नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको झापास्थित घरको मूलगेटमा राखिएको बम नेपाली सेनाको २१ नम्बर बाहिनीबाट आएको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीको घरको मूलगेटमा राखिएको बम आज बिहान निष्क्रिय पारिएको हो।
यसअघि ओलीको घरमा बिहान ४ बजे अज्ञात समूहले बम विस्फोट गराएको थियो। बम विष्फोट हुँदा भौतिक तथा मानवीय क्षति भने नभएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक विष्णु केसीले जानकारी दिए।
ओलीको झापास्थित घरमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली बस्दै आएका छन्। ओली झापा क्षेत्र नं ५ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार हुन्।
यसैगरी नेपाली काँग्रेस झापाका सभापति तथा क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार उद्धव थापाको घरमा पनि गएराति १२ बजे बम विस्फोट भएको छ। विस्फोटनबाट घरमा पार्किङ गरी राखिएको बा ७ च ६८९५ नं को बोलेरो जिप पूर्ण रुपमा क्षति भएको प्रहरीले जनाएको छ।
झापाका दुई स्थानमा बम विष्फोट भएपछि झापाको सुरक्षा व्यवस्थालाई थप मजबुद पारिएको प्रहरी उपरीक्षक केसीले बताए। उनले बम विष्फोट गराउने समूहको खोजीकार्य तीव्र पारिएको बताए।