सरकारले गुठी व्यवस्थापनका नाममा ल्याउन लागेको विधेयकविरूद्ध काठमाडौंबाट सुरू आन्दोलनले तीव्रता लिन थालेको छ। विधेयकको विरोधमा कीर्तिपुरका स्थानीयले बुधबार साँझ विरोध प्रदर्शन गरे भने बिहीबार साँझ ५ बजे पाटनको मंगलबजारमा विरोधसभा गर्ने कार्यक्रम छ।
यो विधेयकले धर्म, संस्कृति र सम्पदा धराशयी बनाउँछ र गुठीका जग्गा हडप्न खोज्ने ‘भू–माफिया’ हरूको स्वार्थसिद्ध गर्छ भन्दै काठमाडौं उपत्यकाका स्थानीय आन्दोलित भएका हुन्।
कीर्तिपुरमा बुधबार आयोजित शान्तिपूर्ण विरोध जुलुस नगाउँ दोबाटोबाट सुरु भई खासिबजार, बाघभैरव, तननि हुँदै लोकतन्त्र चोक पुगेर कोणसभामा परिणत भएको थियो। कोणसभालगत्तै सहभागीहरूले प्रस्तावित गुठीसम्बन्धी विधेयक जलाएका थिए। अिघल्लो दिन मंगलबार असनमा आयोजित विरोध प्रदर्शनमा पनि विधेयक जलाइएको थियो।
विरोध प्रदर्शनमा सहभागी सामाजिक अभियन्ता अनिश वैद्यले विधेयक जस्ताको तस्तै पारित भए नेवार समुदायको धर्म, संस्कृति, जात्रा र चाडपर्व मासिने बताए।
अर्का स्थानीय तथा पत्रकार नजरराम महर्जनले यो विधेयकलाई सांस्कृतिक अतिक्रमणको संज्ञा दिए।
'पृथ्वीनारायण शाहले भूमि कब्जा गरे पनि काठमाडौंको धर्म, संस्कृति कब्जा गरेका थिएनन्। त्यो काम अहिलेको सरकारले गर्न खोज्दैछ,' उनले भने, 'यो विधेयकविरूद्ध काठमाडौं उपत्यका जागिसक्यो। सरकारले विधेयक फिर्ता लिएन भने सिहंदरबार घेर्न हामी पछि पर्दैनौं।'
सामाजिक अभियन्ता अमन महर्जनले गुठी विधयेक जग्गा हडप्ने र धर्म, संस्कृति मास्ने नियतले ल्याइएको बताए।
'हाम्रो सम्पत्ति भनेकै संस्कृति र सम्पदा हो। विधेयक पारित भए हामी कंगाल हुनेछौं,' उनले भने, 'भू-माफियाको प्रायोजनमा तयार गरिएको विधेयकले सुरूमा नेवारको संस्कृति मास्छ, त्यसपछि हामी सबै नेपालीको अस्तित्व।'
यसले काठमाडौं मात्र होइन, देशभरका गुठी र जात्रापर्व नष्ट गर्ने भन्दै सिंगो देश नै यसविरूद्ध जाग्नुपर्ने उनले बताए।
यो विधेयकको विरोध हुनुका कारणबारे हामीले गरेका तीन स्टोरी यहाँ पढ्नुस्:
गुठीका जग्गा हडप्न कस्ता प्रावधान घुसाइएका छन् विधेयकमा?
गुठी विधेयकविरुद्ध यस कारण आन्दोलित छ काठमाडौं?
गुठी नै नरहे कसरी रहलान् काठमाडौंका जात्रापर्व?