आगामी मंसिर २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि सप्तरीमा चुनावी माहोल तातेको छ।
बिहिबार मनोनयन दर्तापश्चात् राजविराजलगायत शहरी तथा ग्रामीण क्षेत्रको बजार चोक, पसल र सार्वजनिकस्थलमा निर्वाचनको बहस, छलफल र प्रचारप्रसार सुरू भएको छ।
राजविराजको विभिन्न छापाखाना र आर्टमा पसलमा पार्टीको झण्डा, ब्यानर र आकर्षक नारा सहितका पम्पप्लेट छपाइको कार्य भ्याइनभ्याइ भएको व्यवसायीको भनाइ छ ।
आफ्नो पार्टीबाट टिकट नपाएका नेताले स्वतन्त्र उम्मेदवारी दिएर आफ्नो प्रचारप्रसारमा लागेको र त्यसबाट ठूला दलका उम्मेदवारलाई निर्वाचनमा समस्या परेको सम्बद्ध दलका प्रतिनिधिको गुनासो छ।
राजपाबाट टिकट नपाउनु भएका स्वतन्त्र उम्मेदवार लक्ष्मण यादव र सहमहामन्त्री जयप्रकाश ठाकुर, संघीय समाजवादी पार्टीबाट टिकट नपाएका भीमराज यादव पनि बागी उम्मेदवार बनेका छन्। पार्टीले भेद्भाव गरेकोले आफूहरूले स्वतन्त्र उम्मेदवारी दिएको उनीहरूको तर्क छ। उता नेकपा एमाले र नेकपा (माओवादी केन्द्र)को वाम गठबन्धन र संघीय समाजवादी पार्टी र राजपाबीचको गठबन्धनले सप्तरी जिल्लाको चारवटा ससंंदीय निर्वाचन क्षेत्र र ८ वटा प्रदेशसभा सदस्यको निर्वाचनको अवस्थाबारे जनस्तरमा व्यापक छलफल र बहस सुरू गरेको छ।
जिल्लामा कुन पार्टीका उम्मेदवार विजयी हुने भन्ने भविष्यवाणी गर्न कठिन रहेको स्थानीय वुद्धिजीवी रामेश्वर दास बताउँछन्।
सप्तरी जिल्लामा विभिन्न दल र स्वतन्त्र उम्मेदवार गरी १६८ जनाले उम्मेदवारी दर्ता गराएको जिल्ला मुख्य निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि चारवटा क्षेत्र रहेको सप्तरीमा ५९ जनाले उम्मेदवारी दिएका छन् भने आठ प्रदेशसभा सदस्यका लागि १०९ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिनिधिसभाका लागि क्षेत्र नं–१ बाट १४ जना, क्षेत्र नं–२ बाट १८ जना क्षेत्र नं ३ बाट १२ जना र क्षेत्र नं ४ बाट १५ जनाले उम्मेदवारी दर्ता गराएका हुन् ।
प्रदेशसभाका लागि क्षेत्र नं १ को १ र २ बाट ९–९ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं २ को १ बाट १३ जना र २ को २ बाट २२ जनाले उम्मेदवारी दिएका छन् । क्षेत्र नं ३ को १ बाट १९ जना र ३ को २ बाट १४ जनाले उम्मेदवारी दिएका छन् ।
क्षेत्र नम्बर ४ को १ बाट ११ जना र क्षेत्र नं ४ को २ बाट १२ जनाले प्रदेशसभाका लागि उम्मेदवारी दिएका छन् ।
विभिन्न दलले गठबन्धन बनाए पनि दल भन्दा स्वतन्त्र उम्मेदवारको संख्या उल्लेख्य रहेको पाइएको छ ।
प्रतिनिधिसभाका लागि कुल ५९ जनाले उम्मेदवारी दिएकामा २१ जना स्वतन्त्र उम्मेदवार छन् भने प्रदेशसभाका लागि १०९ जनाले उम्मेदवारी दिएकामा ३९ जना स्वतन्त्र छन्।
उक्त निर्वाचनका लागि जिल्ला सुरक्षा समितिले शान्ति सुरक्षाको अवस्था कडा बनाउँदै लगेको प्रमुख जिल्ला अधिकारी भागीरथ पाण्डे बताउँछन्।