प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनअन्तर्गत दोस्रो चरणमा हुने निर्वाचनअन्तर्गत आज उम्मेदवारको विरोधमा उजुरी दिने कार्यक्रम रहेको छ।
मुख्य निर्वाचन अधिकृतको कार्यालयले शुक्रबार बिहान १० बजेदेखि ५ बजेसम्म उम्मेदवारहरूका विरुद्ध उजुरी पाउने व्यवस्था गरेको छ।
उजुरी उपर जाँच बुझ शनिबार १० देखि ३ बजेसम्म र उम्मेदवारको नामावली प्रकाशन दिउँसो ३ देखि ५ बजेसम्म गरिने भएको छ ।
त्यसैगरी, कात्तिक १९ गते बिहान १० बजेदेखि १ बजेसम्म उम्मेदवारको उम्मेदवारी फिर्ता गर्न पाउने समय तोकिएको छ भने ३ बजेभित्रै उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले बताए ।
उनका अनुसार आइतबार बेलुका ६ बजेसम्म उम्मेदवारलाई चुनाव चिन्ह प्रदान गर्ने कार्यतालिका रहेको छ ।
दोस्रो चरणअन्तर्गत आगामी मंसिर २१ गते हुने निर्वाचनको प्रत्यक्ष निर्वाचन प्रणालीतर्फ चार हजार ७०८ जनाको उम्मेदवारी परेको निर्वाचन आयोगले जनाएको छ। ती उम्मेदवारी ४५ जिल्लामा प्रतिनिधिसभातर्फ १२८ र प्रदेशसभातर्फ २५६ सदस्य पदका लागि परेको हो ।
प्रतिनिधि सभातर्फ एक हजार ७४२ र प्रदेश सभातर्फ दुई हजार ९६६ उम्मेदवारी दर्ता भएको छ । यसैगरी, प्रतिनिधिसभातर्फ १२६ र प्रदेशसभातर्फ २०९ गरी जम्मा ३३४ महिलाको उम्मेदवारी परेको छ ।