प्रदेश नं ५ को पहिलो मन्त्रिपरिषद् बैठकले प्रदेश सरकारले निर्माण गर्नुपर्ने महत्वपूर्ण ‘प्रदेश कानून मस्यौदा तथा सुझाव आयोगका सम्बन्धमा व्यवस्था गर्न बनेको आदेश, २०७४’ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ।
मुख्यमन्त्री र मन्त्रीहरूको शपथग्रहणपछि बिहिबार बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले आठ निर्णय गरेको भौतिक पूर्वाधार विकासमन्त्री एवं प्रदेश सरकारका प्रवक्ता वैजनाथ चौधरीले जानकारी दिए। बैठकले केही सार्वजनिक लिखत प्रमाणीकरणसम्बन्धी नियमावली २०७४, प्रदेश सरकार (कार्य विभाजन) नियमावली २०७४ र प्रदेश सरकार (कार्य सम्पादन ) नियमावली, २०७४ समेत स्वीकृत गरेको छ।
चौधरी सरकारका प्रवक्ता
बैठकले प्रदेश सरकारका प्रवक्तामा चौधरीलाई तोक्ने निर्णय गर्नाका साथै प्रदेश सरकारबाट गरिएका निर्णय कार्यान्वयनका लागि प्रदेश सरकारअन्तर्गत रहेका सम्पूर्ण राष्ट्रसेवक कर्मचारी प्रतिबद्धताको ढाँचा स्वीकृत गरेको छ।
प्रदेशसभाको पहिलो बैठकले प्रदेशसभा निर्वाचन शान्तिपूर्ण ढंगले सम्पन्न गर्न सहयोग गर्ने राष्ट्रसेवक कर्मचारी, मतदाता, सुरक्षाकर्मीलगायत सबैमा धन्यवाद ज्ञापन गरेको प्रवक्ता चौधरीले जानकारी दिए।
रासस