चीनले भारतसँगको सम्बन्धमा पर्ने असरका बाबजुद ब्रह्मपुत्र नदीमा संसारकै सबभन्दा ठूलो जलविद्युत आयोजना बनाउन थालेको छ।
चिनियाँ प्रधानमन्त्री ली कियाङले शनिबार यार्लुङ स्याङ्पो नदीको तल्लो भागमा सो जलविद्युत परियोजनाको निर्माण कार्यको शुभारम्भ गरेका छन्।
लीले बाँधको विकास व्यवस्थापन गर्ने नयाँ कम्पनी 'चाइना याजियाङ ग्रुप' को पनि अनावरण गरे भनेर चिनियाँ समाचार संस्था सिन्ह्वाको हवाला दिँदै विभिन्न मिडियाले लेखेका छन्।
चीनमा यार्लुङ स्याङ्पो भनिने यो नदीलाई अरूणाचल प्रदेशबाट भारतमा छिरेपछि ब्रह्मपुत्र भनिन्छ। ब्रह्मपुत्र बंगलादेश छिरेपछि यसलाई जमूना भनेर चिनिन्छ।
हाल संसारकै ठूलो जलविद्युत आयोजना चीनकै 'थ्री गोर्जेज' हो। थ्री गोर्जेज आयोजनाको क्षमता २२ हजार दुई सय पचास मेगावाट छ। करिब एक खर्ब ६७ अर्ब डलरको लागतमा ब्रह्मपुत्रमा बनाउन थालिएको नयाँ आयोजना भने लगभग ७० हजार मेगावाटको हुनेछ।
भारतले गत डिसेम्बरमा औपचारिक रूपमा चीनसँग सो आयोजनाबारे आफ्नो चिन्ता जनाएको भनेर मार्चमा विदेश मन्त्री एस जयशंकरले भारतीय संसदलाई बताएका थिए।
जनवरीमा दुई राष्ट्रबीच भएको वार्तामा यो परियोजना प्रमुख रूपमा उठेको थियो। बंगलादेशमा पनि यसबारे चिन्ता छ।
तर चीनले भने ब्रह्मपुत्रमा बनाउने आयोजना धेरै पानी जम्मा गरेर बिजुली निकाल्ने जलाशययुक्त नभएर खोलामा पानीको बहावबाट निकाल्ने ‘रन अफ द रिभर’ आयोजना भनेको छ। त्यसैले तल्लो तटीय क्षेत्रका देशले विरोध जनाउनु नपर्ने भनेको छ। उल्टै यो आयोजनाले तल्लो तटीय क्षेत्रमा विपद् रोकथाम र न्यूनीकरण प्रयासहरूमा मद्दत गर्ने र जलवायु परिवर्तन अनुकूलनलाई सहयोग गर्ने बताउँदै आएको छ।
तर पनि भारत र बंगलादेश यो आयोजनाका कारण खुसी छैनन्।
भारतको विरोध अनि यत्रो ठूलो आयोजनाले वातावरण र जैविक विविधतामा पार्न सक्ने सम्भावित क्षतिका बाबजुद चीनले यो आयोजना बनाउन थालेको छ।
चीनको १४ औं पञ्चवर्षीय योजना (२०२१-२५) मा यो आयोजना बनाउने कुरा समेटिएको भनेर गत डिसेम्बरमा पहिलो पटक खुलासा भएको थियो।
यो आयोजनाबारे विस्तृत रूपमा अझै पनि चीनले खुलाएको छैन। तर ब्रह्मपुत्रमा भएको विश्वकै सबभन्दा गहिरो खोँचनिर बनाउने मानिन्छ। यो खोँच भारतको अरूणाचल प्रदेश नजिकै पर्छ। यो नदीले त्यहीँनेर ‘यू-टर्न’ मारेर भारततर्फ बग्छ।
अरूणाचल प्रदेशलाई चीनले आफ्नो भूमि भएको दाबी गर्छ र 'दक्षिण तिब्बत' भन्छ।
चीनले भारतको सीमानजिकै सो नदीमा यत्रो ठूलो आयोजना बनाउने भएपछि तल्लो तटीय क्षेत्रमा पर्ने भारत र बंगलादेशमा यसको बारेमा चिन्ता छ।
सन् २०२० जुनमा सीमा क्षेत्र गलवान उपत्यकामा सैन्य झडप भएपछि भारत र चीनको सम्बन्ध बिग्रिएको थियो। यो सम्बन्ध अहिले सुध्रिँदै गएको छ।
भारतको जलविद्युत सम्भावनामा ब्रह्मपुत्रको योगदान करिब ४४ प्रतिशत छ। नदीजन्य स्रोतमा झन्डै ३० प्रतिशत छ। यस्तो नदीमा, आफ्नो सीमा नजिकै चीनले त्यति ठूलो आयोजना बनाउने भएपछि भारततर्फ हुने पानीको बहावमा असर पर्न सक्छ। पानीको बहावमा कमी भए भारत र बंगलादेशमा खानेपानी र सिँचाइमा प्रभाव पर्न सक्छ। सिँचाइका कारण खाद्यान्न उत्पादनमा समेत असर पर्न सक्छ।
यसबाहेक चीनले आयोजना बनाउने स्थल भूकम्पको उच्च जोखिमयुक्त क्षेत्रमा पर्छ। ठूलो भूकम्प आएका बेला आयोजनाको संरचनामा क्षति भएर भारतमा प्रलयकारी बाढी आउने खतरा हुन्छ। त्यसैले यसले भारतको टाउको दुखाएको छ।
अमेरिकाबाट प्रकाशन हुने द डिप्लोम्याट पत्रिकाका अनुसार चीनले आयोजना बनाउने स्थल नजिक ब्रह्मपुत्र धेरै नै भिरालो गरी बग्छ। हरेक किलोमिटरमा पानीको सतह लगभग १५ मिटरले झर्छ। भारत छिरिन्जेलमा २००० मिटर जति तल पुग्छ। यसरी प्राकृतिक रूपमै त्यति धेरै भिरालो नदी भएकाले त्यहाँबाट एकदमै धेरै बिजुली निकाल्ने सम्भावना छ।
यो आयोजनाबारे सन् २०२३ मा सार्वजनिक एक प्रतिवेदनलाई उद्धृत गर्दै टाइम्स अफ इन्डियाले समाचार लेखेको थियो। सो समाचार अनुसार ब्रह्मपुत्रको अपार जलविद्युत सम्भावनाको फाइदा लिन हिमाल छेडेर ४ देखि ६ वटा लामा सुरूङ बनाइने छ। हरेक सुरूङ करिब २० किलोमिटर लामो हुने र तिनले नदीको लगभग आधा पानीको दिशा परिवर्तन गर्न सक्नेछन्।
चीनका राष्ट्रपति सी चिनफिङले देशको कार्बन उत्सर्जन घटाउन अहिले नवीकरणीय ऊर्जामा ध्यान केन्द्रित गरेका छन्। चीनले ६० प्रतिशतभन्दा धेरै बिजुली कोइला बालेर निकाल्छ। सोही कारण पछिल्ला वर्षमा सौर्य र वायु ऊर्जामा व्यापक लगानी गरे पनि चीन अझै विश्वको सबभन्दा धेरै कार्बन उत्सर्जन गर्ने देश हो।
चीनले धेरै कार्बन उत्सर्जन गरेको भनेर व्यापक विरोध भइरहेको छ। सी चिनफिङले भने सन् २०३० सम्म मात्र चीनको कार्बन उत्सर्जन बढ्ने, त्यसपछि घट्दै गएर सन् २०६० सम्ममा कार्बन न्युट्रल हुने घोषणा गरेका छन्।
त्यसैले उनले जलविद्युत आयोजनामा लगानी बढाउने योजना अनुसार ब्रह्मपुत्रमा सो आयोजना बनाउन लागेका हुन्।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)