नेपाली कांग्रेसका केही पूर्वपदाधिकारीहरू चाक्सीबारीमा जुटेका छन्।
उपप्रधान एवं सहरी विकास मन्त्री प्रकाशमान सिंहको निवासमा सोमबार दिउँसो पूर्वपदाधिकारीहरू छलफलमा जुटेका हुन्।
छलफलमा पूर्वउपसभापति गोपालमान श्रेष्ठ, विजयकुमार गच्छदार, विमलेन्द्र निधि, प्रकाशमान सिंह, शशांक कोइराला, कृष्णप्रसाद सिटौला छन् भने प्रवक्ता प्रकाशशरण महतलाई पनि बोलाइएको छ।
सभापति शेरबहादुर देउवानिकट पूर्वपदाधिकारीहरूले यसअघि पनि यस्तै बैठक निधि र कोइरालाको निवासमा गरिसकेका थिए।
समसामयिक राजनीतिक घटनाक्रम, पार्टीभित्रको आन्तरिक गतिविधि र १५ औं महाधिवेशनमा एकै समूह बनाएर जाने विषयमा उनीहरूबीच कुराकानी हुने गरेको छ।
उनीहरूले यसअघिको छलफलमा सातै प्रदेशमा अन्तर्क्रिया गर्ने र थप नेताहरूलाई यो समूहमा जोड्दै लैजाने निर्णय गरेका थिए।