नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले अबको सरकारको नेतृत्व दुई दलका नेताले आलोपालो गर्ने सहमति भएको बताएका छन्।
चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा नेता दाहालले भने, ‘सरकारको नेतृत्व आलोपालो अपनाउने सिद्धान्ततः भएकै हो।’ पार्टी एकता संयोजन समितिको बैठक बसेपछि यसको अन्तिम टुंगो लगाउने उनले बताए।
पाँच दलको आज बसेको बैठकमा राष्ट्रिय सभाको गठन एकल संक्रमणीय कि बहुमतीय भन्ने विषयमा छलफल भएको बताउँदै टुंगोमा नपुगे पनि छलफल सकारात्मक भएको बताए। उनले भने, ‘यस्तो छलफल आवश्यक छ, फेरि दुईपक्षीय छलफल गरेर समझदारी बनाउन प्रयास जारी राख्नुपर्दछ।’
राष्ट्रियसभा गठन सम्बन्धमा विगतमा संविधानमै प्रष्ट रुपमा निर्वाचन एकल संक्रमणीय विधिबाट हुने उल्लेख भए पनि यस पटक संविधानमा त्यस्तो कुनै स्पष्ट उल्लेख नभएको जिकिर गर्दै राष्ट्रियसभा समानुपातिक गर्ने प्रचलन अन्तर्राष्ट्रिय रूपमा विद्यमान रहेको बताए। यसबारे वाम गठबन्धनभित्र के हुन सक्छ भनेर छलफल गरिने उनले जानकारी दिए।
सामान्यतया प्रतिनिधिसभा र राष्ट्रियसभा अलग अलग विषय हुन् भन्दै उनले सरकार गठन गर्नका लागि यसले कुनै असर नगर्ने बताए। उनले भने, ‘प्रतिनिधिसभाको निर्वाचन परिणाम निर्वाचन आयोगले राष्ट्रपतिलाई बुझाइसकेपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्छ।’
एक प्रसंगमा उनले राष्ट्रियसभामा २२ जना महिला (३७.५प्रतिशत) आउने सुनिश्चित रहेको र प्रतिनिधिसभामा सबै पार्टीले आआफ्नातर्फबाट ३३ प्रतिशत पुर्याइदिने भएकाले सरकार गठन गर्न कुनै बाधा नहुने स्पष्ट गरे।
अर्काे प्रसंगमा उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शीर्ष तीन नेतालाई टेलिफोन गरेपछि आज बैठक बस्नुमा कुनै तालमेल नरहेको बताउँदै भने, ‘उहाँले मलाई बधाई दिँदै छिटो सरकार गठन होस् र भारत नेपाल सम्बन्ध आउँदा दिनमा अरु राम्रो हुनेछ भन्नुभयो ।’