प्रदेश नम्बर ३ को स्थायी राजधानी हेटौंडाबाट अन्यत्रै सार्नुपर्नेमा प्रदेश नम्बर ३ का प्रतिनिधि तथा प्रदेश सांसदहरूले जोड दिएका छन्।
भक्तपुरमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी सांसदहरूले उक्त कुराको जोड दिएका हुन्।
यसअघिको काम चलाउ सरकारले जनताको भावना चाहना र भूगोलको अवस्थालाई मूल्यांकन नगरिकनै हेटौंडालाई हचुवाको भरमा अस्थायी राजधानी तोकेको उनीहरूले बताएका छन्।
प्रदेश नम्बर ३ को भूगोललाई समेत निहाल्दा हेटौंडा राजधानीका लागि उपयुक्त नभएको प्रतिनिधिसभा काभ्रेका सांसद गोकुल बाँस्कोटाले बताए। उनले प्रदेश सांसदहरूको बहुमतले प्रदेशका नागरिकलाई पायक पर्ने स्थानमा राजधानी सार्नुपर्नेमा जोड दिए।
उनले सबैको पायकका लागि प्रदेश ३ को राजधानी काभ्रे नै उपयुक्त भएको दाबी गरे। उनले मीनभवनको मन्त्री क्वाटरलाई भक्तपुर सारेर राजधानी काभ्रे बनाउँदा सबैभन्दा राम्रो हुने धारणा राखे।
हेटौंडा कुनैपनि हालतमा राजधानी हुन नसक्ने भन्दै प्रतिनिधिसभा दोलखाका सांसद पार्वत गुरुङले पूर्व सिन्धुलीदेखि पश्चिम चितवनलाई मध्यनजर गरेर प्रदेशको राजधानी तोकिनुपर्ने भनाइ राखे। हेटौंडामा अहिले स्थायी राजधानीका लागि खोलिएको बम्पर उपहार योजना गलत भएको भन्दै यस्तो कार्यले राजनीतिक भ्रष्टाचारलाई बढवा दिने उनको भनाइ छ।
भक्तपुरका प्रदेश सांसद शसिजङ्ग थापाले कामचलाउ सरकारको प्राविधिक टोलीले समेत भक्तपुर र बनेपामध्ये एक स्थानलाई प्रदेशको स्थायी राजधानी राख्न सकिने उपयुक्त स्थानका रूपमा प्रस्तुत गरेता पनि सरकारका केही मन्त्रीहरूको चलखेलले हेटौंडा लगिएको उनले बताए। उनले प्रदशेसभामा यो विषयले एजेन्डाका रूपमा उठान पाउन साथ ३ नम्बर प्रदेशको राजधानी भक्तपुर अथवा काभ्रे हुने समेत बताए। उनले भक्तपुरको सानो थिमी सबैको पायक पर्ने स्थान भएको उल्लेख गर्दै यदि प्राविधिक टोलीले काभ्रे चयन गरेमा त्यसको विरोध समेत नगर्ने बताए।