सिँचाईमन्त्री सञ्जय गौतमले कांग्रेसले तत्काल सरकार छोडेर सशक्त एवम् प्रभावकारी प्रमुख प्रतिपक्षमा बस्नेगरि तयारी गर्नुपर्नेमा जोड दिएका छन्। शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा उनले सो कुरामा जोड दिएका हुन्।
कार्यक्रममा बोल्दै उनले भने,‘अहिलेको जनादेशले हामीलाई प्रतिपक्षमा बस्न भनेको छ, हामीले अब त्यही अनुसारको तयारी गर्नुपर्छ।’
मुलुकमा अहिले नयाँ परिवेश र परिस्थिति सिर्जना भएको बताउँदै भने,‘हामी अब उपर्युक्त समयको प्रतिक्षामा छौं, उपर्युक्त वातावरण बनाएर सरकार छाड्छौं, कांग्रेसको तयारी अब सशक्त प्रतिपक्षमा बस्नको लागि हुन्छ, हामी जनमतको सम्मान गर्छौं।’ यद्यपी उनले प्रधानमन्त्री शेरबहादुर देउवाले समय आएपछि कुर्सी छोड्ने विश्वास दिलाए।
उनले अहिलेको जनमत वाम गठबन्धनको पक्षमा देखिएकोले एमाले–माओवादी केन्द्रबीच एकता होस् भन्ने शुभकामना पनि दिए। उनले भने,‘हुन त उहाँहरूबीचको एकता हुन्छ भन्ने म सरल देख्दिन्, भयो भनेपनि मुलुकको लागि राम्रो हुन्छ, हाम्रो शुभकामना छ।’
राष्ट्रपतिसमक्ष रहेको राष्ट्रिय सभासम्बन्धी अध्यादेश सरकारले विधिसम्मत, प्रक्रियागत र संवैधानिक रुपमै प्रस्तुत गरेको उल्लेख गर्दै गौतमले भने,‘हामीले राष्ट्रपतिकहाँ पठाएको अध्यादेश कानूनसम्म्त, विधिसम्मत् र परम्परागत रूपमै आएको छ, यसलाई अनावश्यक किसिमले लम्ब्याउने काम नहोस्।’ राष्ट्रिय सभाको निर्वाचनपछि मात्रै संघीय संसदले पूर्णता पाउने भएकोले यसलाई तत्काल स्वीकृत गराउनुको विकल्प नभएको उनको भनाइ थियो।
उनले राष्ट्रपतिले आफ्नो संवैधानिक अधिकार प्रयोग गर्न पाउने भएकोले उनको भूमिकामा टिकाटिप्पणी गर्नु अमर्यादित हुने समेत जिकिर गरे। उनले थपे,‘तर राष्ट्रपतिले अध्यादेशलाई पूर्णता दिनुपर्छ, मलाई विश्वास छ, उहाँले अब विलम्ब गर्नुहुँदैन, उहाँसँग अब अध्यादेश अनुमोदन गर्नुको अर्को विकल्प छैन।’ समानुपातिक–समावेशी सिद्धान्तलाई आत्मसात गर्दै एकल संक्रमणीय व्यवस्था अनुसार अध्यादेश ल्याइएको उनले जनाए।
मुलुकलाई केन्द्रमा राखेर सबै पार्टीले सोच्नुपर्ने बताउँदै उनले भने,‘तर एमालेका नेताहरूले अलिक बढी नै ‘एरोगेन्ट’ देखाउनुभएको छ, यो विषयमा मध्यममार्गी बाटो अपाउनको लागि पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भूमिका खेल्नुपर्छ, खासगरी सरकार र दलबीच संवाद सुचारु गर्न उहाँको भूमिका यतिबेला खाँचो छ।’
राष्ट्रिय सभासम्बन्धी निर्वाचन एकल र बहुमतीयबाहेक अर्को विकल्प केही सोच्नुभएको छ त भनेर सोधिएको एक प्रश्नमा उनले थपे,‘बीचको विकल्प नै म देख्दिन्, र छैन पनि।’ उनले खेल सुरू भएपछि कांग्रेसले खेलको नियम परिवर्तन गर्यो भनेर आफूहरूलाई लगाइएको आरोप गलत भएको स्पष्ट पारे। उनले भने,‘अहिले खेल नै सुरू भएको छैन, हामी गणितीय खेलको पक्षमा छैनौं, हामी त अब सशक्त र प्रभावकारी प्रतिपक्षको भूमिकामा बस्छौं।’
निर्वाचनमा पार्टी संस्थागत रूपमा चल्न नसक्दा पराजय भोग्नु परेको उनको तर्क थियो। उनले भने,‘अहिलेको परिणामले हामीलाई स्तब्ध बनाएको छ, प्रत्यक्ष र समानुपातिकको मत हेर्दा हामीलाई सोच्न बाध्य बनाएको छ, यसको लागि समिक्षा गर्न हामीले तत्काल केन्द्रीय कार्य समिति बैठक बोलाउनुपर्छ, हामी समिक्षा गरेर उपर्युक्त बाटो अपनाउँछौं।’
गौतमले अहिलेको निर्वाचनमा कांग्रेसको परिणाम हेर्दा नेतृत्व असक्षमताको पुष्टी भएको समेत स्पष्ट पारे। उनले भने,‘हाम्रो संगठन राम्रो भएन, संगठनलाई प्रभावकारी रूपमा अघि बढाउन सकिएन, त्यसैले तत्काल केन्द्रीय समिति, महासमिति बोलाएर समिक्षा गर्छौं।’
उनले संसदीय दलको नेता को? बन्ने भन्नेबारे अहिले नै भन्नु हतार हुने समेत स्पष्ट पारे। उनले भने,‘संसदीय दलको नेता बन्न इच्छा सबैको हुन्छ, तर अहिले को बन्छ? भनेर भन्नु हतार हुन्छ, यस विषयमा टाउको जोडिन बाँकी छ।’ उनले पार्टी नेतृत्व गर्न युवाहरूले सोच राख्नु अतिशयोक्ति नहुने समेत बताए। उनले भने,‘तर देशभरिका साथीहरूको टाउको जोडिन बाँकी छ, म पनि युवा नै हो नि, तर राजनीति लहडमा चल्दैन।’
एमालेका उपाध्यक्ष वामदेव गौतमलाई पराजित गरेका नेता गौतमले आफू कामको ‘हेभीवेट’ भएको सुनाए। उनले भने,‘नामको ‘हेभीवेट’ले हुँदैन, म त कामको ‘हेभीवेट’ हुँ, मलाई बर्दियाको माटोले पत्याउँछ भन्नेमा सुरूदेखि नै विश्वास थियो, मलाई पनि पार्टीले उचित मूल्यांकन गर्छ।’