएर जाँच्ने काम गरिरहेका छौं। त्यस्तोमा पनि कोही कोरोना संक्रमित भेटिए सर्ने सम्भावना भने छ। स्थानीय मान्छेहरूमा बुझ्ने मान्छे कम छन्। ज्वरो नाप्ने इन्फ्रारेड थर्मोमिटर भने नगरपालिकाले ल्याएको छ। हामीले घरमै बसेर स्वास्थ्य सल्लाह दिन हेल्पलाइन समेत सञ्चालन गरेका छौं।
स्वाब टेस्टका लागि जम्मा गर्ने किट छैनन्। कतार एयरवेजबाट आएका एकमा कोरोना देखिएपछि सरकारले कन्ट्याक्ट ट्रेसिङ अगाडि बढाएको थियो। महाकाली अस्पतालबाट प्राविधिक आएर स्वाब टेस्ट गर्न लगेका थिए।
भारतबाट आएका व्यक्तिमा कोरोना भएको भए फैलने सम्भावना व्यापक छ। मान्छेहरू अचम्मका छन्। धेरै मान्छे अरूलाई सिकाउने छन् तर आफू पालना नगर्ने गर्छन्। लकडाउन भए पनि जनप्रतिनिधिका नातेदारलाई लकडाउनले नछुने रहेछ। उहाँहरू डुलिरहनु हुन्छ।
लकडाउन व्यवस्थित हुन सकेको छैन। अहिलेसम्म भारतबाट आएकाहरूमा पनि लक्षण देखिएको छैन। तर मान्छेहरू छिर्ने ठाउँ धेरै छ। एक सय सुरक्षाकर्मीले २४ सै घण्टा ४५ वर्गकिलोमिटर क्षेत्र निगरानी सम्भव नुहने रहेछ। स्वास्थ्यकर्मी जोखिममा छन्। रेनकोट र प्लास्टिकले कति धान्छ थाहा छैन।
भारतबाट आएकालाई दिनदिनै फोन गर्छु : खलंगा स्वास्थ्यचौकी इन्चार्ज सिअहेव केशरसिंह बुढाथोकी महाकाली नगरपालिका दार्चुला
बजारबाट ६ किलोमिटर हिँडेर हाम्रो यो वडा नम्बर ३ खलङ्गामा पुगिन्छ। म उतै बजारमा बस्छु। हिँडेरै आउने हो। बिहान ८ बजे हिँडेको १० बजे पुगिन्छ। यहाँ हामीले कोरोना संक्रमण रोक्न त्यसको स्क्रिनिङ गर्ने काम गरिरहेका छौं। बाहिरबाट आएकाको डाटा लिइसक्यौं। १६ जना छन्। उनीहरू आएको पनि १४ दिन भन्दा बढी भैसक्यो।
मैले नै उनीहरूलाई दिनदिनै फोन गरेर सन्चो विसन्चो सोध्ने गरेको छु। अरू सहकर्मीलाई लगाएको छैन आफैंले गरेको छु यो काम। सुरूमै आउँदा उनीहरूलाई हेल्पडेस्कले सीमामा जाँचेको थियो। हामीले जाँचेका छैनौं निरन्तर निगरानी भने गरिरहेका छौं। अहिलेसम्म कसैलाई केही लक्षण देखिएको छैन।
लक्षण देखिएर लुकाउन संभवना हुन्न किन भने वडा अध्यक्ष गाउँभरी घुमिराख्नुभएको हुन्छ। त्यसबाहेक हामीले कोरोना निगरानी गर्ने समिति गठन गरेका छौं। वडाअध्यक्ष समितिको अध्यक्ष हुनुहुन्छ। उहाँले विभिन्न टोलका समितिहरूको नेतृत्व गर्ने हो।
१०/१५ घरको एउटा निगरानी समूह छ स्थानीय शिक्षक, क्लब अध्यक्ष, आमा समूह,स्वयं सेविका छन्। उनीहरूले आफ्नो ठाउँमा निगरानी राख्छन् जसले गर्दा कसैले चाहेर पनि कोरोना रोग लुकाएर राख्न सम्भव नहोला।यस्तो समूह बनाउनु भन्ने परिपत्र नगरपालिकाबाट आएको थियो।
स्रोत साधन त केही छैन। मास्क छ, क्वालिटी नभए पनि नमूना। डिजिटल तर काखीमै राखेर ज्वरो नाप्ने मेसिन हामीसँग छ। खासमा हामीले यो संक्रमणबारे जानकारी र प्रचारप्रसारमात्र गर्ने हो। हामीले उपचार गर्न सक्दैनौं। पिपिई नभई त जाँच्न जान्छु भन्ने कुरा पनि हुन्न।
हाम्रो वडामा कसैलाई लक्षण देखिए वडा र नगरपालिकालाई खबर गर्ने हो। यहाँसम्म मोटरबाटो आइपुगेको छैन त्यसैले सिकिस्त बिरामी परे स्ट्रेचरमा मोटरबाटोसम्म लग्ने त्यहाँबाट एम्बुलेन्सले लैजान्छ। जिल्ला अस्पताल नगरपालिकाभित्रै भएकाले त्यति धेरै गाह्रो नहोला।
पहिलेदेखि नै बाहिरबाट आउनेहरूलाई क्वारेन्टिनमा राखेको भए हुन्थ्यो भन्ने मलाई लाग्छ। अहिलेसम्म कसैलाई लक्षण नदेखिएकाले अब केही हुन्न भनेजस्तो लाग्छ तर फेरि कसैलाई देखिन्छ कि भन्ने डर पनि छ।
यो पनि पढ्नुस् :
'सुरक्षा भनेकै साबुन भएको छ'