पर्वतको सबैभन्दा विकट बिहादी गाउँपालिकाले घरदैलोमै पुगेर योजना सम्झौता गरेको छ।
गाउँपरिषद्ले पारित गरेका सडक, सिँचाइ, कृषिलगायतका ६६६ वटा योजना गाउँघरमै पुगेर सम्झौता गरिएको हो। उपभोक्ता समितिमार्फत काम गर्ने योजनालाई समयमै सम्पन्न गर्न गाउँघरमै पुगेर योजना सम्झौता गरिएको र यसले उपभोक्ता समितिलाई विभिन्न प्रक्रिया पुर्याउने झण्झटसमेत कम भएको छ।
योजना सम्झौताका क्रममा उपभोक्ता समितिलाई विषयगत रूपमा विनियोजन गरेको २५ प्रतिशत बजेटसमेत गाउँघरमै प्रदान गरिएको छ। अरु रकम भने उपभोक्ता समितिले काम सम्पन्न गरिसकेपछि पाउने छन्।
गाउँपालिकाले बिहादीवासीलाई सिहंदरबार गाउँघरमै आएको अनुभूति दिलाउन तथा विकास निर्माणमा सहजता प्रदान गर्नका लागि टोलटोलमै पुगेर योजनाको सम्झौता गर्ने व्यवस्था मिलाएको गाउँपालिकाले जनाएको छ।
बिहादी गाउँपालिकाका छवटै वडामा रहेका ३६६ वटा योजना वडामै पुगेर सम्झौता गरिएको प्रमुख प्रशासकीय अधिकृत दिनेश शर्माले जानकारी दिए। गाउँघरमै पुगेर योजना सम्झौता गर्दा स्थानीयवासीको समयको बचत हुने तथा घण्टौँ हिँड्नु नपर्ने र कार्यालयमा भीडभाड कम हुने हुँदा घरदैलोमै पुगेर गाउँसभाले पारित गरेका योजना सम्झौता गर्न थालेको उनले बताए।
बजेटको सदुपयोग गर्दै समयमै योजना सम्झौता गरी विकासको कार्यलाई तीव्र गतिमा अगाडि बढाइने शर्माले बताए। गाउँपालिका प्रमुख कमलप्रसाद भुसालका अनुसार योजना सम्झौता भएलगत्तै उपभोक्ता समितिले काम सुरू गरेका छन्। कतिपय बहुवर्षेबाहेकका साना योजना चालू आवमै सकिने गरी काम गर्न निर्देशनसमेत दिएको भुसालले बताए।
जिल्लाको महाशिला, मोदी र जलजला गाउँपालिकाले पनि टोलटोलमै पुगेर योजना सम्झौता गरेका छन्। फलेवास नगरपालिकाले प्रत्येक वडामा एक–एक दिन घुम्ती सेवा सञ्चालन गरी कृषकलाई बीउबिजन वितरण, योजना सम्झौता, ज्येष्ठ नागरिक परिचयपत्र वितरण, अपाङ्गता परिचयपत्र वितरणजस्ता कामसमेत गरेको जनाएको छ।
रासस