मंसिर २१ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको दोस्रो चरणको निर्वाचनमा सिरहामा सातजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा उत्रेका छन्।
जिल्लामा प्रतिनिधि सभा निर्वाचनका लागि पाँचजना पूर्वमन्त्री चुनावी प्रतिस्पर्धामा छन् भने प्रदेश सभामा दुईजना पूर्वमन्त्री चुनावी दौडमा छन्।
सिरहा क्षेत्र नं ४ मा फोरम–राजपा गठबन्धनको तर्फबाट राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) का अध्यक्ष मण्डलका सदस्य तथा पूर्वमन्त्री राजकिशोर यादव र वाम गठबन्धनको तर्फबाट नेकपा (माओवादी केन्द्र)का नेता तथा पूर्वमन्त्री अजयशंकर नायकबीच तीव्र प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । उनीहरूसँगै सो क्षेत्रमा नेपाली काँग्रेसका नेता मोख्तार अहमद चुनावी मैदानमा उत्रेका छन्।
सिरहा क्षेत्र नं १ मा फोरम–राजपा गठबन्धनको तर्फबाट संघीय समाजवादी फोरम नेपालका नेता तथा पूर्वमन्त्री राजलाल यादव चुनावी प्रतिस्पर्धामा उत्रेका छन्। उनीसँग नेपाली काँग्रेसका नेता प्रदीप गिरी र वाम गठबन्धनका तर्फबाट नेकपा (एमाले)का नेता गंगाप्रसाद यादव प्रतिस्पर्धामा छन्।
क्षेत्र नं २ मा फोरम राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व पर्यटन तथा नागरिक उड्डयन राज्य मन्त्री शत्रुघ्नप्रसाद सिंह महतोले चुनावी दौडमा सिट सुरक्षित गरेका छन् भने उनीसँगै वामगठबन्धनका तर्फबाट पूर्व स्वास्थ्य सहायक मन्त्री सुरेशचन्द्र दास यादव र नेपाली काँग्रेस सिरहाका सभापति रामचन्द्र यादव चुनावी प्रतिस्पर्धामा छन्।
यस्तै प्रदेश सभा निर्वाचनका लागि क्षेत्र नं २ (क) मा फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका नेता तथा पूर्व आपूर्ति मन्त्री विजयकुमार यादव चुनावी प्रतिस्पर्धामा छन् भने उनीसँगै वाम गठबन्धनका तर्फबाट माओवादीका जीवछ यादव र काँग्रेसका शैलेन्द्रकुमार यादव प्रतिस्पर्धामा छन्।
क्षेत्र नं ३ (क) मा वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका नेता तथा पूर्व सामान्य प्रशासन मन्त्री रामकुमार यादव चुनावी दौडमा उत्रेका छन् भने उनीसँगै काँग्रेसका मुस्ताक अन्सारी र फोरम–राजपा गठबन्धनका तर्फबाट फोरमका मनोजकुमार सिंह प्रतिस्पर्धामा छन्।
पूर्वमन्त्रीहरू प्रतिस्पर्धामा उत्रिएपछि अहिले सिरहाको चुनाव सबैको चासोको विषय बनेको छ । प्रतिनिधि सभाका लागि ४ र प्रदेश सभाका लागि ८ क्षेत्र रहेको जिल्लामा तीन लाख ४४ हजार ३७० मतदाता रहेका छन् । जिल्लामा ४३६ मतदान केन्द्र तोकिएको छ ।