विश्वकप क्रिकेट छनोटको बिहीबार भएको प्लेअफमा पपुवा न्यूगिनीलाई हराएको नेपालले एकदिवसीय क्रिकेटको मान्यता पाएको छ।
जिम्बाव्वेको हरारेमा सम्पन्न खेलमा पपुवा न्युगिनीलाई ११४ रनमा रोकेपछि नेपालले १६२ बल खेल्नुअगावै २३ औं ओभरमा सजिलै विजय प्राप्त गरेको हो। त्यस्तै आजै भएको खेलमा नेदरल्याण्डले हङकङलाई हराएसँगै नेपालले अन्तिम खेल अगावै एक दिवसीय मान्यता पाएको हो।
४ वर्षका लागि प्राप्त हुने एकदिवसीय मान्यताले टिमको एक्सपोजर बढ्ने र आइसिसीबाट प्राप्त हुने अनुदान पनि बृद्धि हुनेछ।
अब नेपालले नेदरल्याण्ड्ससँग सातौ स्थानका लागि खेल्नेछ। आइसीसी विश्व क्रिकेट लिग च्याम्पियनसिपको विजेता भएकोले नेदरल्याण्ड्सलाई एकदिवसीय मान्यता दिइसकेको छ।
एसोसिएट दुई राष्ट्र हङकङ र पपुवा न्यूगिनीले भने नवौँ र दशौँ स्थानको लागि खेल्नेछन्।
जारी प्रतियोगिताबाट दुई एसोसिएट टोली स्कटल्याण्ड र युएईले सुपर सिक्समा पुगेर एकदिवसीय मान्यता प्राप्त गरिसकेका छन्।
एक दिवसीय मान्यता पाए नेपाललाई के हुन्छ?एकदिवसीय मान्यता पाउनु भनेको नेपाल जस्तो देशको लागि क्रिकेटमा निकै ठूलो फड्को हुनेछ। अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसि) ले वार्षिक ७ देखि ८ करोड रूपैयाँसम्म बजेट छुट्याएको हुन्छ जसले स्तरीय प्रशिक्षक, अभ्यास भ्रमण, खेलाडीको भत्ता, सुविधा, नियमित प्रशिक्षणको लागि नेपाललाई आर्थिक सहजता हुनेछ।
यस्तै अन्तर्राष्ट्रिय प्रतियोगिता निकै कम खेल्ने नेपालका लागि नियमित रूपमा ठूला प्रतियोगिता विश्व क्रिकेट लिग च्याम्पियनसिप, इन्टर कन्टिनेन्टल कप जस्ता प्रतियोगिता खेल्न पाउनेछ। साथै टेष्ट राष्ट्र सम्मिलित एसिया कप जस्तो ठूलो प्रतियोगितामासमेत नेपालको सहभागिता सहज हुनसक्छ। यस्तै नेपाल आईसीसीको एक दिवसीय वरियतामा पर्नेछ।
यो पनि हेर्नुहोस्