स्वास्थ्यकर्मीको डायरी-२
कोरोना संक्रमणको खतरा बढेको सुदूरपश्चिमका गाउँ र स-साना बजारमा यसको रोकथामका लागि के-कस्ता प्रयास भइरहेका छन्? हामीले यही कुरा बुझ्न प्रदेशका विभिन्न गाउँपालिका र नगरपालिकाका स्वास्थ्य चौकीमा काम गर्ने स्वास्थ्यकर्मीहरूसँग कुरा गरेका छौं।
कोरोना संक्रमणविरूद्ध अग्रपंक्तिमा रहेर काम गरिरहेका स्वास्थ्यकर्मीले स्थानीय जनप्रतिनिधिसँग मिलेर रोकथामको भरमग्दुर प्रयास गरिरहेको बताएका छन्। स्वास्थ्य सामग्री अभाव भए पनि जे छ त्यसैबाट व्यवस्थापन गरेर अघि बढेको उनीहरूको भनाइ छ।
यस विषयमा हामी थप स्वास्थ्यकर्मीसँग निरन्तर कुराकानी गर्नेछौं। यसपालि चार जनासँग गरेको कुराकानीको सम्पादित अंश:
सासुले तिमीहरूको जागिरै यस्तै छ जाऊ भन्नुहुन्छ र सजिलो भएको छ: विनिता बडु
एचए, धौला स्वास्थ्यचौकी व्याँस-५ दार्चुला
लक डाउन भएको पनि एक हप्तापछि हाम्रो गाउँपालिकामा भारतबाट मानिसहरू महाकाली तरेरै आए। त्यतिबेला म घरमै थिएँ। लौ यी मानिसहरूको ज्वरो नाप्न आउनु पर्यो भनेर खबर आयो।
गरिरहेको काम बीचैमा छोड्न पनि अप्ठेरो। सासुआमाले भन्नुभो-तिमीले जागिरै त्यस्तो खाया छौं जाऊ। म ढुक्क भएर गएँ। मास्क, पञ्जा जे-जे छ त्यही लगाएर जाँचें। १५/२० जना मानिस थिए धेरै त अरू जिल्लाका थिए। ज्वरो नापेर उनीहरूलाई आ-आफ्ना घर पठाइदियौं। एकहप्ता भयो। त्यो बेला त उनीहरूलाई केही भएको थिएन। मलाई भने सम्झेर अहिले डर लागिरहन्छ उहाँहरूमध्ये कसैलाई कोरोना देखियो भने त आफूलाई पनि हुन्छ। म त एक्लै छैन परिवारसँग बस्छु। कोरोना लागिहाल्यो भने उनीहरूको के होला भन्ने डर भइरहन्छ।
सिमानामा भएकाले यति डर भने हामीलाई हुन्छ। तर कोरोना संक्रमण रोक्न हामीले सक्दो तयारी गरिरहेका छौं। वडाअध्यक्षको संयोजकत्वमा यहाँ टोलटोलका समिति छन्। ती समितिले टोलटोलमा गएर कोरोनाबारे छलफल गर्छन्। हामी स्वास्थ्यकर्मी पनि जान्छौं।
बिरामी पनि जाँचेकै छौं। इमर्जेन्सी परेरबाहेक नआउनु भन्ने सूचना त दिएका छौं तर आउनुभयो भने फर्काउँदैनौं जाँचेरै पठाउँछौं।
भारतबाट आएका मानिसहरू छन्। लक डाउनभन्दा पहिले आएकालाई अहिलेसम्म खासै केही छैन हामीले चेक गरेका थियौं। एक-दुई जनालाई ज्वरो देखिएको थियो तर भाइरल रहेछ सन्चो भयो। लक डाउनको बेला छ उहाँहरूलाई सन्चो नभएपछि बोलाउनु भयो हामी आफैं घरमै गएर जाँचेका थियौं। कोरोनाको बेलामात्र होइन अरूबेला पनि हामीले घरमा गएर जाँच्छौं। जो आउन सक्नुहुन्न उहाँहरूलाई जाँच्ने हामीबाहेक कोही छैन। दिनरात जतिखेर पनि हामी बिरामी जाँच्न तयार हुनैपर्छ। आज गाउँपालिकाले पिपिई पठाइदिन्छौं भनेको छ त्यसपछि भने यति डर नहोला।
भारतबाट आएकाहरूलाई निगरानी पनि टोलटोलका समितिले नै गर्छन्। कसैलाई ज्वरो आइहाल्यो भने त्यही समितिले भेटिहाल्छ र हामीकहाँ पठाउँछ। भोलि कसैगरी कोरोना संक्रमण भए यसरी नै काम हुन्छ। टोलले वडाअध्यक्षलाई हामीलाई खबर गर्छ अनि हामीले लक्षण पहिचान गर्छौं त्यसपछि वडाले स्ट्रेचरबाट सडकसम्म बिरामी ल्याउने र गाउँपालिकाले दार्चुला अस्पतालसम्म लैजाने व्यवस्था गरेका छन्। गाउँपालिकाले कोरोनाकै लागि भनेर एउटा जीप भाडामा लिएको छ। त्यो जीप अहिले कोरोनाबारे जानकारीमूलक माइकिङ गरिरहेको छ। कहिलेकाहिँ आपतमा परेका बिरामीलाई अस्पताल वा सदरमुकामसम्मै लाने गर्छ।
अहिलेसम्म त हामीले यसरी नै काम गरेका छौं। कोरोना संक्रमण भयो भने यसले कति धान्छ थाहा छैन। हामीले पनि सकेसम्म त गरौंला भनेर तयारी अवस्थामा बसेका छौं।
साबुनमात्र हाम्रो सुरक्षा हो, स्वास्थ्यसेवामा भएकाले कर्तव्य सम्झेर काम गरिरहेका छौं : दीपकराज ओझा
सिअहेव, महुवा नगरदह स्वास्थ्य चौकी, आदर्श गाउँपालिका, डोटी
सरकारले निर्णय गरेअनुसार गाउँमा हामीले पनि सिकिस्त बिरामीलाई मात्रै स्वास्थ्य चौकी आउनु भनेका छौं। गाउपालिकाको केन्द्रमा हाम्रो स्वास्थ्य चौकी छ। अझैपनि बिरामीहरू आइरहन्छन्। हात काटेर कोही आयो भने नछोइ उपचार हुन्न। आएकालाई सकेसम्म टाढैबाट हेरे उपचार गर्छौं। यो निकै गाह्रो कुरा हो। त्यही पनि हामीले बिरामीलाई पहिले हात धोएर आउनु भन्छौं उनीहरूको उपचारपछि हामीले पनि साबुन पानीले हात धुन्छौं।
फिवर क्लिनिक खोलेको छौं। तर पिपिई छैन। ज्वरो आएकालाई जाँच्न हामीलाई डर लाग्छ। सर्जिकल मास्क पनि छैन, बेलाबेला स्यानिटाइजर लगाउँछौं, बढी त साबुन पानीले नै हात धोइरहेको छौं।
हाम्रो वडामा क्वारेन्टाइनमा ७५ जना जति बसेका छन्। डाक्टरसहित ५-६ जना स्वास्थ्यकर्मीले निगरानी गरेका छन्। लकडाउनभन्दा अघि आएकालाई भने केही गरेको छैन। गाउँपालिकाको एउटा समिति छ, त्यसले टोली खटाएर गाउँगाउँमा कोरोनाबारे जानकारी दिएको छ। गाउँपालिकाले साबुन पनि बाँडेको।
वडामा बाहिरबाट आएकालाई स्क्रिनिङ गर्नु भन्ने माथिबाट कुनै निर्देशन थिएन। तर यहाँ कोरोनाको लक्षण देखिएर घरभित्रै बस्न त सम्भव छैन। वरिपरिका मानिसले भनिहाल्छन्।
अस्ति भर्खर एकजना बालकलाई ज्वरो आएको भनेर हाम्रै वडाको एउटा गाउँबाट स्वयंसेविकाले फोन गर्नुभयो। हामी गएर जाँच्यौं। सामान्य ज्वरो रहेछ पछि निको भयो। यसरी नै खबर हुन्छ तर निगरानी गर्ने औपचारिक च्यानल भने छैन। स्वयंसेवीलाई परिचालन गर्ने भन्ने निर्णय छ नि यो निकै प्रभावकारी हुनेछ।
लक्षण देखियो भने पहिले आइसोलेसनमा पठाउने र त्यसपछि गाडीमा राखेर सदरमुकाम पठाउने व्यवस्था गाउँपालिकाले गरेको छ। तर गाउँपालिकाको आफ्नै एम्बुलेन्स छैन। एउटा जीप भाडामा लिएको त्यसैमा बिरामी ओसार्ने भन्ने छ। अरू वडाबाट यहाँ आइसोलेसन भएको ठाउँसम्म ल्याउन पनि त्यही गाडी प्रयोग गर्छन्।
आजसम्म कसैलाई कोरोना भाइरस देखिएको छैन। देखियो भने हामीले कोरोनाका बिरामी हेर्न सक्ने स्थिति नै छैन, कपडाको मास्कसमेत पर्याप्त नभएको ठाउँ छ। पिपिई भए पो बिरामीको नजिक जान सकिन्थ्यो। हामी त स्वास्थ्यमा जागिर खाएकैले कर्तव्य सम्झेर काम गरिरहेका छौं अहिलेसम्म। कोरोना फैलिइहाल्यो भने के गर्ने होला सम्झेरै डर लाग्छ।
तीन हप्तादेखि घर गएका छैनौं : पुष्प गिरी
हेल्थ एसिस्टेन्ट, बाजुरा-देवसिङ स्वास्थ्यचौकी
तीन हप्तादेखि हेल्थ डेस्कमा खटिएका छौं। घर जाँदैनौं। यहीँ बजारको होटल क्वारेन्टाइनमा बसेका छौं। हामी दुई जना स्वास्थ्यकर्मी छौं।
सुरूमा त मास्क र पञ्जा लगाएरमात्र काम गरियो। अहिले एउटा पिपिई दिएको छ। एउटै पिपिई लगाएर काम गर्छौं। एन-९५ मास्क छैन। थर्मल गन भएर अलिकति सजिलो भएको छ।
कोही शंकास्पद बिरामी भयो भने वडाअध्यक्षलाई फोन गरेर क्वारेन्टाइनमा पठाउँछौं।
आवश्यक पिपिई नभएकाले हामी जोखिममै छौं भन्ने महशुस भइरहन्छ। सँगै काम गर्ने एकजना स्वास्थ्यकर्मीलाई त आमाले काम छोडेर घर बोलाउनुभयो। आफू सुरक्षित छु केही हुन्न भनेर आमालाई उहाँले सम्झाउनु भएको छ।
जोखिम छ तर पनि काम गरिरहेका छौं। पिपिईलगायत सुरक्षित सामग्री भए अझैं खटेर काम गर्थ्यौं। मनमा डर हुँदैन थियो।
मान्छेहरू प्राय सतर्क नै हुनुहुन्छ। जाँच गर्न आइरहनुभएको छ। समुदायमा जोखिम भनेको बाहिरबाट आएकाले बढाएका हुन्। तर उहाँहरूमा अहिलेसम्म त्यस्तो लक्षण देखिएको छैन। देखियो भने नियन्त्रण गर्न गाह्रो हुन्छ। स्थानीय सरकार पनि खटिरहेकाले हामीलाई काम गर्न सजिलो भएको छ। हामी वडाअध्यक्षसँग प्रत्यक्ष सम्पर्कमा रहेर काम गरेका छौं। केही पर्यो भने तुरून्त उहाँलाई सम्पर्क गर्छौं। यसले गर्दा अलिक सजिलो भएको छ।
डाक्टरबाटै कोरोना सर्छ भनेर मानिसहरू डराउँछन् : लोकराज पनेरू
सिएमए, सेती प्रादेशिक अस्पताल
प्रदेशकै हब अस्पताल भएकोले यहाँ बिरामीको चाप अलिक बढी छ। दैनिक ५० जना हामीले कोरोना शंकास्पद बिरामी जाँचिरहेका छौं। पिपिईको नाममा हामीले साधरण गाउन, पञ्जा र मास्क लगाएर जाँच गर्छौं।
पिपिई सेट नलगाई काम गर्दा आफूलाई पनि असुरक्षित महशुस हुन्छ। त्यसमाथि परिवारको सदस्यलाई पनि सर्ने हो कि भन्ने डर उस्तै छ। मेरो घरमा ८२ वर्षको बुवा हुनुहुन्छ। सकेसम्म आफूलाई परिवारबाट आइसोलेट गरेर बसिरहेको छु। डर मानेर पनि के गर्नु यहीँ काम गर्नलाई जागिर खाइयो।
दुबईबाट आएका एक जनामा संक्रमण देखिएपछि जाँच गर्न आउने मान्छे बढेको थियो। अहिले अलिक घटेको छ। यातायातको समस्याले गर्दा पनि हो। भारतबाट आएकाहरू सबैजना जाँच गर्न आउनुपर्थ्यो। उहाँहरूमा संक्रमण रहेछ भने परिवारमा सर्ने डर हुन्छ। त्यसले समुदायमा संक्रमण छ कि भन्ने लाग्छ। त्यस्ता व्यक्तिलाई लक्षित गर्नुपर्छ।
अस्पताल जाँच गर्न गइयो भने हामी डाक्टरहरूबाटै सर्छ होला भनेर मानिसहरू डराएको मैले पाएको छु। हामी अस्पतालमा काम गर्ने थाहा पाएपछि समाजका मान्छेहरू पनि अलिक टाढाटाढा हुन खोज्नुहुन्छ। त्यसैले पनि हामीलाई पर्याप्त पिपिई हुनुपर्छ।
स्थानीय सरकारले रोकथाम र तयारीको काम गरिरहेकै छ। वडाहरूले बाहिरबाट आएकाहरूको खोजी गर्दै क्वारेन्टाइनमा राख्ने काम गरिरहेको छ।
यो पनि पढ्नुस् :